|

भीमफेद : एकबहादुर राना १११ वर्षका भए। उनी मकवानपुरको भीमफेदी गाउँपालिका–४, भित्रिरानी खोलामा बस्छन्। करिब १५ वर्षदेखि भतिज (भाइका छोरा)सँगै बस्दै आएका राना अझै सजिलै गाउँघरमा हिँड्छन्। कान कम सुन्छन्, तर आँखा भने प्रष्ट देख्छन्। बोल्न भने सक्दैनन्। 

भतिजसँग बस्नुअघि भीमफेदी गाउँपालिका–६ स्थित ठडाघारीमा एकबहादुर एक्लै बस्थे। एकबहादुरका परिवारमा कोही छैनन्। दुई विवाह गरे उनको छोराछोरी भने भएनन्। दुवै पत्नी बितिसके। ‘पहिला एक्लै बस्नुहुन्थयो,’ भतिज रत्नबहादुरले भने, ‘बिरामी पर्न थालेपछि हामीसँगै राखेका हौं।’ उनको चार दाजुभाइमा दुई जना मात्र छन्। चार बहिनीमा सबै वितिसके। एकबहादुर जेठो हुन्। उनका माइला भाइ पनि १०० वर्ष पूरा भइसकेका छन्। भाइ भने माइलो भने उनी जति तगडा छैनन्।

‘कहिले रिसाउनु हुन्न। आफूलाई के चाहियो त्यो माग्नु हुन्छ,’ भतिज रत्नबहादुरले भने, ‘पहिलो बोलेको बुझिन्थो, अहिले बुभिन्न। तर, हामी इसाराबाट सवै बुझ्छौं।’ रत्नबहादुरका अनुसार एकबहादुर आफ्नो खानामा असाध्यै धेरै ध्यान दिन्छन्। चिल्लो र पिरो खाँदैनन्। सधै तातो पानी पिउँछनज्। ‘चिल्लो हाल्यो भने थाहा पाइहाल्नुहुन्छ,’ रत्नबहादुरले भने, ‘हामीले खाना दिँदा एकदम ध्यान दिने गरेका छौं।’

रत्नबहादुरले आफु सानो उमेरको हुँदा १९९० सालको भूकम्पको विषयमा बडाबाले भनेको विभिन्न कुराहरु अझै सम्झिएको बताउँछन्। ‘हामीलाई भूकम्पले घर भत्केको र बनाएको सबै भन्नुहुन्थ्यो,’ उनले भने, ‘पहिलो खेती गरेर र सिकार गरेर खाने गरेको कहानी समेत हामीले धेरै पटक सुनिसकेका छौं।’ 

बेलुका छिट्टै सुतेर बिहान सबेरै उठ्ने एकबहादुर बानी छ। ‘उहाँ उठेसँगै हामी उठ्छौं,’ रत्नबहादुरले भने, ‘उहाँ तातो पानी पिउनु हुन्छ। हामी जहाँ गए पनि उहाँलाई कुर्न एकजना घरमै बस्छौं।’

समय समयमा कपला र दाह्री काटिदिनु पर्ने र नुहाइदिनुपर्ने उनले बताए। ‘गर्मी महिनामा कपला र दाह्री काट्न सजिलै मान्छन्। तर, जाडो महिनामा दाह्रो मात्रै काट्नु नमान्ने रत्नबहादुरले बताए। उनले भने, ‘बिरामी हुन्छ भनेर कपाल काट्न मान्नु हुन्न।’

बिरामी हुँदा घरमै औषधि ल्याएर खुवाउने गरिएको छ। सडक राम्रो नभएकाले अस्पताल लैजान ल्याउन समस्या भएको रत्नबहादुरको भनाइ छ। रत्नबहादुरका अनुसार डाक्टरले सिफारिस गरेको विश्वास दिलाएपछि मात्र एकबहादुरले भिटामिन र औषधि खाने गरेका छन्। 

हालसम्म उनको उपचारका लागि सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबाट नै पुगिरहेको छ। ‘उमेर अनुसार हुने बिरामी मात्र हो। नत्र खासै ठूलो समस्या देखिएको छैन।’ रत्नबहादुरले भने, ‘हामीलाई पनि उहाँको आशिर्वाद लिएर हिँड्न पाउँदा खुशी मिल्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.