|

हेटौँडा : प्रदेश ३ का १३ जिल्लामा औलोका २६ जना संक्रमित मानिस फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ।

विश्व औलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाले आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी चितवनमा १४ र सबैभन्दा कम काठमाडौंमा एक जना संक्रमित फेला परेको जानकारी दिए। त्यसैगरी, सिन्धुलीमा ५, काभ्रे र मकवानपुरमा ३/३ जना औलोका बिरामी फेला परेको जनाइएको छ।

आव ०७४/०७५ मा एक हजार एक सय ८७ बिरामी फेला परेकोमा सबैभन्दा कम १ नम्बर प्रदेशमा २४ र सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ८६ रहेका छन्।  प्रदेश नम्बर २ मा ६६ जना, गण्डकी प्रदेशमा ३६ जना, प्रदेश नम्बर ५ मा दुई सय ३९ जना र कर्णाली प्रदेशमा दुई सय दश जना बिरामी फेला परेको बताइएको छ।

नेपालमा औलो रोगको उच्च जोखिममा रहेको जनसंख्या २ लाख १७ हजार ७ सय ६ र मध्यम जोखिममा रहेको जनसंख्या ९ लाख २७ हजार ४ सय १४ रहेको छ। देशभरमा ४९ वटा वडा उच्च जोखिममा, एकसय ५३ वडा मध्यम जोखिम र २० वटा वडा उच्च जोखिममा रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त प्रमुख तुलाराम अधिकारीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय हिमाली जिल्ला मुगु र बाजुरामा समेत औलो रोग देखिएको छ। ‘लामखुट्टेहरू हिमालतिर पनि भेटिन थालेपछि बिरामीहरू देखिन थालेका हुन्,’ निमित्त प्रमुख अधिकारी भने। उनका अनुसार सन् २०२५ भित्र औलोमुक्त नेपाल बनाउने अभियान सरकारको रहेको छ। यसको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था गरेको छ।  

चालु आर्थिक बर्ष ०७५/०७६ मा मकवानपुरमा २ जना औलो बिरामी फेला परेका छन्। तीमध्ये दुबै पुरुष रहेको जनाइएको छ। मकवानपुरमा ०७४/०७५ मा ३ जना पुरुष, ०७३/०७४ मा २ पुरुष र ०७२/०७३ मा ९ महिला, २ पुरुष गरी ११ जना औलो संक्रमित फेला परेको शशिकान्त सिंहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.