सगरमाथाको आधार शिविर पुग्‍न २ दिन

|

सोलुखुम्बु : सगरमाथाको उचाइ नाप्न  हिँडेको सरकारी समूह सोलुखुम्बुको दिङ्बोचे पुगेको छ। चैत्र २७ गते बुधबार काठमाडौबाट हिडेको सो टोली मंगलबार खुम्बुपासाङल्हामु गाउँपालिका चार को दिङ्बोचे पुगेको हो।नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ। सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापि अधिकृत सुशील डङ्गोलले जानकारी दिए।

टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी बिमानस्थल हुदै बुधबार लबुचे पुग्ने छन्। उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ।

उक्त टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताईएको छ। नापी विभागका सुचाना अधिकारी दामोदर ढकालका अनुसार टोलिमा रहेका दुई जना सगरमाथा आधार शिविरमा बसेर समन्वय गर्ने र दुई जना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन्।

टोलीलाई प्रधानमन्त्रि केपी शर्मा ओलीले काठमाडौंमा एक कार्यक्रमका बीच चैत २७ गते बुधबार बिदाई गरेका थिए। सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सन् २०१९ मा सम्पन्न गरि आधिकारीक उचाई सार्वजनिक गरिने नापी विभागले जनाएको छ।

नापी विभागले अहिले सम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ। यो काम सकिए सँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलको भनाई छ।

कतिपटक नापियो सगरमाथाको उचाइ?

विश्वको सर्वोच्च शिखर भएकाले सगरमाथालाई संसारलेनै चासोका साथ हेरेको छ। यसको आधिकारीक उचाई मापनको काम भारत, अमेरिका लगाएतको विभिन्न राष्ट्रले गरे पनि फरक फरक रिपोर्ट सर्वाजानिक भएका छन्।

नापी विभागका अनुसार सन् १८५२ मा पहिलोपटक ब्रिटिसहरुले सगरमाथाको उचाई नापेका थिए। नेपालमा नआई सर्भे अफ इन्डियाबाट नापेका ब्रिटिसहरुले आठ हजार आठ सय ४० मिटर उचाईको हिमाल रहेको बताएका थिए।

त्यसपछि ब्रिटिसहरुले नै सन् १९०४ मा पुन नापेको बताइन्छ। सन् १९५४ मा भारतीय नापी विभागको टोलीले ८,८४८ मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेको थियो। तर सन् १९९९ मा  अमेरिकी टोलीले सगरमाथाको उचाई ८,८५० मिटर रहेको दावी गरेको थियो।

यस्तै नर्वे, अमेरिका र चिनियाँ संस्थाहरुले पनि सगरमाथाको उचाई नापेको बताइन्छ। उनीहरुले नाप्दा फरक फरक समयमा फरक फरक रिपोर्ट सार्वजानिक गरेका थिए।

यद्यपि नेपालले भने अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ। अब नेपाली टोलिले यसको उचाई मापन गरि नेपाल सरकारकारलाई बुझाएको प्रतिवेदननै आधिकारीक हुने बताइएको छ।

सगरमाथाको आधार शिविर पुग्‍न २ दिन

दिङ्बोचेबाट आधारशिविर पुग्नको लागिमात्र तीन क्याम्प मानिन्छ। दिङ्बोचे बसेको पर्यटक भोलिपल्ट करिब चार हजार ३४९ मिटर उचाईमा रहेको लबुचे पुगेर बस्छ। यस्तै करिब पाँच हजार एक सय मिटर उचाईमा रहेको गोरप्सेप पुगेर बसेको पर्यटक अर्को दिन सगरमाथा आधारशिविर पुग्ने पदप्रदर्शक चुडामणि केसी बताउँछन्।

आधारशिविरबाट सगरमाथा पुग्न चार क्याम्प पूरा गर्नुपर्छ। तर चार क्याम्प पूरा गर्नको लागि एकैपटक संभव नहुने आरोही बताउँछन्। पटक पटक क्याम्प १ पुग्ने, पुनः आधारशिविर झर्ने, पुनः क्याम्प २ पुग्ने आधारशिविर झर्ने काम पटकपटक गर्दै चुचुरोमा पुग्न सकिने २२ औँ पटक सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमानी कायम गरेका सफल आरोही कामीरिता शेर्पाले बताए। शेर्पाले भने, 'जति माथि गयो त्यति गाह्रो हुन्छ, त्यसैले सरासर जान सम्‍भव हुँदैन त्यहाँको वातावरणसँग घुलमिल हुँदै जानुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.