|

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध ११ विद्यार्थी संगठनले मंगलबार राजधानीमा जुलुस निकालेका छन्। कांग्रेसनिकट नेपाल विद्यार्थी संगठनसहित ११ विद्यार्थी संगठनहरुले माइती घरदेखि नयाँबानेश्‍वरसम्म प्रदर्शन गरेका हुन्। 

शैक्षिक दलाली अन्त्य, भष्ट्रचारीलाई कारबाही, निर्मला पन्तलाई न्याय, सिके राउतसँगको सम्झौता खारेज र राष्ट्रिय सम्पदा जोगाउन माग गर्दै उनीहरुले सरकारविरुद्ध जुलुस निकालेका हुन्। 

जुलुसका क्रममा विद्यार्थीहरुले केपी ओली सरकारले राष्ट्रघात र जनघात गरेको आरोप लगाए। उनीहरुले ‘केपी ओली सरकार धेरै भयो चुरीफुरी’ भन्‍दै नाराबाजी गरेका हुन्। 

अखिल क्रान्तिकारीका केन्द्रीय अध्ययक्ष हरिकृष्ण गजुरेलले सरकारका राष्ट्रघात र जनघातका गतिविधि रोक्न तथा शिक्षाक्षेत्रका दलाली, भ्रष्टचार र तस्करीविरुद्ध आन्दोलन थालिएको बताए। उनले भूमाफिया र राष्ट्रहितविरुद्धका गतिविधि रोक्न तथा मिचिएको ३७२ वर्ग किलोमिटर भूभाग फिर्ताका लागि दबाब दिन प्रदर्शन गरिएको बताए।

‘शिक्षा, स्वास्थ्यमा देखिएका विकृति, हत्या, हिसांजस्ता समग्र विषयमा आवाज उठाएका हौँ', उनले भने, 'ओली सरकारको राष्ट्रघाति गतिविधिविरुद्ध संघर्ष गर्नैपर्छ।’

नेपाल विद्यार्थी सघंका सदस्य रामेश्वर विष्टले देशको स्रोत साधन विदेशीलाई सुम्पिने काम रोक्न र  नेपाली युवालाई विदेश पठाउने क्रम बन्द गर्न आन्दोलन गरिएको बताए। उनले नेपाललाई समृद्ध बनाउन नेताहरु सचेत हुनुपर्नेमा जोड दिए। उनले नेताहरु विलाशितामा रमाएमा देशको विकास नहुने बताए। 

प्रदर्शनमा सहभागी इन्दिरा अधिकारीले शिक्षामा माफियाकरण बन्द, निःशुल्क पढ्ने व्यवस्था, क्षमताअनुसार शिक्षा आर्जन गर्न पाउने र शिक्षा, स्वास्थको निजीकरण हट्नु पर्ने माग गरिन्। उनले निर्मला हत्याकाण्डका दोषीलाई सरकारले कारबाही गर्न नसक्नु हास्यास्पद भएको बताइन्। ‘बलात्कारपछि हत्या हुँदा पनि सरकार मौन छ। यो सरकारको विरोध गर्नुपर्छ, दोषीलाई कारबाहीका लागि आवाज उठाउनुपर्छ,’ उनले भनिन्। 

प्रदर्शनमा उत्रिएका रघु बस्‍नेतले भ्रष्टाचार, बलात्कार, हत्या, हिंसा बढेपछि सरकारविरुद्ध आन्दोलनमा उत्रनुपरेको बताए। 'बजारमा महँगी बढेको छ, निर्मलाले न्याय पाएकी छैनन्। तर ओली सरकार इतिहासकै नालायक भएको छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.