|

काठमाडौं : नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास फातसुङ सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे। भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ। काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन्। उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने उनको भनाइ छ। तिनले मात्र क्रान्ति गर्न सक्छन्, जोसँग पेट छैन भन्ने दृष्टिकोणलाई समेत पुस्तकले उजागर गर्न खोजेको उनले बताइन्। जुन क्षेत्रमा निजी सम्पत्तिको प्रभाव परिरहन्छ, त्यति बेलासम्म क्रान्तिले पूर्णता नपाउने पनि उनको भनाइ छ।

'भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ। राजनीतिक चेतनाको सूत्रधार हो, भाषा। र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन्। त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ', उनले भनिन्।

पुस्तकमा ठेट भाषाले महत्त्व पाएको छ। भाषामा समृद्धिका लागि फातसुङ जस्ता पुस्तकले महत्वपूर्ण योगदान दिन सक्ने उनले बताइन्। 'यसले लोकभाषालाई जीवन्त राख्न पनि सघाउने उनको भनाइ छ। यो पुस्तकले त्यस्तो कथा बोक्छ, जसले धारा १४४ र गाउँमा आउने धाराको फरकपन छुट्याउन सक्दैनन्', उनले भनिन् ।

अर्को वक्ता संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए। साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ। ‘यो पुस्तकमा बोल्न नपरेको भए, म आज अपरेसन थिएटरमा हुने थिएँ,’ संग्रौलाले भने, ‘तर पुस्तकमा बोल्नुपर्ने भएपछि मैले सोमबारलाई अपरेसनको समय मिलाएँ। यसबाट पनि यो पुस्तकको महत्व बुझ्न गाह्रो छैन।' दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने संग्रौलाको भनाइ छ।

सानो समुदाय, लेप्चा यो पुस्तकको नायक हो। नेपालमा राजनीतिक क्षेत्रमा चटके रहे जस्तै गोर्खाल्यान्ड आन्दोलनमा पनि त्यस्ता पात्र रहेको उनले बताए। पुस्तकले यहाँका पात्रहरूको पहिचानलाई पनि उत्तिकै प्राथमिकतासाथ समेटेको उनको भनाइ छ। यहाँ ठूलो पात्र अर्थात् गोर्खाल्यान्डको नेतालाई मात्र प्राथमिकता दिइएको छैन।

उनले भने, 'छुदेन काविमोको फातसुङ गोर्खाल्यान्ड आन्दोलनका रक्तरञ्जित सपनाहरुको कारुणिक र त्रासद अभिलेख हो। आकारमा सानो, अर्थमा ठूलो आम मानिसको एक जीवन्तकथा। सरल वृत्तान्त र चित्रमयभाषाको सुन्दर समिश्रण। रुचिकर र आनन्दमयी।'

लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे बताए, 'फातसुङ दार्जिलिङको कथा हो। १९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो। त्यस आन्दोलनमा सयौँ मान्छे मारिए। त्योभन्दा ठूलो कुरा हजारौँ मान्छेको सपना भत्काइयो। फातसुङ त्यही सपनाहरूको कथा हो। १९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ। यो कथा त्यही समाजको कथा हो। ‘नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ रु दार्जिलिङ सहर बत्तीको लहर वैकुण्ठ जस्तै छ।’

प्रकाशक अजित बरालले काविमोको लेखन शैली यति विशिष्ट, यति पृथक रहेको बताए। किफातसुङको पहिला दुईपेज पढ्नेबित्तिकै आफू काविमोको लेखन शैली अति उत्साहित भएको बताए। 'मलाई लाग्छ, यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तकप्रति हाम्रो रुचि जगाउनेछ' उनले भने।

उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो। यसको मूल्य ३०० रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.