|

  • दीपेन्द्र शर्मा-

जाजरकोट : हृदयघातबाट घरमूलीको मृत्यु भएपछि जाजरकोटका एक दलित परिवार दैनिक छाक टार्न नसक्ने अवस्थामा पुगेको छ। पजारु गाविस २ धाउनीका मुने कामीकी पत्नी र चार छोराछोरी दैनिक छाक टार्न नसकेपछि छिमेकीको शरणमा परेका छन्।

काक्तिकको पहिलो हप्ता स्थानीय मुने कामीको हृदयघातबाट मृत्यु भएपछि पत्नी शर्मिला, छोराहरु ११ बर्षकाका प्रेम, ६ वर्षका कर्ण र छोरीहरु ८ वर्षकी निर्मला विक र डेढ वर्षकी टीकासराको बिचल्ली भएको हो।

सम्पत्तिको नाममा उनीहरुको जम्मा २ रोपनी जग्गा छ। बाबुको मृत्युपछि छोराछोरीहरु स्कुल जान पनि छाडेका छन्। मुनेले घर बनाउने र मजदुरीबाट आम्दानी गरेर परिवार पाल्ने गरेका थिए। उनको मृत्युपछि छोराछोरीलाई दैनिक खाना जुटाउन पनि समस्या भएको पत्नी शर्मिलाले बताइन्।

झोला, कापीकलम र कपडा समेत नहुँदा विद्यालय नभएको जेठा छोरा प्रेमले बताए। मुनेकी पत्नी शारीरिक रुपमा कमजोर भएकाले काम गर्न नसक्ने छिन्।   आमाले काम गर्न नसक्ने हुनाले गाँउलेले ऋण पनि पत्याउन छाडेका छन्। 'पहिला बुबा हुँदा ऋण दिन पनि मान्थे, वेसा दिन मान्थे' जेठो छोरा प्रेमले भने 'सबै भाइबहिनी स्कुल जान्थे, अहिले त स्कुल जान पनि मन लाग्दैन।'

मुनेको मृत्यु भएपछि गाउँलेले उक्त परिवारका लागि २० हजार रुपैयाँ सहयोग जुटाएका थिए। तर दैनिक छाक टार्न पनि त्यही रकम प्रयोग गर्नुपर्ने भएपछि रकम सकिएको छ। पढ्ने रहर हुँदा पनि आफू र भाइबिहिनी आर्थिक अभावका कारण समयमा खाना लाउन नपाउदा स्कुल जान नसकेको प्रेमले बताए।

अहिले यी बालबालिका गाउँघरमा गाउँलेको घरमा घुमेर खाना खाँदै आएका छन्। आमा पनि काम गर्न नसक्ने र बालबालिकाले पनि परिश्रम गर्न सक्ने उमेर नभएकाले उनीहरुको दैनिक जीवन नै कष्टकर बनेको हो।  

अहिले शर्मिला र उनका छोराछोरी आफ्नो घर छाडेर छिमेकी दुर्गाबहादुर कामीको घरमा शरण लिइरहेका छन्। घर सानो र चिसो भएकाले उनीहरु छिमेकीकोमा बसेका हुन्। यो परिवारलाई सहयोग होस् भनेर गाउँमा रकम संकलन गरेपनि त्यो सकिएपछि फेरि उही अवस्था दोहरिएको पजारु २ धाउनीका प्रमोद विकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.