|

  • जीवराज चालिसे-

बुटवल : बुटवल औद्योगिक क्षेत्रका उद्योगहरूले आफ्नो क्षमता उन्नयका लागि भवनमा तला थपेर कार्य सञ्चालन गरेको पाइएको छ। बुटवल औद्योगिक क्षेत्र विस्तार योजना सफल हुन नसकेपछि औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूले जग्गा अभाव भएको भन्दै भवनमा तला थपेर कार्य सञ्चालन गरेका हुन्। 

औद्योगिक क्षेत्रस्थित सञ्चालनमा रहेका कपिलवस्तु फाइबर इण्डष्ट्रिज प्रालि, कोहिनुर मेटल उद्योग, थापा इन्जिनियरिङ इयडष्टिष्ट्रज प्रालि, रेश्मी पोलिथिन इण्डष्ट्रिज प्रालि, शिवशक्ति सोप इण्डष्ट्रिज प्रालि, युनाइटेड प्रालि र इन्टरटेक प्रालिलगायतका उद्योगहरूले क्षमता विस्तारका लागि जग्गाको अभाव हुँदा पक्की संरचनामा तला बनाएका हुन्। थपिएका ती तलाहरूमा उद्योग व्यवस्थानदेखि उत्पादनसम्मका कार्य सञ्चालन भइरहेका छन्। 

४ सय ३४ रोपनी क्षेत्रफलमा रहेको जिल्लाको एक मात्र सञ्चालनमा रहेको बुटवल औद्योगिक क्षेत्रमा नयाँ वा सञ्चालित उद्योग विस्तार गर्न जग्गाको अभाव रहेको छ। जसका कारण उद्योगीहरूले सञ्चालन गर्दै आएको उद्योग भवनमा तला थपेर उद्योग सञ्चालन गर्नु परेको रुपन्देही उद्योग सङ्घका अध्यक्ष गणेश अधिकारीले बताए। यसो गर्दा उद्योगको पुँजी उत्पादकत्वमा भन्दा पनि पूर्वाधार व्यवस्थापनमा खर्च भएको भएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘जग्गाकै अभावमा केही एक तले उद्योगहरूले तला थपेर दुई वा तीन तले बनाइसकेका छन्,’ अधिकारी भन्छन्, ‘जग्गा पर्याप्त भए यस्तो अवस्था आउँदैनथ्यो।’ 

वन मन्त्रालयले रुख कटान गर्न इजाजत नदिएपछि बुटवल औद्योगिक क्षेत्र विस्तार योजना अलपत्र छ। जिल्ला प्रशासन कार्यालय, बुटवल उप–महानगरपालिका (तत्कालीन नगरपालिका) र जिल्लामा रहेका उद्योग सङ्गठनहरूले संयुक्तरुपमा औद्योगिक क्षेत्रको विस्तार योजना बनाएका थिए। जसअनुसार पूर्व–उत्तर २४० रोपनी र दक्षिण–पश्चिममा ३०० रोपनी गरी जम्मा ५ सय ४० रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्रको विस्तारको योजना बनेको थियो तर वन मन्त्रालयको असहमतिपछि यो काम रोकिएको हो।  

औद्योगिक क्षेत्रको १४३ रोपनी ओगटेको सरकारी स्वामित्वको धागो कारखाना हाल बन्द अवस्थामा रहेको छ। उद्योगीहरूले धागो कारखाना सञ्चालन नगरिए त्यसले ओगटेको क्षेत्रफलमा अन्य उद्योगहरू विस्तार गर्न पाउनुपर्ने माग राख्दै आएका छन्। यसो गर्न सकेमा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले आफ्नो दायरा वृद्धि गर्न चाहेमा जग्गाको अभाव नहुने बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष रामबहादुर गुरुङले बताउँछन्। ‘धागो कारखाना सञ्चालन गर्न नसक्ने हो भने किन जग्गा मात्रै ओगटेर बस्नु ?,’ अध्यक्ष रामबहादुर गुरुङले प्रश्न गर्दै भन्छन्, ‘ ओगटिएको क्षेत्रफलमा त अन्य उद्योगहरू विस्तार हुन पाउँथे।’  

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बुटवलका प्रमुख तुलबहादुर रानाले रुपन्देहीको मोतीपुरमा बन्न लागेको औद्योगिक क्षेत्रले धेरै उद्योगीको समस्या समाधान गर्ने बताए। बुटवल औद्योगिक क्षेत्रमा नयाँ उद्योगको लागि बर्सेनि आवेदन परेपनि  जग्गाको अभावमा इजाजत प्रदान गर्न नसकिएको उनको भनाइ छ। 

‘जग्गा अभावका कारण उद्योगीले झेल्दै आइरहेको समस्या मोतीपुर औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भैसकेपछि समाधान भएछ जान्छ।’ प्रमुख रानाले भने। यता मोतीपुर औद्योगिक क्षेत्रको काम भने ठप्प छ। हालसम्म ईआईए सकेर बस्ती व्यवस्थापनको काम सुरु भईसक्नुपर्ने भए पनि त्यसो भने हुन सकेको छैन। 

अहिले बुटवल औद्योगिक क्षेत्रमा रहेका ७२ उद्योगमध्ये ६५ वटा उद्योग चालू अवस्थामा रहेका छन्। सरकारको १ करोड ७९ लाख र निजी क्षेत्रको दुई अर्ब ७० करोडमा २०३२ सालमा सो औद्योगिक क्षेत्रको स्थापना भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.