|

उदयपुर : कटारी नगरपालिका–१४ चनौटेकी तारादेवी लायोमगर मध्यरातमा पधेँरो पुग्छिन्। त्यसरी पुग्दा पनि पानी भर्न लाइन लाग्नु पर्दछ। ‘भाँडाकुँडा बोकेर मध्यरातमा पधेँरो पुग्दा नि सुख छैन,’ उनले भनिन्, ‘भोट लगाउन जाँदा जसरी लाइन बस्नुपर्छ।’

यसरी मध्यरातमा पधेँरो पुगेर धारामा आउने तिरतिरे पानी जम्मा गरेर ५/७ गाग्री भर्छिन्। ‘नुहाइधुवाइ गर्ने कल्पनाको कुरा हो,’ उनले तारदेवीले भनिन्, ‘चाडपर्वमा त पानी किनेर ल्याउनु पर्छ।’

समुद्र सहतदेखि करिब एक हजार ८०० मिटर उचाइमा रहेको चनौटे नजिकैको रमाइलो डाँडागाउँकी सनमाया बिकको पनि पीडा उस्तै छ। ‘पहिले डाँडाको बस्ती भए पनि गहिरा खोल्सामा पानी थियो,’ उनले भनिन्, ‘२०७२ सालको भूकम्पपछि पानी सुक्दै गयो।’ त्यसैले एक गाग्री पानी लिन करिब डेढ घण्टा पैदल हिँडेर चनौटे खोलामा पुग्नु परेको सनमायाले बताइन्। पानीको अभावले लुगा धुन, नुहाउन दुई घण्टा ओरालो लागेर सुनकोसीनै पुग्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ। 

कटारी नगरपालिका–१४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु, भदौरे र रामागाउँमा खानेपानीको चरम अभाव छ। पानीनै अभाव भएपछि स्थानीयहरु गाउँ छाड्न थालेका छन्। रमाइलो डाँडाकी फुलमाया विश्वर्कमा भन्छिन्, ‘यस क्षेत्रका धेरैले पानीकै अभावले गाउँ छाडेर बसाइँ सरे।’

यस क्षेत्रका लागि वस्तीभन्दा डेड किलोमिटर तल चनौटेखोलामा ट्याङ्की जस्तो कुवा बनाइएको छ। तर, त्यहाँ पनि पानी सुक्दै गएपछि झन् समस्या बढेको शिक्षक विष्णु मुरीमगरले बताए। पानी अभवा भएकै कारण कहिले काहीँ छिमेकीबीच झगडा समेत हुने गरेको छ। शिक्षक मगरका अनुसार वडा नम्बर १४ मा पर्ने रामा गाउँ, डाँडागाउँ, भदौरे, चनौटेलगायतका १५० घरधुरीमा खानेपानीको चरम अभवा छ।

वडा नम्बर १४ का वडाध्यक्ष तेजबहादुर आलेमगरले साविकको लेखानी गाविसको सबै वडामा पानीको समस्या रहेको बताए। ‘लेखानीका २५ घर परिवार खानेपानीको कारण बसाइँ सर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘कटारी नगरपालिका, प्रदेश र संघीय सरकार गुहारिरहेका छौँ।’ उनका अनुसार सुनकोसीको पानी लिफ्टिङ गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने योजना रहेको छ।

कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठका अनुसार चनौटेलाई सुनकोसीबाट  लिफ्टिङ गरी पानी ल्याउन डिपिआर तयार गर्न संघीय सांसद सुरेशकुमार राईको संसदीय कोषको १० लाख विनियोजन भएको छ। ‘लिफ्टिङ प्रणालीबाट खानेपानीको ल्याउने योजना छ,’ उनले भने, ‘कोषको रकमले पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, पानी ट्याङकी बनाउने योजना छ।’ 

सोही क्षेत्रलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ सात वर्षअघि सुरु भएको हात्तीखर्क खानेपानी योजना पनि कटारी नगरपालिका–११ गहुँबारीसम्म मात्र पुगेको छ। तर, त्यही योजनाले पनि गति नसकेको सरोकारवालहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.