तनहुँको शुक्लागण्डकीमा विश्वविद्यालय बनाउने तयारी

|

पोखरा : गण्डकी सरकारले आफ्नै विश्व विद्यालय खोल्ने प्रक्रिया अघि बढाएको छ। सरकारले यसै आर्थिक वर्षभित्र विश्वविद्यालयको डिपीआर तयार पार्नका लागि बजेट विनियोजन गरेको छ। त्यस्तै डा. तीर्थ थापाको संयोजकत्वमा गठन भएको कार्यदलले विश्व विद्यालय सञ्चालनको लागि लाग्ने प्रारम्भीक लागतको अनुमान समेत उल्लेख गरेर गण्डकी सरकारलाई बुझाएको छ।

विश्वविद्यालयको डिपीआरको लागि चालु आर्थिक वर्षको एककरोड रुपैयाँ र गत वर्षको ५० लाख रुपैयाँ रकम विनियोजन भएको थियो। डा.थापाको संयोजकत्वमा नेपाल सरकारका पूर्व मुख्य सचिब डा. सोमलाल सुबेदी, पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्री प्राध्यापक डा. लेखनाथ भट्टराई, डा. कृष्णराज अधिकारी र शिक्षाविद् पूर्णकान्त अधिकारीसमेत रहेको समितिले लागत तथा सञ्चालन खर्चसमेत अनुमान गरेर गण्डकी सरकारलाई प्रतिवेदन बुझाएको हो।

कार्यदलले कलेज सञ्चालनको लागि र पूँजीगतका लागि लाग्ने खर्च पनि निकालेको छ। जसमा कलेज सञ्चालनार्थ  एक अर्ब ८२ करोड र पुँजीगत खर्च भने ६ अर्ब १२ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान छ।

तनहुँमा गण्डकी विश्वविद्यालय

तनहुँको शुक्लागण्डकी नगरपालिकामा गण्डकी विश्वविद्यालय खोल्ने बारे केहि महिना अघि नै गण्डकी सरकारको मन्त्रीपरिषदको बैठकले निर्णय गरिसकेको छ। शुक्लागण्डकी नगरपालिकामा रहेको भानुभक्त क्याम्पससँगै रहेको ४७५ रोपनी जग्गा उपलब्ध गराउन संघ सरकारलाई प्रदेश सरकारले पुस १३ गतेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेर स्वीकृतिसमेत माग गरेको छ। अहिले गण्डकी सरकारको सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय सञ्चानको लागि मस्यौदा तयार पार्ने काम गरिरहेको छ। गण्डकी सरकारले विश्व विद्यालयको स्वरुप स्थान छनोटका लागि गठन गरेको कार्यदलले पनि शुक्लागण्डकीमा रहेको भानुभक्त क्याम्ससँगैको जग्गा नै उपयुक्त रहेको प्रतिबेदन सरकारलाई बुझायो।

केके हुन्छन् पढाइ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार गण्डकी विश्वविद्यालयमा रोजगार सृजना गर्ने प्राविधिक विषयहरु पठनपाठन हुनेछ। प्राकृतिक विज्ञान, समाजशास्त्र, प्राविधिक तथा ब्यवहारिक ब्यवस्थापन शिक्षा, प्रविधी, विभिन्न विषयमा ब्याचलर लेभल, मास्टर लेभल, एमफिल र पिएचडी नै सोही गण्डकी विश्व विद्यालयबाट गर्न सकिने गरी विश्वविद्यालय स्थापना गर्न लागिएको गण्डकी सरकारले जनाएको छ।

कसरी रहन्छ विश्वविद्यालयको ढाँचा?

गण्डकी विश्वविद्यालयको ढाँचा कस्तो रहने, नियमक निकाय को रहने भन्ने प्रारम्भीक तयारी समेत भएको छ। विश्वविद्यालय सञ्चालनको लागि विभिन्न संगठन निर्माण हुनेछन्। विश्वविद्यालय सञ्चालनको लागि गठन हुने न्यायिक परिषद सबैभन्दा माथिल्लो निकायको रहनेछ। अरु यसै न्यायिक परिषदले गरेका संगठनहरु रहनेछन्। उपसमिति, प्राज्ञिक परिषद, अन्तराष्ट्रिय समन्ध केन्द्र, जनशक्ति ब्यवस्थापन आयोग, अनुगमन तथा मूल्यांकन शाखा, योजना तथा वित्त ब्यवस्थापन शाखा लगायतका केन्द्रहरु विश्वविद्यालय स्थापनासँगै स्थापना हुनेछन्। अन्य खेलकुद, प्राक्टीकल ब्यवस्थापन शाखाहरु पनि विश्वविद्यालयमा रहनेछन्।

‘गण्डकी विश्वविद्यालयको एक मात्र उदेश्य के भने यहाँका युवा श्रमलाई बाहिर जान नदिने,’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘दक्ष जनशक्ति यहिँ उत्पादन गरेर रोजगारको सृजना गर्ने, देश तथा विदेशका विभिन्न प्राज्ञिक र ब्यवसायिक क्षेत्रसँग ज्ञान सीप आदानप्रदान गरी जनताको आर्थिक बृद्धि गराउने नै सरकारको लक्ष्य हो।’ त्यस्तै विश्वविद्यालय स्थापनाको लागि आवश्यक जनशक्तिलाई पनि कार्यसम्पादनको आधारमा दण्ड र पुरस्कारको ब्यवस्था हुने मुख्यमन्त्री गुरुङ बताउँछन्।

जनशक्ति ब्यवस्थापनमा विज्ञको सुझाब

विश्वविद्यालय सञ्चालनको लागि जनशक्ति ब्यवस्थापन आयोगले कर्मचारीलाई पुरस्कृत गर्ने, करारका कर्मचारीलाई निरन्तरता दिने वा अवकाश दिने सबै जिम्बेवारी लिने विज्ञ समितिको प्रतिबेदनमा स्पष्ट पारिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.