|

भद्रपुर (झापा) : हावाहुरीले झापामा नेपाल विद्युत प्राधिकरणको २२ लाखभन्दा बढीको क्षति पुर्‍याएको छ। नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका अनुसार भद्रपुर वितरण केन्द्रअन्तर्गत मेचीनगर, वुद्धशान्ति, भद्रपुर, हल्दिबारी, कचनकवलमा हावाहुरीले विद्युतीय पोल र ट्रान्सर्फमरमा क्षति पुर्‍याएको केन्द्र प्रमुख रामउदगर साहले बताए।

गत मंगलबार गएको हावाहुरीले सिमेन्ट र काठको गरी ४५ वटा पोल लडाएको थियो। केन्द्रका अनुसार भद्रपुरमा १३, हल्दिबारीमा ७, मेचीनगरमा ७, कचनकवलमा ११ केभीको एउटा र वुद्धशान्तिमा ११ केभीको तीन वटा विद्युतीय पोल लडेका थिए। 

यस्तै, गत चैत ३० मा गएको हावाहुरीले समेत क्षति पुर्याएको छ। उक्त हावाहुरीले वुद्धशान्तिमा ३३ केभीको एउटा, ११ केभीको ८ र सडकका १० वटा पोल गरी १९ वटा पोल लडाएका थिए। भद्रपुरका अस्पताल चोकमा रहेको २०० केभीको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएको केन्द्रले जनाएको छ।

‘गत वर्षभन्दा यस वर्ष हावाहुरीले बढी क्षति पुर्याएको छ,’ केन्द्र प्रमुख साहले भने, ‘अझै हावाहुरी आउने सिजन बाँकी रहेकाले थप क्षति पुर्याउने सक्ने देखिन्छ।’

वितरण केन्द्रअन्तर्गत सडकमा ११ सयभन्दा बढी काठको विद्युतीय पोल रहेको छ। चालु आर्थिक वर्षमा १०० र गत वर्ष १५० काठको पोल हटाएर सिमेन्टको पोल लगाइसकिएको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.