|
File Photo

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश औलोको उच्च जोखिम रहेको छ। देशभरको तथ्यांकअनुसार दुई तराई, पाँच पहाडी र दुई हिमाली जिल्ला गरी नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २०७४/२०७५ को तथ्यांकअनुसार औलो रोगको उच्च जोखिम रहेको पाइएको हो।

पहिले तराईका जिल्लामा मात्रै देखिने औलो पछिल्ला वर्षहरुमा हिमाली जिल्लाहरुमा सेमत देखा परि महामारिको रुप लिने गरेको छ। गत आर्थिक वर्ष २०७४/२०७५ को तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ५ सय ८० जनामा औलो देखा परेको थियो।

सुदूरपश्चिमका ३१ वटा वडा औलाको उच्च जोखिममा छन् भने ९१ वडा मध्यम जोखिम रहेका छन्। यो देशभरिकै उच्च हो। विश्व औलो दिवसका अवसरमा डडेल्धुरामा आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराले उक्त तथ्यांक प्रस्तुत गरेको हो।

सन २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिबिधि भए पनि औलोको जोखिम कायमै रहेको छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा औलोको जोखिम बढी भएको पाइएको हो।

डडेल्धुरामा चालु आर्थिक वर्षको हालसम्म औलोका ८ जना विरामी भेटिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। विदेशबाट र्फकने नेपालीहरुमा औलोको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए। औलो रोग निवारण गर्नको लागि सम्बन्धित स्वास्वास्थ्य चौकीमार्फत आमा समूहसम्म विभिन्न किसिमका जनचेताना मुलक कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए।

डडेल्धुराको भित्रि मधेश जोगबुढामा पनि औलोको उच्च जोखिम रहेको छ। परशुराम नगरपालिका वडा नं. ४, , ६ र १२ मा औलोको उच्च जोखिम छ। महाकाली, पन्तुरा र रंगुन नदी किनारमा रहेको वडाहरुमा औलो जोखिम उच्च रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका सुपरभाईजर भट्टले बताए।

यस्तै आलिताल गाउँपालिकाको  वडा नं. २ र ५ मा औलोको जोखिम मध्यम छ। पछिल्ला वर्षहरुमा औलो रोगको संक्रमणमा कमि आउँदै गएपनि वर्षेनि औलो रोगका बिरामी भने देखिने गरेको उनले बताए। सुपरभाइजर भट्टले भने, ‘यस मध्ये ७ जनामा देखा परेको औलोको संक्रमण आयाति हो, भने १ जनामा देखा परेको स्थानीय नै। नेपालमा खास गरी भारतबाट आउने व्यक्तिहरुमा औलोको संक्रमण देखिने गरेको छ।

गत वर्ष डडेल्धुराका १९ जनामा औलो रोगको संक्रमण देखिएको थियो। यस वर्ष पनि फागुनसम्म ८ जनामा देखा परे पनि अझैं यसको संख्या बढ्न सक्ने उनले बताए।

के हो औलो रोग?

औलो अर्थात् मलेरियो लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ।

प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ।

जोखिम कम गर्न के गर्ने ?

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ।

राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो। शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ। स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ। जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ।

घरघर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.