पोखरा ः गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा अहिले पुनर्निर्माणको काम चलिरहेको छ। करिब ८५ प्रतिशत घर बारपाकमा पुनर्निर्माण भइसकेको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ। बारपाकका मीनराज घले भूकम्पले घर ध्वस्त पारेपछि अहिले नयाँ घर बनाउने चाँजोपाँजो मिलाउँदै छन्।
काममा उनलाई स्थानीय युवाहरूले पनि सघाइरहेका छन्। उनलाई २०७२ वैशाख १२ गतेको भूकम्पले जे गरे पनि अब नयाँ बारपाकमा पुरानै सुन्दर बारपाकको बस्ती बसाउने धोको थियो। बारपाकको पुरानै सुन्दरता फर्काउने धोको पूरा गर्न भने अब नसकिने भइयो भनेर उनी निराश छन्।
‘जे हुनु भइहाल्यो’ उनले भने, ‘हाम्रो पुरानो बारपाकलाई फर्काउने धोको थ्यो। धेरै घरहरू बने। पुरानै काठले, ढुंगाले छाएको जसरी नबनाए पनि सबै एकैनाशको घर बनाउन पाए हुनेथ्यो अहिले त घर हेर्नुस् मान्छे चिन्नुस् भनेजस्तो भएको छ।’ अहिलेका घरहरू फरकफरक बने। ‘पहिले कुन बारपाकी धनी कुन बारपाकी गरिब भन्ने थाहा हुँदैन थियो। अहिले घर हेरेरै को धनी को गरिब छुट्याउन सकिन्छ’ उनी भन्छन्। यो धोको आफ्नो मात्र नभएको उनले स्पष्ट पारे। ‘सबैसँग सोध्नुस् सबैजना यही ठाउँमा पुरानै शैलीको बस्ती बसाउन चाहन्छन्।’ बारपाककै हरिबहादुर घले र मेतबहादुर घलेले पनि कच्चीको ठाउँमा पक्की ढलानवाला तर घरको बनावट एकैनासको बनाउने सबैको रहर भएको बताए।
पुरानाे बारपाक
भत्केको घर उठाउने प्रयास गरिरहेका मेतबहादुर घलेले पनि गाउँलाई नयाँ शैली र नयाँरूपमा हेर्न चाहेका छैनन्। ‘हामी आफ्नो घरलाई कसरी पुरानै शैलीको बनाउन सक्छौं भन्ने सोचिरहेका छौं। गाउँले कोल्टो फेरिसक्यो अब हामीले भनेजस्तो घर बन्दैन।’ उनले भने। करिब १५ सय घरधुरी रहेको बारपाकमा ८५ प्रतिशतभन्दा धेरै घरहरू पुनर्निर्माण भइसकेका छन्। अहिले निर्माण भइसकेका घरहरू हरेक घर फरक प्रकृतिका छन्।
कोही घर पक्की ढलान गरेर निर्माण भएको छ त कोही ढुंगा माटोको। व्यक्तिले चाहेर मात्र नहुने भन्दै उनले पर्यटकीय गाउँ भएका कारण यसलाई सरकारले नै विशेष नीति बनाएर बारपाकको पुननिर्माण गराउनबाट चुकेको बताए। सरकारले निति ढिलो ल्याइदिनाले बारपाकमा एकीकृत बस्ती बसाल्न र एकै प्रकृतिको घर बनाउन सकिएन। हल्ला धेरै गरियो। ‘व्यक्तिले चाहेर मात्र हुँदैन। सरकारले नै चाहनुपर्छ’ उनले भने ‘पर्यटकीय गाउँको रूपमा बारपाक एउटा देशभरी नै परिचित गाउँ हो। त्यसैले यसलाई पुरानै अवस्थामा ल्याउन सरकारले पहल गर्नुर्थ्यो। इञ्जिनियर पठाएर कुन ठाउँमा फेरि घर बनाएर बस्न योग्य छ वा छैन भनेर चेकजाँच गराउनुपर्थ्यो। अब सोचेर पनि केही हुनेवाला छैन।’
‘सबैको घर गर्ल्यामगुर्लुम ढल्यो’ अर्का बारपाकी धीरेन्द्र गुरुङ भन्छन् ‘पहिलेकै जस्तो राम्रो बारपाक बनाउन सरकारले प्राविधिक पठाएर नाप्नुपर्छ भनेर कति भन्यौँ कसैले सुनेन।’ बारपाकको पहिचान दिने घरहरू बनाउनबाट बारपाक पछिपरेको धनीराम घले बताउँछन्। ‘हामीलाई हाम्रो ठाउँ, हाम्रो भाषा, संस्कृति, हाम्रो रहनसहन र बस्ती प्राण जत्तिकै प्यारो छ’ उनी भन्छन् ‘त्यसैले हामी बारपाकीलाई पहिलेको जस्तै बनाउन सरकाले पहल गर्नुपर्थ्यो हामी सहयोग गर्थ्यौं सरकारले वास्ता गरेन।’
विनाशकारी भूकम्पका कारण सबै तहसनहस भए पनि स्थानीयहरू भने पक्की तर पुरानैशैलीको बारपाक ब्युँताउने धोको पालिरहेका छन्। सरकारले अहिले बारपाकमा भूकम्प स्मृति पार्क निर्माणको काम अघि बढाएको छ। त्यस्तै, सोही बारपाकका करिब ३० घर दलित परिवार अहिले आफ्नो जग्गामा बस्न सकेका छैनन्। भूकम्पपछि पुरानो ठाउँमा घर बनाउन मिल्ने अवस्था छैन। उनीहरू सरकारी जग्गा र जग्गा भाडा लिएर चार वर्षदेखि टहरोमा बसिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।