|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिम प्रदेश औलोको उच्च जोखिममा रहेकाले उन्मुनका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

बिहीबार कञ्चनपुरको भीमदत्तनगरमा विश्व औलो दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्दै उनले विकासमा पछाडी परेको प्रदेशका रुपमा सुदूरपश्चिमलाई देशभरी नै परिचित थियो अब औलोमा पनि अगाडि रहेको प्रदेशका रूपमा चिनिएको बताए। उनले औलो उन्मुलनका लागि संघ, प्रदेश र स्थानिय तहले नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताए।

औलो उन्मुलनका लागि प्रदेश सरकारले सन् २०२५ लाई ध्यानमा राख्दै आगामी वर्षदेखि निरन्तर रूपमा बजेट विनियोजन गर्दै जाने बताए।  चुनौतीका रूपमा देखा परेको औलो उन्मुलनका लागि भारतसँगका सीमा क्षेत्रमा निगरानी बढाउनु जरुरी भएको उल्लेख गर्दै उनले स्थानीयभन्दा आयातित बिरामीको संख्या बढ्दो रूपमा देखा परेकाले बताए। 'देश विदेशमा औलो उन्मुलनका लागि धेरै प्रतिबद्धता भए' उनले भने, ‘सफल हुन सकेनौँ। जे गर्न सक्छौँ। त्यो गरौँ। जे गर्न सक्दैनौँ। त्यो नगरौँ।

केन्द्र सरकारले अधिकार दिन कञ्जुस्याई गरेको धारणाअघि सार्दै उनले कहिले जिल्ला स्वास्थ्य कार्यालय आफैँ मातहत राख्ने, कहिले संघ मातहत छ भनेर अलमल्याउने र कहिले स्थानीय प्रदेशमा राखेको जानकारी दिने कार्यले विरोधाभास पैदा गरेको बताए।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले औलो प्रभावित क्षेत्रका बासिन्दाको झुल तथा बिषादी छिडकाउमा पहुँच पुर्‍याइ औलो सर्ने दरमा कमी ल्याउन सकिने बताए। 

सुदूरपश्चिम प्रदेशमा औलोका ५८६ बिरामी

स्वास्थ्य निर्देशनालय दिपायल, डोटीका निमित्त जनस्वास्थ्य निर्देशक रमेश मलासीअनुसार सुदूरपश्चिम प्रदेशमा आव ०७४/७५मा औलोका स्थानीय बिरामीको संख्या २७० र भारतबाट आयातित औलोका विरामीको संख्या ३१६ गरी कुल ५८६ रहेका छन्।

प्रदेश-१ मा २४, प्रदेश-२ मा ६६, प्रदेश-३ मा २६, गण्डकी प्रदेशमा ३६, प्रदेश-५ मा २३९ र कर्णाली प्रदेशमा २१० जना औलोका रोगीहरू रहेका छन्।

नेपाल भरी औलोका विरामीको संख्या स्थानिय ५५७ र आयातित विरामीको संख्या ६३० गरी जम्मा एक हजार १८७ जना रहेका छन्। जसमध्ये पि भाइभेक्स एक हजार १०५ र पि फाल्सिपारम ८२ जनामा देखिएको छ।

कार्यक्रमका सहभागी विश्व स्वास्थ्य संगठनका अधिकृत सुभाष लाखेले विश्वमा बर्सेनि औलोका बिरामीको संख्या २२ करोड बढी देखिने र जसमध्ये चार लाख ५० हजारको मृत्यु हुने गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.