समाज

मिथिलाञ्चलमा हिलो र पानीले खेलिने जुड्शीतल पर्व मनाइँदै
SHARES

बैशाख २, २०७६

    जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा परम्परागत रुपमा मनाइँदै आइएको जुडशीतल पर्व सोमबार धुमधामको साथ मनाइँदै छ। होली पर्वमा रंग अविरले खेलिए जस्तै यस पर्वमा हिलो र पानीले खेलिने गरिन्छ।

    पहिले-पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउँवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो, पानी र खरानी छ्यापेर खेलिने गरिएको थियो तर अब आधुनिकता हाबी हुँदै जाँदा यो पर्व लोपोन्मुख हुँदै गएको स्थानीय बताउँछन्। लोपोन्मुख हुँदै गएको मिथिलाको लोकपर्वको रुपमा रहेको जुड्शीतल पर्वलाई संरक्षण गर्ने उद्देश्यले मिथिलाञ्चल क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मान्ने गरिन्छ।

    जुडशीतलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने र छालाको रोगहरु नलाग्ने वैज्ञानिक कारण रहेको छ भने, यो पर्वमा पानी हालेर खेल्यो भने, गर्मी महिना भरी शीतलता प्रदान हुने धार्मिक तथा पौराणिक जनविश्वास रहेको मैथिलीका प्राध्यापक परमेश्वर कापडि बताउँछन्।

    यसै विश्वासको साथ एक अर्कामाथि पानी र हिलो छ्यापेर जुड्शीतल मनाइएको छ। गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेको कारणले शुद्ध माटो जिउंमा लगाउंदा यो रोग निको हुने पौराणिक मान्यता अनुसार शुद्धमाटो र पानीले यो पर्व मनाइने गरिन्छ। शहरी क्षेत्रमा यो पर्व लोपोन्मुख हुंदै गए पनि अहिले पनि ग्रामीण क्षेत्रमा यस पर्वको विशेष महत्व रहेको छ।

    बिहान घरको जेठो व्यक्तिले उमेरमा आफूभन्दा साना ईष्टमित्र, करकुटुम्ब, छोरीछोरी सहितकाको टाउकोमा बासी पानी हालि वर्ष भरि नै शितलता प्रदान होस भन्ने कामना गर्दछन्। जसअनुसार जनकपुरधामसहित आसपासको क्षेत्रमा बृद्ध बृद्धाहरुले आफूभन्दा कान्छोको टाउकोमा पानी छ्यापेर यो पर्व मनाइन्छ।

    एक बिहानै उठेर घरका बरबुर्जुगले खेत तथा बारीमा भएको बोट विरुवाहरुमा समेत पानी हाल्ने परम्परा रहिआएको छ। यो दिन पानी हाले भने वर्ष भरी नै रुख बोट बिरुवाहरुलाई शितलता प्रदान हुने गरेको जनविश्वास समेत रहिआएको छ। यही दिन गाई वस्तुहरुलाई पनि अनिवार्य रुपमा नुहाउने परम्परा रहेको छ। त्यसैगरि जुडशीतलमा बासी भात र मानव शरीरको लागि अति नै स्वस्थ्यकर मानिएको चनाको सातु तथा अन्य चिसो परिकारहरु खाने परम्परा रहेको वरिष्ठ पत्रकार तथा जानकार विष्णुमणि खनाल बताउँछन्।

    समयसँगै परिवर्तन

    समयको परिवर्तनसँगै यस पर्वको स्वरुपमा परिवर्तन आए पनि यस पर्वको महत्वमा भने कुनै कमि नआएको प्राज्ञ डा. राम भरोष कापडी भ्रमरको भनाइ छ। गृष्म ऋतुको शुरुवातसंगै  शितलताको प्रतिकको रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको सांस्कृतिलाई झल्काउने गरेको उनको भनाइ छ। आधुनिकताको दौरमा यस पर्वको सकारात्मकता लाई बिर्सेर युवाहरु यसलाई फोहोरी मानेर यो पर्व बाट टाढिँदै गएको पाइन्छ।

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]