|

सानै उमेरमा नारायण गोपाल, अरुणा लामा, गोपाल योञ्जनका गीत मनपराउने डा. विजय सुब्बा पछि जनवादी गायकहरू रामेश, जेबी टुहुरे, मञ्जुलहरूका गीतप्रति आकर्षित भए। गायनमा रुचि भए पनि पहाडी परिवेश, आवश्यक सङ्गीतको ज्ञानका लागि अवसरको अभाव जस्ता कारणले सङ्गीतमै विशेष अध्ययन गर्न उनले पाएनन्। यद्यपि, लोकसङ्गीत र लोकभाकाका लागि कुनै विशिष्ट साङ्गीतिक ज्ञानको आवश्यकता पनि थिएन। उनी लोकभाका र सुगम सङ्गीतलाई अग्रजका लयमा गुनगुनाउन थाले। निकै लजालु थिए रे उसबेला विजय। सार्वजनिक रूपमा गाउन लाज लाग्थ्यो रे! यद्यपि, कोठाभित्रै भए पनि गाउने अभ्यास भने छाडेनन्।

विद्यालय पढ्दैदेखि गाउन थालेका विजयले उच्चशिक्षा अध्ययनका बेलामा भने आफ्नो गायनलाई अलिक गति दिए। कलेजका कार्यक्रमहरूमा पनि गाउन थाले। कोठाबाट बाहिर निस्कन थाले र सार्वजनिक कार्यक्रमहरूमा विभिन्न मञ्चमा गाउन थाले।

एकातिर निर्दलीय पञ्चायतको जगजगी, अर्कातिर चढ्दो युवावय, अझ त्यसमा पनि राजनीतिक चेतना बिस्तारको प्रभाव, विजय बिस्तारै शोषित, पीडित र अन्यायमा परेकाको आवाज गीत र कवितामार्फत् अभिव्यक्त गर्न थाले। मञ्जुल, रामेश, जेबी टुहुरेलगायतका त्यसबेलाका चर्चित जनवादी गायकसँगको भेटले उनमा जनताका गीत, कविता लेख्ने र जनताकै गीत गाउने चाहना बढ्यो।

विक्रमको ३० को दशकको सुरुदेखि नै पुल्चोक क्याम्पसमा पढ्न थालेपछि राजनीतिक चेतना हुर्कन थाल्यो विजयमा। यद्यपि, पञ्चायतको निरङ्कुशता, पढाइको बाध्यता जस्ता कारणले उनले खुलेर राजनीतिमा होमिन पाएनन्। पढाइ सकिएपछि सरकारी जागिरे बने। यद्यपि, उनको राजनीतिक चेतनाले पञ्चायतको गुलामी गर्न मानेन र गाउँगाउँमा जनवादी गीत गाउँदै र प्रगतिशील कविता पढ्दै हिँडे विजय।

२०३५ सालको राजनीतिक घटनाले उनलाई प्रत्यक्ष राजनीतिमा होमिन प्रेरित गर्‍यो। २०३८ सालतिरै उनले कम्युनिष्ट पार्टीको सदस्यता लिए। यसपछि पार्टीका विभिन्न मोर्चामा आवद्ध भए, विशेषगरी साँस्कृतिक फाँटमा, जुन उनको रुचि पनि थियो। स्वाभाविक रुपमै जिम्मेवारीअनुसार नै उनले त्यसपछि आफैँ गीत लेख्ने, आफैँ सङ्गीत भर्ने र गाउने क्रम सुरु गरे। उनका गीत जनताका भाषामा हुन्छन्। जनताले बोल्ने र बुझ्ने शब्द शैली हुनुपर्छ जनताका गीतमा भन्छन् उनी। 'जसका लागि लेखिन्छ, उसले नै बुझेन भने त्यसको के अर्थ?', विजय भन्छन्, 'मैले जनतालाई केन्द्रमा राखेर लेख्छु, जनताकै लागि गाउँछु भने जनताकै बोली र भाकामा हुनुपर्छ।'

निर्दलीय पञ्चायतको जगजगीका बेलामा उनको गायनयात्रा सुरु भए पनि उनले भूमिगत भने बाँच्नुपरेन, यद्यपि, भूमिगत नेताहरूको सम्पर्कमा निरन्तर रहे उनी। अर्द्धभूमिगत जसरी निरन्तर पार्टीमा खटिइरहे।

साहित्य-यात्रा

डा. विजय सुब्बाले ०२६-०२७ सालदेखि नै साहित्य लेख्न सुरु गरेका हुन्। विद्यालय जीवनमा कक्षा ६ देखि ७ कक्षामा जाँदा दोस्रो भएपछि विद्यालयले पुरस्कार स्वरुप दिएको लालीगुँरास नाम गरेको कपीमा कविता, गीत लेखेको सम्झना छ उनलाई। यो क्रम ०३६ सम्म निरन्तर रह्यो। ०३५ को राजनीतिक घटनाले उनलाई अर्कै चेतनातर्फ डोहोर्‍यायो। उनले झण्डै एक दशक रचना गरेका सबैजसो सिर्जना फालिदिए, कारण- उनमा राजनीतिक चेतनाले तीब्र उछाल ल्याइसकेको थियो। शोषित, पीडित र अन्याय, अत्याचारमा परेका जनताका लागि मात्र लेख्नुपर्छ भन्ने चेतनाले उनी प्रगतिशील लेखनमा मात्र केन्द्रित रहन थाले। यसपछिका उनका रचनाले देश, जनता र जनजीविकाका कुरा मात्र बोल्न थाले।

यसो हुनुमा उनी चीनियाँ क्रान्तिको प्रभाव हुन सक्ने अनुमान गर्छन्। ०२६-०२७ सालतिरै विद्यालय जीवनमै उनीलगायत केही साथीहरू चीनियाँ क्रान्तिका नायक माओत्सेतुङको लकेट लगाउँथे रे! पछि भूमिगतकालका, अझ भनूँ पञ्चायतकालका लोकप्रिय साहित्यकार सञ्जय थापा उर्फ प्रदीप नेपालको सम्पर्कमा पुगेपछि उनमा राजनीतिक प्रशिक्षण बढ्यो, जसले अझ बढी राजनीतिक क्रियाकलापमा सक्रिय हुन प्रेरित गर्‍यो। गोविन्द भट्ट, आनन्ददेव भट्ट, पारिजातजस्ता साहित्यिक हस्तीको सङ्गत बढ्न थाल्यो। पार्टीको एउटा संरचना सांस्कृतिक फाँट, जसलाई 'शिखर साँस्कृतिक परिवार' नाम दिइएको थियो, त्यसको उपत्यका सचिवको जिम्मेवारीमा रहे विजय। ०३८ सालमै रघु पन्तको नेतृत्वको 'संकल्प परिवार'मा उनी सक्रिय थिए।

कार्यक्रममा विजय सुब्बाले आफैँले लेखेको गीत 'कहीँ झुप्राहरूमा...' बोलको गीत गाए। सो गीत सुनेपछि मदन भण्डारी निकै भावविह्वल बनेका र रोएका स्मरण उनलाई ताजै छ।

उतिबेला उनको क्रेज निकै थियो, विशेषगरी कलेजका विद्यार्थी र भूमिगत राजनीतिक कार्यकर्तामाझ। विजय आउने भन्ने भएपछि तीती स्थानका कलेजका विद्यार्थी साङ्गीतिक कार्यक्रम आयोजनामा जुटिहाल्थे। सरकारी जागिरसँगै पञ्चायतविरोधी राजनीतिमा सहयोग गर्नु उनका निम्ति सजिलो काम थिएन। तथापि, साँस्कृतिक फाँटमार्फत् विजयले गाउँगाउँमा गएर जनताका गीत गाएर एक प्रकारको राजनीतिक चेतना वृद्धि गर्नमा भने निकै ठूलो भूमिका खेलेका हुन्।

त्यसो त हिजो विजयका गीत सुन्नेहरूमध्ये धेरैले पञ्चायतविरोधी आन्दोलनमा साथ मात्र दिएनन्, राजनीतिक दलका राम्रा कार्यकर्ता बनेरै आए। यसमा उनी खुसी छन्। 'गीत सङ्गीतमा एउटा अनौठो शक्ति हुनेरहेछ', विजय भन्छन्, 'मानिसको विचारलाई नै परिवर्तन गर्ने र क्रान्तिको पक्षमा लगाउन सक्ने तागत हुँदोरहेछ', उनले त्यस समयमा र त्यसपछिका राजनीतिक आन्दोलन, परिवर्तनहरूमा पनि साहित्य र सङ्गीतको तागतको मूल्याङ्कन गर्दै भने।

विजयको गायनबाट यति प्रभावित थिए मानिस कि एउटै गीत उनले चार पटकसम्म गाउनुपरेको थियो। चन्द्र साङ्सोनले लेखेको 'यो मृत्यु शैया आधै उमेरमा' र उनी आफैँले लेखेको 'हिमाली हावा' बोलका गीत त उनले कतिपटक गाए, हेक्का नै छैन। ०३९ सालमा त्रिभुवन विश्वविद्यालयको अडिटोरियममा मञ्जुलको गीत 'देशवासीले खान पाउनुपर्छ भन्नेलाई' पनि लगातार चार पटकसम्म गाए। त्यसबेला भूमिगत कम्युनिष्ट नेताहरूको पनि उपस्थिति थियो त्यहाँ। सबै मन्त्रमुग्ध बनेको स्मरण ताजै छ उनमा।

 

'सायद त्यसबेलाको पञ्चायतको दमन, लोकतन्त्रको चाहना, शोषण, अन्याय र अत्याचारको अनुभव, भोगाइका कारण पनि मेरा गीत जनतालाई मनपरेका हुन्', विजय भन्छन्।

...अनि मदन रोए

वि. सं. २०४४ सालमा हुनुपर्छ, पार्टीको मोरङ जिल्ला अधिवेशन थियो। पार्टीका दिग्गज नेताहरूको उपस्थिति थियो सो कार्यक्रममा। पार्टीका त्यसबेलाका प्रभावशाली नेता मदन भण्डारी पनि थिए सो कार्यक्रममा। कार्यक्रममा विजय सुब्बाले आफैँले लेखेको गीत 'कहीँ झुप्राहरूमा...' बोलको गीत गाए। सो गीत सुनेपछि मदन भण्डारी निकै भावविह्वल बनेका र रोएका स्मरण उनलाई ताजै छ। 'म आफैँ चकित भएँ', विजय भन्छन्, 'वास्तवमा सङ्गीतमा शक्ति हुनेरहेछ।' उनका अग्रज गायकहरू मञ्जुल, रामेशहरूले गीत गाएर मान्छे रुवाएको कुरा गर्दा विजयलाई आश्चर्य लाग्थ्यो कि गीत सुनेरै मान्छे कसरी रोयो होला भनेर। तर जब उनको आफ्नै गीतमा मदन भण्डारी जस्ता त्यस समयका प्रभावशाली राजनीतिक नेतासमेत रोए, उनलाई गीत सङ्गीतको तागतको महसुस भयो। उनले गाएको सो गीतको स्थायी यस्तो थियो:

 

कहीँ झुप्राहरूमा वास खोजी हिँड्ने

क्रान्तिका लाभाहरू देख्यौ भने

कहीँ जङ्गलमा लास खोजी हिँड्ने

क्रान्तिका गाभाहरू देख्यौ भने

भनिदेऊ वस्तीहरू यहाँ रोपाइँ चल्दै छ भनेर

भनिदेऊ वस्तीहरू देश भुंग्रोमा बल्दै छ भनेर।

 

उनका अन्य गीतले पनि जनतालाई धरधरी रुवाएका छन्। जनताले टिप्ने, जनबोलीमा समेटिने, जनताकै दुःख, सुख र जनजीवनकै अनेक पाटाका कथा भएका गीत नै त्यसबेलाका लोकप्रिय गीत मानिन्थे। उनले त्यस्तै गीत सिर्जना गरे र जनताकै भाकामा अथवा लोकले बुझ्ने भाकामा सङ्गीत गरेर गाए, जसका कारण उनका गीत प्रिय बनेको उनी स्वीकार्छन्। 'सायद त्यसबेलाको पञ्चायतको दमन, लोकतन्त्रको चाहना, शोषण, अन्याय र अत्याचारको अनुभव, भोगाइका कारण पनि मेरा गीत जनतालाई मनपरेका हुन्', विजय भन्छन्।

०४८ सालमा र ०५६ सालमा उनी आफ्नै गृहजिल्ला तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद बने। यी दुवै निर्वाचनका समयमा उनले उम्मेदवारका रूपमा भाषण मात्र गरेनन्। भाषण भन्दा बढी गीत गाए। जनताका गीतले जनताको मन जिते र अन्तत: चुनाव पनि!

पछि मदन भण्डारीले उनका धेरै गीत गुनगुनाउन थाले। मदन भण्डारी, प्रदीप नेपाललगायतले उनलाई भूमिगत जान पनि भने, तर घरपरिवार, जागिर आदिका कारण उनले भूमिगत राजनीतिको आँट गरेनन्। यद्यपि, पार्टीका काम र जिम्मेवारीलाई कहिल्यै नकारेनन्। उनका अग्रजहरूलाई पनि उनले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्न सुझाएका थिए रे, तर आफ्नो काम राजनीति गर्ने नभएर सङ्गीतमै समर्पित रहने भन्ने उनीहरूको जवाफ आएपछि उनी आफूचाहिँ गायनसँगै पार्टीका विभिन्न फाँटमा पनि सक्रिय बन्न थाले। त्यसको उपलब्धि नै हो सायद, उनी ०४६ को परिवर्तनपछि २ पटक सांसद भइसकेका छन्। ०४८ सालमा र ०५६ सालमा उनी आफ्नै गृहजिल्ला तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद बने। यी दुवै निर्वाचनका समयमा उनले उम्मेदवारका रूपमा भाषण मात्र गरेनन्। भाषण भन्दा बढी गीत गाए। जनताका गीतले जनताको मन जिते र अन्तत: चुनाव पनि!

२ पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भए पनि उनी मन्त्री बन्न पाएनन्। आफ्नै भेगका आफ्नै पार्टीका साथीहरूले उनलाई मन्त्री बन्न दिएनन् रे! 'मन्त्रीका लागि सिफारिस भएको थियो', विजय भन्छन्, 'तर साथीहरूले विजय त गाउने मान्छे पो हो त, कहाँ मन्त्री बनाउनु भन्नुभएछ।' यस घटनाबाट उनलाई लाग्यो, वास्तवमा कवि, लेखक, साहित्यकार, गायकको सम्मान गर्न जान्दैनन् राज्यले र राजनीतिक दलहरूले।

गीत सङ्गीतबाट सक्रिय राजनीतिमा प्रवेश गरेका विजय देशका निम्ति राजनीति प्रमुख कुरा भएको ठान्छन्। तर साहित्य र सङ्गीत असल राजनीतिका लागि सहायक हुन् भन्ने उनको बुझाइ छ। 'संसारका महान् नेताले साहित्य र सङ्गीतको महत्त्व बुझे', विजय भन्छन्, 'तर हामीकहाँ यसको शक्ति र महत्ता बुझ्ने नेतृत्व पाइएन।' चीनियाँ क्रान्ति होस् वा हाम्रै विगतका राजनीतिक आन्दोलन र परिवर्तनमा किन नहोस्, साहित्य र सङ्गीतले खेलेको भूमिका अतुलनीय ठान्छन् विजय। आमजनतालाई आन्दोलन, परिवर्तनका लागि उत्प्रेरित गर्ने एउटा महत्त्वपूर्ण र प्रभावकारी साधन पनि ठान्छन् साहित्य र सङ्गीतलाई उनी। यद्यपि, हरेक राजनीतिक परिवर्तनपछि साहित्य र सङ्गीतको क्षेत्र उपेक्षित बनेकामा उनको चिन्ता छ। आवश्यक पर्दा प्रयोग मात्र गर्ने काम भएको ठान्छन् उनी साहित्य र सङ्गीतको। कला, साहित्य, सङ्गीतको विकास र बिस्तारमा राज्यले गर्नुपर्ने जति लगानी गर्न नसकेको उनको धारणा छ। गाउँगाउँमा रहेका कलाकार प्रतिभालाई प्रोत्साहन गर्ने, राम्रा कलाकारलाई राज्यले दिनुपर्ने सेवा सुविधा र सहुलियत दिनेलगायतका काम राज्यले गर्न सक्छ, तर त्यो गरेको छैन भन्ने उनको बुझाइ गलत पनि नहोला।

०४८ सालमा प्रतिनिधिसभा सदस्य जित्नुअघिसम्म उनको गायन सक्रियता उत्तिकै थियो। सांसद बनेपछि भने उनको राजनीतिक जिम्मेवारी र देश र जनताप्रतिको दायित्व बढेर गयो। यसै कारण उनको गायनमा क्रियाशीलता घट्दै गयो। यद्यपि, उनीभित्रको गायकी अझै मरेको छैन, अझै उसरी नै गाउने इच्छा जीवित छ। जनताका घरदैलोमा पुगेर, गाउँगाउँमा गएर जनताका गीत गाउने रहर उनमा अझै मरेको छैन।

 

(जनवादी गायक/गीतकार, कवि तथा गजलकार डा. विजय सुब्बासँगको कुराकानीमा आधारित ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.