रसुवा : अवैध रूपमा लुकाइछिपाइ चीनको केरुङबाट नेपाल ल्याइएको ७ किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कन्टेनर चालक तथा गाडी साहु जिल्लाको नौकुण्ड गाउँपालिका १ यार्साका ३० वर्षीय शेर ग्याल्बो घले रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।
चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको ना ६ ख ९०६८ नम्बरको कन्टेनरमा लुकाइछिपाई सुन ल्याउँदैछ भन्ने विशेष सुराकीका आधारमा चेकजाँच गर्दा क्याबिनबाट सुन बरामत भएको भण्डारीले बताए। 'विशेष सुराकीको आधारमा कन्टेनरको क्याबिनबाट सुन बरामत गरेका छौँ, थप अनुसन्धान भइरहेको छ,' उनले भने।
सुन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका २ टिमुरेस्थित घट्टेखोलाबाट मंगलबार अपरान्ह ४ बजे बरामत गरेको हो। अवैध सुन ओसारपसारमा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने हुँदा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए।
पक्राउ परेका घलेलाई कन्टेनरसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद भएको सुनको बजार मूल्य करिब तीन करोड ५८ लाख रुपैयाँ रहेको बताइएको छ। बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक तामाङले बताए।
पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द गरेर चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सुन तस्करी बढ्दै गएको छ। जसले गर्दा पछिल्लो समय रसुवागढी नाका सुन तस्करीको ट्रान्जिट पोइन्ड बन्दै गएको छ। तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले नियमनमा कडाई गरे पनि दैनिक जसो नै रसुवाबाट अवैध सुनको तस्करी भइरहेको छ।
तातोपानी नाका बन्द भएपछि अन्तर्राष्ट्रिय नाकाको रूपमा संचालनमा आएको रसुवागढीमा ठूलो परिमाणको सुन बरामद भएको यो अर्को घटना हो। नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रूपमा बिस्तार भइरहेको रसुवागढी नाकामा पछिल्लो समय सुन तस्करी हुने क्रम बढ्न थालेको हो। सीमा नाकामा अवैध रूपमा तस्करी बढेसँगै प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ।
भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सञ्चालनका आएको रसुवागढी नाकाबाट २०७१ सालदेखि नै सुन तस्करीको घटना सुरु भएको बनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।