|

उदयपुर : प्रदेश १ बाट २०५ वटा हतियार संकलन भएको छ। नेपाल सरकारको २०७५ चैत १ को निर्णयअनुसार प्रदेशका विभिन्न जिल्लाहरुबाट उक्त परिणामको हतियार संकलन भएको हो।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरका प्रहरी प्रवक्ता तथा सूचना समन्वय अधिकारी प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपाने नेपाल प्रहरीले संकलन गरेका हातहतियारमध्ये १३० वटा सर्वसाधारणहरुले प्रहरीलाई बुझाएको जानकारी दिए। ‘७५ वटा विभिन्न स्थानहरुबाट बरामद गरिएको हो,’ उनले भने, ‘नेपाल सरकारको चैत १ को निर्णयले ३५ दिनभित्र आफुसँग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आह्वान गरिएको थियो।’

सर्वसाधारणहरुले बुझाएका हातहतियारमध्ये अधिकांश भरुवा बन्दुक रहेका छन्। बुझाएका हातहतियारमध्ये ९५ वटा वैध छन् भने बाँकी ३५ वटा नवीकरण तथा दर्ता नगरिएको पाइएको प्रहरीको भनाइ छ।

संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियारमध्ये सबैभन्दा बढी १६७ वटा भरुवा बन्दुक रहेका छन्। यसैगरी एक नाले टोटा १३ वटा, म्यागनम एक थान, दुई नाले टोटा चार थान नाल, जोरनाले बन्दुक ६ थान, दुई नाले ब्रिज लोडिङ एक थान, एयरगन एक थान, सर्ट गन एक थान, सानो चाइनिज पेस्तोल दुई थान र नौ थान नाल मात्र रहेको प्रहरीले जनाएको छ। 

प्रदेशमा सबैभन्दा बढी ताप्लेजुङमा हातहतियार संकलन भएको छ। यहाँ ३८ जनाले लाइसेन्स प्राप्त हातहतियार बुझाएका छन् भने ७४ थान वेबारिसे हतियार फेला परेका बताइएको छ। यसैगरी पाँचथरमा ३५ थान, तेह्रथुममा २८ थान, मोरङमा १५ थान, इलाममा ११ थान र भोजपुरमा २ थान हतियार संलकन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

वैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच वर्षमा जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ। उक्त अवधिमा नवीकरण नभएमा स्वतः अवैध हुने कानुनी प्रावधान भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.