|
Photo : fao.org

काठमाडौं : अन्तर्राष्ट्रिय पर्वतीय दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दीगो पर्वतीय विकासको महत्वमा जोड दिंदै हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिएको हो। 

दिवसमा जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणमा जोड दिने गरिएको छ। यो वर्ष पर्वतीय क्षेत्रमा बसोबास गर्ने समुदायको संस्कृतिको विविधता र समृद्धिमा जोड दिंदै 'पर्वतीय संस्कृतिः विविधताको उत्सव र पहिचानको सुदृढीकरण' नारा तय गरिएको छ। 

छुट्टै संस्कृति र परम्पराका कारण पर्वतीय क्षेत्रका बासिन्दाको पारिस्थितीक प्रणालीमा महत्वपूर्ण भूमिका हुने गरेको छ। छुट्टै भूमि प्रयोग प्रक्रिया, जलवायु परिवर्तनको सामना गर्ने तरिकाको विकास, परम्परागत खाद्य पदार्थको प्रयोग जस्ता कारणले पर्वतीय समुदायको संस्कृति विशेष खालको रहेको र पर्वतीय क्षेत्रमा पाईने वस्तु विशेष जैविक विविधता युक्त हुने गरेका भन्दै संयुक्त राष्ट्रसंघले त्यस्तो संस्कृति र संस्कारको सम्मान र जगेर्ना गर्नुपर्नेमा जोड दिएको छ। 

पृथ्वीको कुल भूभागको २२ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ। पर्वतीय क्षेत्रमा विश्वको कुल जनसंख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस मानिस बसोबास गर्ने गरेका छन्। पर्वतीय क्षेत्रले त्यहाँ बसोबास गर्नेको जनजीविका र कल्याणमा मात्रै नभई अप्रत्यक्ष रुपमा तल्लो क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसलाई पनि फाइदा पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.