|

पोखरा : पोखरा वन विज्ञापन अध्ययन संस्थानमा गणित विषयका सहप्राध्यापकलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाँको एकलौटी निर्णय गरेर पोखरा वन विज्ञान अध्ययन संस्थानमा गणित विषयका सहप्राध्यापकलाई क्याम्पस प्रमुखमा नियुक्त गरेका हुन्। तीन महिनाको लागि गत चैत २८ गतेदेखि सहप्राध्यापक प्रेमनारायण खनाललाई नियुक्त गरेका हुन्।

जेठ २२ गते क्याम्पस प्रमुख वीरबहादुर खनालको पदावधि सकिएपछि निमित्तको भूमिका उपप्राध्यापक ठाकुर सिलवाल थिए। त्रिवि उपकुलपतिको कार्यालयको पत्रानुसार खनाललाई त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम जिम्मेवारी प्रदान गरिएको छ। उक्त ऐनको दफा २१ क मा विश्वविद्यालयको कुनै पदाधिकारीको पद रिक्त भए तीन महिनाभित्र नै पदपूर्ति गर्नुपर्ने उल्लेख छ।

यता, खनियाँले भने आफ्नो अधिकार प्रयोग गरेर प्रमुख नियुक्त गरेको बताए। ‘मेरो अधिकार र कार्य क्षेत्रभित्रको कुरा हो,’ उनले भने, ‘मैले नियुक्त गर्न पाउने अधिकार छ त्यसैले तीन महिनाको लागि नियुक्त गरेँ।’ 

यता, वन विज्ञान संस्थानले क्याम्पस प्रमुखका लागि गत वर्षको जेठ २० मै विभिन्न व्‍यक्तिहरूको नाम सिफारिस गरेर पठाएको थियो। तर, तीर्थ खनियाँले उक्त सिफारिस पत्र कार्यकारी परिषदमै रहेको भन्दै नयाँ प्रमुख नियुक्त गर्नुपरेको बताए। यसअघि संस्थानका डिन प्राडा. कृष्णराज तिवारीले क्याम्पस प्रमुखमा तीनजनाको नाम सिफारिस गरेका थिए। पोखरा वन विज्ञान संस्थानमा हाल चार सय ५० जना विद्यार्थीले फरेष्ट्रीमा स्नातक, स्नातकोत्तर, पिएचडी अध्ययन गर्दै आइरहेका छन्। 

खनियाँले खनाल यसअघि वन विज्ञानकै डिन भइसकेको भएर यसपटक क्याक्पस प्रमुखमा नियुक्त गरिएको बताए। ‘उहाँले यसअघि नै वनको डिन भएर काम गरिसक्नुभएको छ। अब अहिले उहाँले प्रमुख भएर काम गर्न सक्नुहुन्न भन्ने शंका गर्ने ठाउँ नै छैन नि। उहाँको विषय गणित भएर के भो त नि।’ १० महिनासम्म रिक्त रहेको पदमा तीन महिनाको लागि नियुक्ति दिइनु नै नियमानुसार नभएको क्याम्पसका प्राध्यापकहरुको तर्क छ। नियमअनुसार क्याम्पस प्रमुखको अवधि चार वर्षको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.