|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि अझै चार खर्ब भन्दा धेरै रकम थप आवश्यक पर्ने जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै चार खर्ब २९ अर्ब रुपैयाँ थप आवश्यक पर्ने अनुमान गरिएको जानकारी गराए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार आवश्यक गर्ने बजेट परिमार्जनसहित दातृ निकाय र संस्थासँग थप रकम माग गर्ने तयारी भइरहेको जानकारी दिए।

त्यसका लागि प्राधिकरणले अर्थ मन्त्रालय र दातृ निकायहरूमा छलफल गरिरहेको तथा आवश्यक पर्ने अनुमानीत रकमको आकलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको पनि जनाएको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले थप बजेटका लागि विश्व बैंकसँग ५०० मिलियन अमेरिकी डलर सम्झौता भइसकेको र थप ५०० मिलियन अमेरिकी डलर उलब्ध गराउन पनि सो बैंक सकारात्मक रहेको जानकारी दिए।

सरकारले यसअघि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि नौ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकोमा त्यसलाई परिमार्जन गरेर सात खर्ब ३७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। यो पहिले अनुमान गरेको भन्दा दुई खर्ब एक अर्ब रुपैयाँ कम हो।

दाता सम्मेलनमा दातृ निकायहरूबाट चार खर्ब १० अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा ३७ अर्ब रुपैयाँ रहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको छ। त्यस्तै, पुननिर्माणका लागि तीन खर्ब ४३ अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा जम्मा दुई खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत अर्थात छ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रकियामा रहेको जानकारी दिए। सरकारले सात लाख ६२ हजार ३०७ घरपरिवारसँग अनुदान सम्झौता गरेको थियो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता भएको मध्ये ५० प्रतिशत अर्थात तीन लाख ८२ हजार २७७ घरपरिवारले घर निर्माण सम्पन्न गरेको तथा ३० प्रतिशत अर्थात दुई लाख ३० हजार ६०५ परिवार घर निर्माणको क्रममा रहेको पनि बताए।

प्राधिकरणले हालसम्म तीन खर्ब ८७ अर्ब रुपैयाँ पुननिर्माणमा खर्च गरिसकेको पनि स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.