|

भद्रपुर, (झापा) : प्रहरी हिरासतमै बालक मृत्यु प्रकरणको न्याययिक छानविनको जिम्मा राष्ट्रिय मावनअधिकार आयोगलाई दिनेमा झापाका राजनीतिक दल र अधिकारकर्मी सहमत भएका छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमै मेचीनगर नगरपालिका-६ का १५ वर्षीय किशोर किरण कार्की (डोली)को रहस्यमय मृत्यु भएको थियो। हिरासतमै बालकको मृत्यु भएको घटना सञ्चारमाध्यमबाट बाहिरिएपछि झापाका मानवअधिकारकर्मी र दलित अधिकारीकर्मीले यस घटनालाई चासो दिएर अध्ययन अनुसन्धान सुरु गरेको छ।

घटनाको संवेदनशीलतालाई  उत्तेजित हुन नदिन झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले समेत यसतर्फ चासो देखाएका छन्। प्रजिअ दाहालकै पहलमा आइतबार बसेको सर्वपक्षीय छलफलमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक -डिएसपी_ सुवास खड्कालाई तत्काल त्यहाँबाट हटाएर घटनाको अनुसन्धान गर्न विषयमा सहमति नजुटेपछि छलफल त्यतिकै टुंगिएको थियो।

प्रजिअकै पहलमा मङ्गलवार पुनः जिल्ला प्रशासन कार्यालय झापामा बसेको सर्वदलीय र सर्वपक्षीय छलफलमा हिरासतमा मृत्यु भएका बालकको छानबिनका लागि राष्ट्रिय मावनअधिकार आयोगलाई दिने विषयमा सहमति जुटेको हो। यसअघि घटनाको छानबिनका लागि एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोरकुमार दाहालको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिसकेको छ, भने प्रहरी कार्यालय झापाले प्रहरी नायव उपरीक्षक -डिएसपी_ महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिसकेको छ।

दुवै छानबिन समिति प्रहरीकै रोहवारमा हुने भएकोले राष्ट्रिय मानवअधिकार आयोग बाहेक अन्य विकल्प नभएको छलफलले अन्तिम निष्कर्ष निकालेको हो। प्रहरीले गठन गरेको छानबिनको प्रतिवेदन भन्दा पनि संवैधानिक व्यवस्थामा भए अनुसार आयोगकै प्रतिवेदन सरकारले मान्ने भएकोले यसैमा सहमति जुटेको प्रजिअ दाहालले जानकारी दिए।

‘छानबिनपछि आयोगकै प्रतिवेदन अनुसार दोषीलाई कारबाहीदेखि पीडित परिवारलाई क्षतिपूर्ति दिने सम्मको अन्तिम निर्णय मान्नेमा सबै पक्षले मौखिक सहमति जनाएको छ, प्रजिअ दाहालले भने। छलफलमा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, नेकपाका झापा सचिव मणिकुमार साम्पाङ्ग (विजय), नेपाली काँग्रेसका झापा सभापति उद्धव थापा, देवकुमार थेवे, मानव अधिकारकर्मीद्वय विष्णु खरेल, डा. रुपक खनाल, उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टीकाराम मंग्राती, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा, छविलाल विश्वकर्मा, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली लगायतको उपस्थिति रहेको थियो। गत चैत २९ गते बिर्तामोड १ निवासी दामोदर अधिकारीको घरमा चोरी गर्न मनसायले गएका बालक किरणले अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका बालक डोली शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

मानव अधिकार आयोगद्वरा छानबिन सुरु

प्रहरी हिरासतमै बालक किरण कार्की -डोली_को रहस्यमय मृत्युको घटना सञ्चारमाध्यमबाट बाहिरी लगतै राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नम्बर १ कार्यालय विराटनगरले न्यायिक छानबिन सुरु गरिसकेको आयोगका निर्देशक मोहन देव जोशीले जानकारी दिए। ‘उजुरी नपरेपनि मिडियामा आएको आधारमा आयोगले आन्तरिक छानबिन सुरु गरिसकेको छ’, निर्देशक जोशीले भने, ‘अबको दुई÷चारदिन भित्र आयोगको टोली घटनास्थल पुगेर थप अनुसन्धान थाल्छ।’

राज्यसँग जोडिएको घटनाको विषयमा आयोग गम्भीर रहेको बताउँदै उनले भने, ‘छानबिनको क्रममा  दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन आयोग लाग्छ।, ‘आयोगको प्रदेश कार्यालयले प्रहरी कार्यालय झापासँग बालकसँग जोडिएको आवश्यक कागजात पाइसकेका छौ, कागजात हेरेर आयोगले थप अनुसन्धान गरिरहेको छ, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.