|

काठमाडौं : नेपालको सुन्दरतालाई चिनाउन फोटो प्रदर्शनीमा राखिएको छ। नेपाल सुन्दर छ भन्ने सन्देश दिन १०१ फोटोको शुक्रबारदेखि बबरमहलस्थित, आर्ट काउन्सिलमा शुरू भएको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त कार्यक्रमको शुरूआत गरेका हुन्। कार्यक्रमको सुरुआत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको सुन्दरतालाई विश्वभर चिनाउन फोटो महत्त्वपूर्ण माध्यम रहने उनले बताए। मन्त्री ज्ञवालीले प्राकृतिक, सांस्कृतिक र परम्परागत विविधता बोकेको नेपालको महत्त्व फोटोमार्फत प्रचार गर्नु अत्यन्त सुन्दर कुरा भएको समेत बताए। यसले नेपाल पर्यटकीय स्थल हो भन्ने सन्देश भरपुर प्रवाह गर्छ भन्ने आशा लिएको समेत उनले बताए।  

आर्ट काउन्सिलको तेस्रो र चौथो तल्लाको हलका भित्तामा एक सय एक फोटोहरू राखिएका छन्। नेपाली संस्कृतिदेखि प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व, ऐतिहासिक सम्पदा, परम्परा, साँस्कृतिक चाडपर्वहरू, प्राकृतिक सौन्दर्य, जीवनशैली, हिमाल, पहाड, तालतलैया, फूल, जनावर, चराचुरुङ्गी, जात्रा, पूजा लगायतका २९ जना फोटोग्राफरहरुले खिचेका फोटो राखिएका छन्। नाम र फोटो क्याप्सनसहित राखिएका ती फोटोहरु साँच्चिकै सुन्दर लाग्छन्।

कार्यक्रमको नाम छ नेपाल सुन्दर छ। जसलाई आयोजना गरेको छ ‘देशलाई हाम्रो खाँचो छ’ नामक संस्थाले। ‘पर्यटन वर्ष २०२०’लाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै संस्थाका प्रमुख अजय रानाभाटले फोटोमार्फत देशभरका सुन्दर विषय र वस्तुहरुलाई चिनाउन चाहेको बताए। प्रदर्शनीको पहिलो दिन शुक्रबार नेपालका लागि थाइल्यान्ड, इजिप्टका र म्यानमार दूतावासका प्रतिनिधिहरुको उपस्थित भएर फोटोहरूको अवलोकन गरेका थिए।

प्रदर्शनीका राखिएका २९ फोटोग्राफरका १०१ फोटोहरू निर्णयाक जगदिश तिवारले छनौट गरेका हुन्। जसमध्ये मोहन दुलाल माउन्टेन्स एण्ड ल्यान्स्केप, अजय महर्जन कल्चरल र सुशील श्रेष्ठ वाइल्ड लाइफ विधाका लागि फिचर्ड भएका छन्।

'नेपाल सुन्दर छ' नाराका दिइएको फोटो प्रदर्शनीको यो दोस्रो संस्करण हो। यसअघि २०७२ सालमा भूकम्पलगत्तै विश्वभर नेपाल बारे फैलिएको भयावह समाचारहरूको असर कम गर्न सन् २०१५ को सेप्टेम्बरमा पहिलो संस्करण आयोजना गरिएको थियो। शुक्रबारदेखि सुरू भएको फोटो प्रदर्शनी चार दिन चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.