|

काठमाडौं : नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) पहिलोपटक अन्तरिक्षमा आज प्रक्षेपण गरिने भएको छ। जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका नेपाली विद्यार्थीले तयार गरेको स्याटेलाइट आज प्रक्षेपण गर्न लागिएको हो। स्याटेलाइट आज राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जनाएको छ।

यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ। अमेरिकाको भर्जिनियामा रहेको वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट पनि प्रक्षेपण गर्न सबै तयारी सकिएको छ। यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नास्टले जनाएको छ। स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले भू उपग्रह तयार गरेका हुन्।

स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको  छ। सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नाष्टको लोगोसहित विद्यार्थीहरुको नाम पनि उल्लेख छ। स्याटेलाइटको तौल एक किलो तीन सय ग्राम रहेको छ। यसमा  नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ। प्रक्षेपणका  लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिकेलाई स्याटेलाइट हस्तान्तरण भइसकेको छ। नेपाली स्याट वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ। दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउने नास्टले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.