|

काठमाडौं :  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद पनि व्यावहारिक नभएको दाबीसमेत गरेका छन्।

सोमबार ललितपुरमा एक कार्यक्रमका बीच डा. रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’सम्बन्धी पुस्तकको विमोचन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गरेर संघीयता कार्यान्वयनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

संयोजक भट्टराईले वित्तीय संघीयता र प्राकृतिक स्रोत, साधनको बाँडफाँडसम्बन्धी विवाद नेपालको संघीयता कार्यान्वयनको विवादको मूलविषय रहेकाले सो विवाद निरूपणका लागि व्यापक बहसको जरुरी रहेको पनि स्पष्ट पारे।

यस्तै, कार्यक्रममा बोल्दै पूर्वसभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

उनले सबै प्रदेशको समुचित विकास गरेर एकीकृत राष्ट्रिय भावनाको विकास गर्नु नेपालको संघीयताको मूलचुरो भएको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाब दिएका छन्। पुस्तकमा संविधानबमोजिम नेपालको संघीयतामा प्रदेश सरकारको भूमिका सशक्त हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ। प्रदेश सरकार नै संघीयतामा जनअपेक्षा पूरा गर्ने सरकार भए पनि सोही अनुसारको अधिकार प्रत्यायोजन हुन नसकेको पुस्तकका लेखक शर्माको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.