विचार

सनातन परम्परामा खानपान
SHARES

बैशाख १०, २०७६

    अत्याधुनिक भनिएको एक्काइसौं शताब्दीमा खानपानसम्बन्धी सनातन परम्परा कतिपयलाई अव्यावहारिक लाग्न सक्छ। त्यसैले सनातन शास्त्रमा भएका खानपानसबन्धी व्यवस्थाको मर्म नबुझी त्यसको आलोचना गर्ने गरिएको पाइन्छ। ‘जस्तो अन्न त्यस्तै मन’ भन्ने उक्तिलाई आत्मसात गर्दै सनातन शास्त्रमा खानपानसम्बन्धी नियम चलेको पाइन्छ, तिनको तत्व बुझ्ने हो भने वैज्ञानिक र आज पनि उत्तिकै सान्दर्भिक पाउन सकिन्छ। तत्त्वदर्शी ऋषि महर्षिहरूको सयौँ वर्षको खोजपछि कुन, कस्ता पदार्थ र किन खाने भन्ने विषयको निष्कर्ष निस्किएको हो। 

    कतिपय वस्तुको सेवनबाट इन्द्रियहरू उत्तेजित भई जीवनप्रतिको सन्तुलित दृष्टिकोण उदाउन नसक्ने र उदाएको पनि हराउने हुन्छ। यस्तै भोजनकै माध्यमबाट मानिसमा आध्यात्मिक चिन्तन हराई भौतिकवादी विचार मात्रै प्रबल हुने भएकाले भक्ष्याभक्ष्य (खान हुने र नहुने वस्तु) को नियम बाँधेको बुझिन्छ। यसैगरी खानाको सम्बन्ध स्वास्थ्यसँग जोडिएकाले स्वास्थ्य अनुकुल भएमात्र सन्तुलित जीवनयात्रा चल्छ। मानिसलाई धेरैजसो रोग खानाकै माध्यमबाट लागेको पाइन्छ । अनियन्त्रित खानपानका कारण बोसो र मासु वृद्धि भई विभिन्न रोग लाग्छ। क्यान्सर, मधुमेह र उच्च रक्तचापलगायतका रोग अनियन्त्रित खानपानकै परिणाम मानिएका छन्। खानपानका क्रममा सरसफाइको ध्यान नदिएरै पनि कतिपयको ज्यान जान्छ। 

    कतिपय वस्तुको सेवनबाट इन्द्रियहरू उत्तेजित भई जीवनप्रतिको सन्तुलित दृष्टिकोण उदाउन नसक्ने र उदाएको पनि हराउने हुन्छ। यस्तै भोजनकै माध्यमबाट मानिसमा आध्यात्मिक चिन्तन हराई भौतिकवादी विचार मात्रै प्रबल हुने भएकाले भक्ष्याभक्ष्य (खान हुने र नहुने वस्तु) को नियम बाँधेको बुझिन्छ। यसैगरी खानाको सम्बन्ध स्वास्थ्यसँग जोडिएकाले स्वास्थ्य अनुकुल भएमात्र सन्तुलित जीवनयात्रा चल्छ।

    भोजनको प्रकृति (वस्तु र अन्न प्राप्त भएको स्रोत), दिने व्यक्ति, भोजन बनेको समय, भोजनको गुण, भोजनको पवित्रता (सफासुग्घर) आदि विभिन्न पक्षलाई विचार गर्दै खान हुने वा नहुने वस्तुको निर्धारण गरिएको छ। शास्त्रमा जातिदुष्ट अभक्ष्य, क्रियादुष्ट अभक्ष्य, असूचिस्पर्शदुष्ट अभक्ष्य, भावदुष्ट अभक्ष्य कालदुष्ट अभक्ष्य, गुणदुष्ट अभक्ष्य, क्रियादुष्ट अभक्ष्य र परिग्रहदुष्ट अभक्ष्यजस्ता खान नमिल्ने भोजनको प्रकार बताइएको छ। खाँदा पनि काम, क्रोध, लोभ आदि भावना छोडेर मौन रहनुपर्ने बताइएको छ।

    खानपानको कुरा गर्दा अझैपनि कतिपय ब्राह्मण समाजमा लशुन–प्याज–छ्यापी, कुखुरा, सुँगुर, जाँड रक्सीजस्ता पदार्थ नखाने चलन छ। वर्णव्यवस्थाअनुसार ब्राह्मणले अध्ययन–अध्यापन गर्ने, चिन्तनमनन गर्ने जस्ता बौद्धिक कार्य गर्नुपर्ने भएकाले यसप्रकारका खानपान बर्जित भएको बुझ्न सकिन्छ। आधुनिक दृष्टिले हेर्ने हो भने पनि यस्ता पदार्थले उत्तेजना बढाउने हुनाले यी पदार्थबाट टाढा रही सात्विक मानिएका पदार्थ खाने परम्परा बसाइएको हो।

    बुद्धि प्रयोग गर्नेहरूका लागि सात्विक पदार्थ नै उपयुक्त मानिन्छ। मानिसले अनुभव गरेकै कुरा हो दूध वा दूधजन्य पदार्थ खाँदा मनमा उत्पन्न हुने भाव र जाँड रक्सीजस्ता पदार्थ खाँदा भाव फरक–फरक हुन्छन्। विज्ञानले पनि लसुन–छ्यापी जस्ता पदार्थ उत्तेजना जगाउने पदार्थ मानेको छ।  यस्तै बल प्रयोग गर्नुपर्नेहरूका लागि राजसी प्रकारका खानपान उपयुक्त हुनसक्छन्। युद्ध आदि कार्यमा संलग्न हुनेहरूका लागि उत्तेजना आउने किसिमका खानेकुरा ग्राह्य नै हुने भयो। वैश्यहरूले व्यापार व्यवसाय, कृषि जस्ता काममा लाग्ने भएकाले त्यहीअनुसारको खानपानको व्यवस्था रहेको पाइन्छ। मनमौजी प्रकृति भएकाहरूका लागि तामसी पदार्थहरू उपयुक्त हुन्छन्।

    खानपानको विषयमा श्रीमद्भागवत गीताको १७ औं अध्यायमा भोजनको प्रकृति र भोजनअनुसार मानिसको स्वभाव बताइएको छ। आयु, सत्वगुण, बल, आरोग्य र मनमा प्रसन्नता बढाउने सात्विक प्रकृतिको भोजन मानिएको छ। अति नुन वा चिनी भएको, तिख्खर, अमिलो, पीरो ज्यादा भएको भोजनलाई राजसी मानिएको छ। रसरहित, बासी, दुर्घन्धित र लागू पदार्थहरू तामसी कोटीमा पर्दछ। सात्विक भोजनबाट मात्र सात्विक विचार उत्पन्न हुने गीताको सार छ।

    शास्त्रमा खानपानसम्बन्धी विभिन्न नियम पाइन्छन्। अरुलाई दुःख पीडा नदिई सत्कार्यबाट कमाएको धनबाट अन्न ल्याउने र त्यसलाई तयार पार्दा पनि शुद्धतामा ध्यान दिनुपर्ने बताइएको छ। यसरी तयार भएको देवता, पितृदेवतालाई अर्पण गर्ने विधान छ। ब्राह्मणलगायत सत्पात्र, अतिथि, दुःखी, गरिबलगायतलाई भोजन गराएर आफूले ग्रहण गर्ने कार्यको प्रशंसा गरिएको छ। यस्तै पौराणिक ग्रन्थमा आफूले खानुअघि कुकुर, कागजस्ता पशुपक्षीलाइ पनि खुवाउने विधान छ। खान बसिसकेपछि अन्न मीठो नमीठो जस्तो भए पनि निन्दा गर्न नहुने प्रशंसा गरेर खानुपर्ने बताइएको छ। सत्कारपूर्वक दिइएको र प्रसन्नतापूर्वक खाइएको भोजनले दीर्घायु बनाउने मान्यता छ।

    खानपानको विषयमा श्रीमद्भागवत गीताको १७औँ अध्यायमा भोजनको प्रकृति र भोजनअनुसार मानिसको स्वभाव बताइएको छ। आयु, सत्वगुण, बल, आरोग्य र मनमा प्रसन्नता बढाउने सात्विक प्रकृतिको भोजन मानिएको छ। अति नुन वा चिनी भएको, तिख्खर, अमिलो, पीरो ज्यादा भएको भोजनलाई राजसी मानिएको छ।

    सन्ध्याकाल र मध्याह्न अध्याँरो स्थलमा भोजन गर्न नहुने निर्देश छ। कोलाहलमा भोजन गर्न नहुने, एकान्तमा गर्नुपर्ने बताइएको छ। धेरै कपडा लगाएर, टोपी र जुत्ता लगाएर र टुटेफुटेको भाँडामा पनि भोजन गर्नु हुँदैन। भोजन गर्नुअघि शारीरिक शुद्धतामा ध्यान दिनुपर्ने, हातगोडा धुनैपर्ने, विशेषगरी गोडा चिसै पार्नुपर्ने विधि बताइएको छ। शास्त्रमा धेरै खानुलाई पनि राम्रो मानिएको छैन। आफ्नो शरीर हेरेर अल्पाहारी हुनु स्वास्थ्यका लागि फलदायक मानिएको छ। बिहानको टन्न खाए पनि विशेषगरी बेलुकी थोरै भोजन गर्नुपर्ने बताइएको छ।  

    कतिपय सन्दर्भमा खाद्यपदार्थ विशेषमात्र नभई शास्त्रले व्यक्तिविशेषका अन्नलाई समेत वर्जित गरेको छ। अपराध कर्मबाट आर्जित भएको अन्नबाट बनेको भोजनबाट मानिसको चित्त पनि त्यही प्रकृतिको हुने हुनाले यस्ताको भोजन निषेध गरिएको छ। मानिसको पाप अन्नमा रहने भएकाले जसले अन्न खान्छ उसले गरेको पापको भागीदार पनि बन्ने आंगिरस स्मृतिमा बताइएको छ। 

    अन्नको शुद्धताको विषयमा महाभारतमा एउटा प्रसंग आउँछ। महाभारत युद्ध समाप्ति भएसँगै पितामह भीष्म धर्मराज युद्धिष्ठिरलगायत नाति, नातिनीबुहारी आदिलाई ज्ञानका उपदेश गरिरहेका हुन्छन्। पितामहका ज्ञानका उपदेश सुनेर पाण्डवपत्नी द्रौपदी मन्द मन्द मुस्कुराउँछिन्। राजसभामा आफू निर्वस्त्र हुन लाग्दा समेत रोक्न नसकेको आफूले अहिले ज्ञानको उपदेश दिएकोप्रति द्रौपदीको मुस्कान लक्षित भएको भीष्मजस्ता तत्त्वज्ञानीले नबुझ्ने कुरो थिएन। ‘त्यतिखेर मैले दुर्योधनको अन्न खाएको थिएँ एकातिर जसको अन्न खाएको छ उसको पक्ष लिनु स्वाभाविकै थियो।’ शरशय्यामा रहेका भीष्मको जवाफ थियो, ‘अर्कोतिर दुर्योधनजस्ताको अन्न खाएकाले त्यतिबेला यसलाई रोक्नसक्ने हैसियत ममा थिएन।’ 

    महाभारतको यो प्रसंगबाट पनि सनातन शास्त्रमा खानपानलाई पेट भर्ने कार्यको रूपमा मात्र नलिई शरीररक्षा र आध्यात्मिक चिन्तनसँग पनि जोडिएको पाइन्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]