फिचर

गलैंचा बुन्‍ने काम छाडेर होटल खोलेकी गनिसरा भन्छिन्- सन्तुष्टि नै धन हो
SHARES

आलुचप पाँच र १० रुपैयाँमा तरकारी कति खानुहुन्‍छ?

चैत २९, २०७५

    कास्की :  पोखराको बगरस्थित पिएन क्याम्पसको पछाडिको गेटको आडैमा एउटा पुरानो टिनको छाप्रो छ। छाप्रोभित्र पुराना बेञ्च र टेबलहरू, छाप्रो बाहिर लस्कर लाएर राखिएको दाउराका मुढा, तिनै मुढा सल्काएर, पत्पत्ति धुवाँ उडाउँदै खाजा बनाउन व्यस्त छिन् ६१ वर्षीया वृद्धा।

    दिउँसो एक बजेतिर एक हुल विद्यार्थी आमा खाजा भन्दै पुग्छन् त्यस छाप्रोमा। न कुनै साइनबोर्ड छ,न देख्दा यो कुनै खाजाघर या होटल जस्तो लाग्छ। नयाँ व्यक्तिले बाहिरबाट हेर्दा यहाँ खाजा पाइन्छ भनेर पत्तो पाउँदैनन्। न बृद्धाले अरु खाजा पसलमा जसरी खाजालाई बाहिर देखाएर नै राख्छिन्। यही पुरानो छाप्रो भित्र धुवाँसँगै मिसिएर दाउरा बलिरहेका छन्। धुवाँको मुस्लोले आँखामा आँसु झारेको छ। आँसु पुछ्दै खाजा बनाउँछिन् स्याङजा क्याक्निकी गनिसरा थापा।

    घरमा पैसाको दुःखले गर्दा पोखरा झरेर पैसा कमाउन लक्ष्यसहित गनिसरा २०३८ सालमा पोखरा आइन्। गनिसरा पोखरा आउँदा २५ वर्षकी थिइन्। पोखरामा गलैँचा बुन्ने तालिम पाइन्छ भन्ने सुनेर गनिसरा पोखरा आएकी थिइन्। उनले तीन महिनाको तालिम पनि लिइन्। त्यही तालिमबाट सिकेको सीपले पाँच वर्ष गलैंचा बुनिन्।

    पोखरा बसेर गलैंचाको काम गरिरहेकी गनिसराको २०४१ सालमा बैवाहिक बन्धनमा बाँधिन पुगिन्। विवाह गर्दा गनिसरा २७ वर्षकी थिइन् उनका श्रीमान् ५२ वर्षका थिए। गनिसराले सम्झन्छिन् उनले भनिन् ‘बुढाको पहिलो श्रीमतीले छोडेको रैछ, अनि मेरो बाउले उनैसँग बिहे गर्दिए।’ उनका श्रीमानको पहिलेको श्रीमती पट्टिका छोराहरू थिए। गनिसराले आफ्नै कोखको सन्तान जस्तै गरी हेरचाह गरिन्। हुर्काइन्, बढाइन्, पढाइन्। उनको आफ्नै कोखबाट एउटा छोरीलाई जन्म दिइन् । छोरीको विवाह भइसक्यो। नाति नातिना पनि छन्।

    चारसय रुपैयाँ ऋण खोजेर खाजा घर

    गनिसरा बिहेपछि पनि गलैँचा बुनिरहेकी थिइन् तर गलैंचाको कमाइले नै छाक टार्न मुस्किल थियो। उनको बुढा मलायको (ब्रिटिस)आर्मी पेन्सन निस्किसकेका थिए। बुढाको पेन्सन त्यो बेला महिनाको तीन सय थियो। तीन महिनामा मात्रै पेन्सन थाप्नुपर्ने नौँ सय रुपैयाँ मात्र पेन्सन पाउँथे। त्यतिले घर खर्च पुग्दैनथ्यो। घरमा उनको २२ जना परिवार सदस्य थिए। बिहान बेलुकी गाँस जुटाउन धौ–धौ भएपछि गनिसराले के गर्ने भनेर सोचिन्। कति रात सोचेरै अनिधो कटाएको सम्झना उनको मनमा ताजै छ।

    एकरात उनको मनमा चिया बेच्नुपर्छ की भन्ने कुरा खेल्यो। चिया खाजा बनाएर त बेच्नी तर होटेल खोल्नलाई पैसा जुटाउने कसरी? उनको मनको अर्को कुरा खेल्न थाल्यो। ऋण लिएर भएपनि होटेल खोल्ने निर्णयमा पुगिन्। उबेला पनि सय कडा पाँच रुपैयाँको ब्याज दिनेगरी चारसय रुपैयाँ ऋण काढेर होटल खोलिन्। महिनामा २० रुपैयाँ ब्याज तिर्नुपर्थ्यो। गनिसराले भनिन्, 'सुखले होइन दुखैले होटल खोलेकी हुँ, मलायको लाहुरे भए पनि बुढाको पैसा बचत हुन्थेन। बुढाले जाँडरक्सी खाने, जुवातास खेल्ने गरेर सताए।’

    १० रुपैयाँको तरकारी ५ रुपैयाँको आलुचप

    २०४४ सालमा उनले चित्रोले बारेर एउटा छाप्रो बनाइन। त्यही छाप्रोमा चिया, तरकारी बनाएर बेच्न थालिन्। गनिसराले सम्झिइन्,‘त्यतिबेला एक रुपैयाँमा चिया र तरकारी बेच्थेँ।’ त्यो समयमा पिएन क्याम्पस वरपर होटल थिएन। गनिसरा नै पहिलो होटलवाली हुन्। यसरी नै चलिरहेको थियो होटल तर परिवारको सबैको छाक अझै सजिलै टरेको थिएन। 

    उनको मनमा आलु र आँटा मुछेर आलु चप बनाएर बेच्ने सोच आयो। उनले आलु चप पनि बनाएर बेच्न थालिन्। खाजा खान आउनेले मन पराउन थाले। उनले बनाएको आलुचप तर उनलाई यो पनि थाहा थिएन कि उनले आँटा र आलुबाट बनाएको चिज आलुचप हो। सुरुसुरुमा उनले एउटा आलुचपलाई २ रुपैयाँमा बेच्थिन्। गनिसराको अनुसार त्योबेला आलु तीन रुपैयाँ किलो थियो तेल २५ रुपैयाँ लिटर। त्यसपछि उनले दुई रुपैयाँ पाँच मोरमा आलुचप बेचिन्। त्यसपछि चार  रुपैयाँको तीन वटा बेच्न थालिन्। तीन वर्ष भयो आलुचप पाँच रुपैयाँमा बेच्न थालेको उनले बताइन्। उनले भनिन्

    ‘अहिले आलु, तेलको भाउ बढ्यो त्यसैले पाँचको एउटा बेच्न थालेँ, मैले छिटोछिटो बढाउँदिनँ।' अहिले गनिसरा आमाको होटलमा पाँचको आलुचप, १० रुपैयाँको तरकारी र दूध चिया १० रुपैयाँमै पाइन्छ।

    सन्तुष्ट हुनु नै धन

    गनिसरा आमाले उनको छाप्रोमा पुग्नेलाई सस्तोमा खाजा खुवाउँछिन्। उनले कति नाफा भो भन्नी कहिल्यै हिसाब राख्दिनन्। न त उनले त्यो आगोमा गरेको मिहिनेतको हिसाब नै राख्छिन्। उनले आगोमा चप बनाउन लागेको ३१ वर्ष पुग्यो।

    उनले भनिन् ‘हिसाब गर्‍यो भने त टेन्सन हुन्छ, यति सस्तोमा खाजा बेचेर कहाँ नाफा हुन्छ र, भगवानले भन्छन् सन्तुष्ट हुनु नै धनी हो रे मेरोमा विद्यार्थीहरू धेरै आउँछन्, भोकले आउँछन्, माया लाग्छ। यसैमा मलाई सन्तोष लाग्छ। मलाई पनि छाक टार्न पुगेकै छ।’

    उनको खर्च नकटाई दिनमा पाँच हजार देखि छ हजार सम्म कमाई हुन्छ। उनले तरकारीका लागि दिनमा ३५ किलो आलु उसिन्छिन्। ५० केजीको आँटाले तीन दिन खाजा पाक्छ।

    बुढाको पेन्सनले घर खर्च, आलुचपमा सन्तुष्ट

    उनको श्रीमानको पेन्सन अहिले बढेको छ। महिनामा ५० हजार पाउँछन्। घरव्यवहार त्यसैले टर्छ। अहिले उनलाई होटल नगरे पनि पुग्छ तर उनी भन्छिन् ,‘होटल छोड्न सक्दिन, विद्यार्थीको मायाले गर्दा अहिले सम्म होटल गरेकीहुँ मैले सकुन्जेल यै काम गरिराख्छु।’ गनिसराको उमेर ढल्केसँगै आजकल उनको छोरी, नाति नातिनाले सहायता गर्छन्। उनको श्रीमानले पनि जाँडरक्सी, तास खेल्न छोडे। अहिले उनको दीपमा आफ्नै घर छ। ‘दुःख केकेमा गरिनँ होला तर अहिले म खुसी छु, मलाई छिमेकीले पनि उत्तिकै माया गर्छन्,’ गनिसराले खुसी बाँडिन्। उनकोमा खाजा खाने विद्यार्थीहरू पनि साह्रै सन्तुष्ट छन्।

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]