रसुवा : निजी आवास पुनर्निर्माणमा रसुवा अगाडि देखिएको छ। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा निजी आवासतर्फ रसुवा जिल्ला अगाडि देखिएको हो। रसुवामा ७७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भइसकेको छ।
१२ हजार ४ सय ९२ जना लाभग्राही रहेको रसुवामा ९ हजार ६ सय ७३ जनाले निजी आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ रसुवाले जनाएको छ।
जिल्लाको पाँचवटा गाउँपालिकामध्ये सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा र सबैभन्दा कम आमाछोदिङ्मो गाउँपालिकामा घर निर्माण भएका छन्। जिल्लाको नौकुण्ड गाउँपालिकामा ३ हजार ३ सय ४९ लाभग्राहीमध्ये २ हजार ९ सय ४० घर निर्माण सम्पन्न भएको छ। त्यस्तै, २ हजार ५ सय ६९ लाभग्राही रहेको कालिका गाउँपालिकामा २ हजार २ सय २ घर निर्माण सम्पन्न भएका छन्। त्यस्तै, २ हजार ६ सय ३१ लाभग्राही रहेको उत्तरगया गाउँपालिकामा १ हजार ८ सय ४६ जनाले घर निर्माण सम्पन्न गरेका छन्। त्यसैगरी १ हजार ९ सय ६४ लाभग्राही रहेको आमाछोदिङ्मो गाउँपालिकामा १ हजार ३ सय ४० ले घर निर्माण सम्पन्न गरेका छन्। त्यस्तै, १ हजार ९ सय ७९ लाभग्राही रहेको गोसाईंकुण्ड गाउँपालिकामा १ हजार ३ सय ४५ ले घर निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ।
जिल्लामा हालसम्म ११ हजार ७ सय २६ जनाले पहिलो किस्ताबापतको रकम बुझेका छन् भने १० हजार ९ सय ११ जनाले दोस्रो र ९ हजार ६ सय ७३ ले तेस्रो किस्ताबापतको रकम बुझिसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ रसुवाले जनाएको छ। सरकारले पुस मसान्तसम्ममा दोस्रो किस्ता र वैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो। सडक नपुगको स्थानमा हेलिकोप्टर तथा खच्चडको प्रयोग गरेर निर्माण सामग्री लगी पुननिर्माणलाई तीव्रता दिइरहेको भूकम्पपीडितहरूले बताएका छन्। भूकम्पपीडितले पुननिर्माणलाई तीव्रता दिनका लागि पर्म गरेर घर बनाउने, बाहिरी जिल्लाबाट कामदार ल्याउने, स्थानीय स्रोत र साधनको प्रयोग गर्नेलगायतका कार्य गरेका कारण भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये रसुवा पहिलो नम्बरमा रहेको छ।
गैससको सहयोगमा ९२६ घर निर्माण
निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका ६ वटा गैरसरकारी संस्थाले ९ सय २६ वटा निजी घर निर्माण सम्पन्न गरेका राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ रसुवाले जनाएको छ।
बतास फाउण्डेसनले जिम्मेवारी पाएको १५२ वटै र ओएम नेपालले जिम्मेवारी पाएको ६ वटै घर निर्माण सम्पन्न गरिसकेका छन्। त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएको ४५५ घरमध्ये ४३१, लुमन्तीले जिम्मेवारी पाएको ३७८ घरमध्ये २४६ र एलडब्लुएफले जिम्मेवारी पाएको १०१ घरमध्ये ९१ घर निर्माण सम्पन्न गरेका छन्। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा जिल्लामा एक हजार एक सय ९ वटा निजी आवास पुनर्निर्माण हुने भएको छ।
तीन अर्ब वितरण
विनाशकारी भूकम्पबाट प्रभावित भएकाको निजी आवास पुनर्निर्माणका लागि रसुवामा करिब ३ अर्बभन्दा बढी रकम वितरण भएको छ। विनाशकारी भूकम्प गएको ४ बर्ष पुग्दा अनुदानबातको ३ अर्ब १९ करोड ९० लाख रुपैयाँ रकम वितरण भएको हो।
पहिलो किस्ताबापतको ५० हजार बुझेका ११ हजार ७ सय ३१ जना लाभग्राहीलाई ५८ करोड ६५ लाख ५० हजार, दोस्रो किस्ताबापतको १ लाख ५० हजार बुझेका १० हजार ९ सय ११ जनालाई १ अर्ब ६३ करोड, ६६ लाख ५० हजार, र तेस्रो किस्ताबापत १ लाख बुझेका ९ हजार ६ सय ७३ जनालाई ९६ करोड ७३ लाख रकम वितरण भइसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ रसुवाले जनाएको छ।
विस्थापितको पुनस्थापना सुरु
भूकम्पका कारण जिल्लामा विस्थापित भएकाहरूको पुनस्थापनाका लागि प्रक्रिया सुरु भएको छ। पहिरोले जमिन चिराचिरा भई आफ्नो थाकथलो फर्कन नसकेपछि रसुवा र नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका विस्थापित परिवारलाई पुनर्निर्माण प्राधिकरणको सहयोगमा जग्गा खरिद गरी एकीकृत बस्तीको रूपमा तिरुमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत स्थानान्तरण गर्नका लागि लाभग्राहीलाई उपलब्ध गराइने २ लाख रुपैयाँले घडेरी खरिद गरिएको छ।
विनाशकारी भूकम्पको कारण रसुवामा करिब ११ सय घरपरिवार विस्थापित हुन पुगेका छन्। विस्थापितहरू रसुवा र नुवाकोटका पीपलटार, सातबीसे, बेत्रावती, बोगटीटार र खाल्टे क्षेत्रमा छरिएर बसोबास गर्दै आएका छन्। त्यस्तै, हालसम्म ५ सय ५२ परिवारलाई पुनर्वासको लागि जग्गा खरिद प्रक्रिया सकिएको र बाँकी परिवारको लागि पनि सुरक्षित स्थानमा जग्गा खोजी कार्य भइरहेको बताइएको छ।
त्यस्तै, विनाशकारी भूकम्पले जिल्लाका ९१ वटा बिद्यालयका ६ सय ५९ कक्षाकोठामा क्षति पुग्यो। तीमध्ये हालसम्म ६८ वटा विद्यालयको क्षतिग्रस्त संरचना पुनर्निर्माण भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।