फेवाताल किनारमा ८० फिट अग्लो राष्ट्रिय झण्डा

|

पोखरा : माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,

पोखरा त साच्चिकैको पोखरा नै रैछ।

गायक प्रेम प्रकाश मल्लले गाएजस्तै फेवातालमा माछापुच्छ्रे दिनहुँ पौडी खेलिरहन्छ। माछापुच्छ्रेले हजारौँ मानिसलाई फेवातालको छेउमा आफूसँगै मन्त्रमुग्ध पारिरहन्छ। त्यसैमा थप सौन्दर्य थप्नका लागि गण्डकी सरकार र पोखरा महानगरपालिकाले पोखराको ड्याम साइडमा ८० फिट उचाइको नेपाली राष्ट्रिय झण्डासहितको माछापुच्छ्रे बिम्प पार्क निर्माणको सुरुवात गरेको छ। 

चार करोड रुपैयाँ लागतमा बन्न लागेको उक्त पार्कमा चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ लगानी गरिएको छ। सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्कको शिलान्यास गरे। पार्कको निर्माणको पहिलो चरणमा काम गर्न पोखरा १७ को बिनु कन्स्ट्रक्सनले जिम्मा पाएको पोखरा महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सोभियत खड्काले जानकारी दिए। 

पार्कमा टिकट काउण्टर, टी–सप, पिउनेपानीको व्‍यवस्था, पानीको फोहोरा, रेस्टरुम, पेभिलियन, बालउद्यान, ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा रहनेछ। पार्कमा झण्डा ठडिएपछि माछापुच्छ्रेको छायासँगै राष्ट्रिय झण्डा पनि तालमै पौडी खेलिरहन्छ। पार्कको डिजाइन सोफिया गुरुङले गरेकी हुन्। पार्कको शिलान्यासपछि मुख्यमन्त्री गुरुङले उक्त कामले स्थानीय सरकार र प्रदेश सरकारसँगै छ भन्ने सन्देश दिने भएकोले पनि महत्वपूर्ण रहेको बताए।

‘प्रदेश सरकार र स्थानीय तह सँगसँगै छौँ भन्ने हिसाबले पनि यो महत्वपूर्ण छ,’ उनले भने, ‘प्रकृतिले सुन्दर गण्डकी प्रदेशको राजधानी पोखरा मानवीय कारणले कुरुप बन्दै गएकोले त्यसलाई हटाएर सुनमा सुगन्ध, फूलमा बुट्टा भर्न हामीले लागेका हौँ।’ त्यस्तै, उनले फेवाताल संरक्षणमा सर्वोच्चको फैसला पूर्णरूपमा पालना गरिने बताए। ताल संरक्षण तथा विकास प्राधिकरण नै गठन गरेर सरकारले काम अघि बढाउन लागेको मुख्यमन्त्रीको भनाइ थियो।

पोखरा महानगरपालिका र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संयुक्तरूपमा बनाउन लागेको उक्त पार्कलाई पोखराको नमुना पार्क बनाउन सबैजना लाग्नुपर्ने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.