|

भद्रपुर, (झापा) : जसोत्यसो आफैँले जोडेको १२ धुर जमिन। जमिनमा एउटा सानो फुसको छाप्रो। घर पुग्ने सडक छैन, खेतको आलीबाट हिँडडुल गर्नुपर्छ। हावाहुरीले छाप्रो उडाउने त्रास। बर्खायाममा पानी चुहिने समस्या। जाडोको त कुरै छाडिदिउँ। यस्तो छाप्रोमा जीवन बिताउँदै छन् राजवंशी दम्पती।

भद्रपुर नगरपालिका ९ स्थित पोकापाडा बस्ने प्रेमलाल राजवंशी (६९) र मालती राजवंशी (६५) ले कहिले सपनामा पनि सोचेका थिएनन् कि बुढेसकालमा यी सब पीडा भुलाउन ट्रस्टसहितको पक्की घरमा बस्न पाउलान् भनी। राजवंशी दम्पती सन्तानविहीन हुन्। 

छोराछोरी नभएको पीडा बुढेसकालमा उनीहरू भन्दा बढी कसलाई थाहा होला र? घर गाउँमा डुलेर केरा बेच्दै आएका प्रेमलाल अहिले काम गर्न नसकेर घरमै थला परेर बसेका छन्। एकवर्ष नपुगेकोले प्रेमलालले सरकारले दिने सुविधा अर्थात् वृद्ध भत्ता पनि पाएका छैन। श्रीमति मालतीले वृद्ध भत्ता पाइरहेकी छिन। मालतीले गाउँ छिमेकमा सामान्य मजदुरी गरी जुटाएको रकम र वृद्ध भत्ताले जसोत्यसो श्रीमानसँगै जीवन चलाउँदै छिन्। अति विपन्न राजवंशी दम्पतिको जीवनस्तर देखेर भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले ट्रस्टसहितको पक्की घर निर्माण गरिदिँदै छ। 

घर निर्माण कार्य अन्तिम चरणमा पुग्यो। वन समितिले घर निर्माण कार्यको थालनी गरेसँगै राजवंशी दम्पती दंग परेका छन्। उनीहरूमा खुसीको सीमा छैन। ‘दुःख सुःख जमिन जोडेर एउटा फुसको छाप्रो बनाएका थियौ, प्रेमलालले पीडा सुनाउँदै भने,‘फुसको घरमा बस्दा हावाहुरीले उडाउन डर, वर्खायाममा पानी चुहिने, जाडोमा एकदमै सताउँछ’ उनले भने,'आफ्नो त छोराछोरी पनि छैन। बुढाबुढीलाई दैनिक मुख जोड्न पनि समस्या छ। वनले निःशुल्क पक्की घर बनाइदिँदा यो भन्दा भाग्यमानी अरु को हुन सक्छ र?' 

राजवंशी दम्पत्तीसँगै वन समितिले आफ्नो उपभोत्ता भित्रका अति विपन्न अरू पाँच घरपरिवारलाई समेत निःशुल्क ट्रस्टसहितको पक्की घर निर्माण गरी दिँदैछ।समितिले सामाजिक उत्तरदायित्व अन्तर्गतको गरिवी निवारण कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका ९ का दुर्गा कार्की, गुमानी राजवंशी, निरौलासरी राजवंशी र वडा नम्बर १० की पार्वती चौहान,लटखटु राजवंशीलाई तीने कोठे पक्की घर बनाइ दिन लागेको समितिका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए।

सरकारले झापामा जनता आवास कार्यक्रम शुरु गरिसकेको अवस्था छ। तर यी घरपरिवार सरकारको प्रथामिकतामा परेन। न त स्थानीय तहले चासो देखायो न त जनप्रतिनिधिले ध्यान पुर्‍याए। कस्तो बिडम्वाना वन समिति आफै विपिन्न परिवारको घरमा निर्माण जुटेको अवस्था। ‘तीन वटा घरको काम अन्तिम चरण पुगेको छ’, उनले भने, ‘अबको केही दिन अरू तीनवटा घर निर्माण हुन्छ।’

प्रतिपक्की घर निर्माणका लागि ३ लाख १५ हजार रुपैयाँ खर्च हुन्छ। ‘समितिले चर्पीसहित घरमा चाहिने आवश्यक काठ पनि उपल्बध गराउँछ', उनले भने। त्यसैगरी समितिले यसअघि विपन्न घरपरिवारलाई निशुल्क रुपमा हलो, खाट, झुल वितरण गरिसकेको छ। साथै सामुहिक रुपमा तरकारी खेती गर्ने कृषकलाई नगद अनुदान दिइसकेको छ। वेमौसमी तरकारीको लागि ट्रनेल समेत निःशुल्क रुपमा वितरण गरिरहेको समितिका अध्यक्ष हिरा पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.