|

काठमाडौं : तेस्रोलिंगीका दैनिकीलाई मुख्य विषय बनाएर लेखिएको जया ओझाको उपन्यास ‘आवरण’ सार्वजनिक गरिएको छ। सर्वनाम थिएटरमा भाषाविद् तथा कोषकार वसन्तकुमार शम्‍मा नेपालले कृतिको विमोचन गरेका हुन्।

कार्यक्रममा तेस्रोलिंगी पात्र इशान रेग्मीलाई बोलाइएको थियो। लेखिका जयाले तेस्रोलिंगीका विषयमा उपन्यास लेखेर भ्रमको निवारण गर्ने काम गरेको भनाइ इशानको छ। ‘हर्मनका कारणले हुने अन्तरलिङ्गी समस्यालाई समाज तथा परिवारले बुझ्न नसकिरहेको समयमा जया ओझाले समाज तथा परिवारमा भएको भ्रमलाई अन्त्य गर्न सहयोग गर्नु भएको छ' इशानले भने, 'समाजमा मैले भोगेको समस्या र बाबुआमाले समाजसँग खेप्नु परेको समस्यालाई उपन्यासमा उतार्ने काम गर्नुभएको छ। असङ्ख्य अन्तरलिङ्गीहरुको पीडालाई मेरो माध्यमबाट चित्रण गर्न खोज्नुभएकोले मलाई खुसी लागेको छ।’  

लेखिका उमा सुवेदीले जयाको उपन्यासको विषयले समाजमा चेतना फैलाउन मद्दत पुग्ने बताइन्। ‘न छोरा न छोरी नभई अन्तरलिङ्गी व्यक्तिलाई सन्तान नमान्ने समाज तथा परिवारलाई साहित्यमार्फत चेतना फैलाउने प्रथम महिलाको रुपमा आउनु भएकोले म जया ओझालाई धन्यवाद दिन चाहन्छु।' सुवेदीले भनिन्, 'समाज बदल्न हिँड्ने समाजमा अगुवा भनाउँदाहरु समाज परिवर्तनको भाषण गर्ने तर आफ्नो मानसिकतालाई कहिल्यै परिवर्तन गर्न नसक्नु ठूलो भूल हो।’  उनले अन्तरलिङ्गी अभिभावकले सबैभन्दा पहिले परिवर्तन हुनुपर्ने बताइन्।

शेखर खरेलले लेखिकाले उपन्यासमा उठाएको विषयवस्तुमाथि न्याय गरेको बताए। उनले भने, ‘आफै अन्तरलिङ्गी भए जसरी अनुभूतिमा लेखकले उपन्यास लेखेकी छिन्। इश्वरीय त्रुटिबाट आत्मासाथ गर्न नसक्ने कुरालाई पुस्तकमा यथार्थ तरिकाले चित्रण गर्न खोजिएको छ।'

खरेलले अन्तरलिङ्गीलाई रुखमा पलाएको ऐँजेरुको रुपमा चित्रण गर्दै परिवार तथा समाजमा आफ्नो अस्तित्व बनाउन नसक्दा समस्या भएको बताए। अन्तरलिङ्गीले आफ्नो अस्तित्व बनाउनलाई 'आवरण' उपन्यासले सहयोग गरेको छ। खरेलले भने 'अन्तरलिङ्गी सदियौँ कालदेखि भइरहेको समस्या र पछिसम्म पनि यो निरन्तर रहनेले गर्दा 'आवरण' कालजयी बन्न सक्छ ।’ 

शिखा बुक्सले प्रकाशन गरेको आवरण २२४ पृष्ठको छ, जसको मूल्य ३१७ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.