विरोध र समर्थनमा झण्डा गाड्ने होडबाजी

|

हेटौंडा : हेटौंडाको एक मात्रै खुला मैदान हो हुप्रचौर। करिब ३० वर्ष अगाडि (२०४६ सालमा) प्लटिङका क्रममा खुला मैदान राखिएको हुप्रचौर लोकतन्त्र आएसँगै लोकतान्त्रिक मैदान बनेको हो । 

हेटौंडा-४ मा रहेको यो मैदानले विभिन्‍न खेल सयौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ।  करिब आठ विगाह क्षेत्रफलको यो मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिट बनाउने भएपछि विवादमा तानिएको छ। 

स्थानीयबासी हुप्रचौरलाई खुला राख्ने पक्षमा छन् । उनीहरु कुनै पनि भौतिक पूर्वाधारको बनाउनु हुँदैन भन्दै उपमहानगरपालिकाविरुद्ध आन्दोलन गरिरहेका छन्। यता खेलसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू उपमहानगरलाई बल पुग्ने गरी हुप्रचौरमा प्याराफिटको पक्षमा उभिएका छन् । 

हुप्रचौरलाई खुला राख्ने मागसहित स्थानीयले हेटौंडा उपमहानगरपालिकाविरुद्ध कालो झण्डा गाडिसकेका छन्। खेलकुदसम्वद्ध संघसंस्थाले हुप्रचौरमा प्याराफिट बनाउन राष्ट्रिय झण्डा गाडेका छन्। 

हाल दैनिक जसो हुप्रचौरमा प्याराफिटको पक्ष र विपक्षमा कालोड झण्डा र राष्ट्रिय झण्डा गाड्ने होड चलिरहेको छ। यसबीच हुप्रचौरलाई खुला राख्ने र प्याराफिट बनाउने पक्षमा उभिएका समूहले वडाअध्यक्ष, नगरप्रमुख र मुख्यमन्त्रीलाई ज्ञापन बुझाइसकेका छन्। तर दुवै पक्षबीच करिब एक महिनादेखि जुहारी चलिरहेको छ। तर यो जुहारी रोकिने छाँट देखिएको छैन। जुहारीले उग्ररुप लिने सम्भावना देखिएको छ।

हेटौंडा उपमहानगरपालिकाको एक करोड रुपैयाँ र प्रदेश सरकारको एक करोड रुपैयाँमा हाल मञ्च रहेको स्थानको दायाँबायाँ प्याराफिट शैलीको भौतिक संरचना बनाउने उपमहानगरपालिकाले बताइरहेको छ।

हाल आन्दोलनित स्थानीय सरोकार समितिले हुप्रचौरमा कुनै किसिमको भौतिक  संरचना बनाउन नहुने भन्दै आन्दोलनमा होमिन तयार रहेको बताइरहेको छ। 

‘हुप्रचौर खुल्ला हुनुपर्छ ’

यहाँ भौतिक संरचना निर्माण गर्न नहुने भन्दै हुप्रचौर सरोकार समितिले आन्दोलन गरिरहेको छ। जसको नेतृत्व स्थानीय युवाले गरिरहेका छन्। हुप्रचौरलाई खुला राखेर यसलाई व्यवसायिक प्रायोजनाभन्दा खुला ठाउँकै रुपमा बहुउपयोगी बनाउनुपर्ने माग स्थानीयको छ । यो समूहले उपमहानगरपालिका र प्रदेश सरकारको विरोधमा कालो झण्डा पनि गाडेको छ । 

‘हुप्रचौर क्षेत्रको प्लटिङ गर्दा उक्त स्थानलाई खुल्ला राख्ने गरी गरिएको हो। हुप्रचौरलाई बहुप्रयोग गरिनुपर्छ। त्यसको अस्तित्व मेटाउनु हुँदैन। यहाँ प्याराफिट बनाउन लागिएको हो, सबैले नक्सा हेर्दा हुन्छ', समितिका सदस्य लवराज ठकुरीले भने, 'अहिले राष्ट्रिय झण्डा गाड्न हिँडिरहेका सबै त्यहाँ सटर भाडामा लिएर व्यवसाय गर्ने दाउमा छन् । हामी कुनै हालतमा भौतिक संरचना बनाउन दिँदैनौं। संरचना बनाउन बल प्रयोग भए हामी कानुनी बाटो खोज्छौं।’ 

‘खेल क्षेत्रको भावना बोलेका हौं’

मकवानपुरका खेल क्षेत्रसँग सम्बन्धित संघसंस्था अहिले हुप्रचौरमा प्याराफिट बनाउने पक्षमा उभिएका छन्। यस समूहको नेतृत्व जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले गरिरहेका छन्। उनीहरूले प्याराफिट बनाउन सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइसकेका छन् । हुप्रचौरमा राष्ट्रिय झण्डासमेत उनीहरुले नै गाड्न भ्याइसकेका छन्।

‘खेल क्षेत्रको विकासमा सदैव सहयोग गर्छौँ। त्यहीकारण प्याराफिट बनाउन सहयोग गर्न लागेका हौं। खेल आयोजना गर्नुपर्दा प्रायोजक खोज्दै हिड्नु पर्ने अवस्था छ', फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले भने, 'खेल क्षेत्रको विकास हुँदा हामी कालो झण्डाको पछि लाग्ने होइन। राष्ट्रिय झण्डा बोकेर हिँड्नु पर्छ ।’

खेलको विकास गर्न खोजेको : महत

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको छवि जिल्लामा खेलप्रेमी नेताका रुपमा छ। उनको नेतृत्वमा जिल्लामा खेलकुदका धेरै पूर्वाधारको विकास भएको छ। हाल विवादमा रहेको हुप्रचौर मैदान घेर्ने काम उनकै अगुवाइमा भएको थियो। हेटौंडा-६ गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानको पर्खाल र जिल्ला खेकलुकद विकास समितिको भवन उनकै नेतृत्वमा बनेको थियो।

महत नगरप्रमुख भएसँगै सुविधा सम्पन्न इण्डोर कबर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ। ‘मेरो अध्यक्षतामा हुप्रचौर घेर्ने र गेट बनाउने काम भएको हो। प्राकृतिक विपद् आउँदा बस्ने र सभा गर्ने स्थान त्यही हो’, उनले भने, ‘त्यहाँ प्याराफिट बनाउन लागेको होइन। ५०० जना मान्छे बसेर खेल हेर्न मिल्न सिँढी बनाउन लागेको हो। प्याराफिट बनाउन दुई करोड रुपैयाँले पुग्दैन।’ उनले हुप्रचौर अतिक्रमण गर्न खोजेको बुझ्नु गलत भएको बताए।

‘हाल मञ्च भएको स्थानको दायाँबायाँ खाली जग्गामा सिँढी बनाउन लागेका हौं। केही सटर निकालेर त्यहाँबाट भएको आम्दानीलाई खेलाडीको हित र खेलक्षेत्रको विकासमा लागउने तयारी गरिरहेका छौं। उक्त आम्दानी उपमहानगरले लिँदैन। कार्यविधि बनाएर खेलकुदलाई दिइनेछ’, नगरप्रमुख महतले भने। उनले उक्त भौतिक संरचनाले कसैको घर नछेकिने र असर नगर्ने टिप्पणी गरे।

‘कसैलाई घर छेकिन्छ भन्ने चिन्ता रहेछ। १८ फिट उचाइ मात्र हुन्छ। यसले कसैको घर छेकिँदैन। स्थानीयसँग कुराकानी एकपटक भएको छ। मैले सम्झाएर पठाएको हो। फेरि कसले उचाल्यो मलाई थाहा छैन। उहाँहरूको निजी जग्गा भएको भए के बनाउन पाउँछ। के बनाउँन पाउँदैन भन्न मिल्थ्यो। हामीले खेल क्षेत्रको विकास गर्छौ भन्दा नपाउने कुनै कारण छ?’, प्रमुख महतले भने, ‘अहिले खेलाडी दौडिने ट्रयाकसमेत मेटिँदैन।’

'दुवै पक्ष भावनाको  कदर गरौँ'

जिल्ला खेलकुद विकास समिति पनि हुप्रचौरमै छ। अहिले समितिलाई दुवै पक्षको दबाब छ। दुवैपक्षको दबाबले धर्म संकटमा परेको जिल्ला खेलुकद स्थानीयको मागको सम्बोधन गर्दै भौतिक पूर्वाधारको विकास गर्ने पक्षमा छ। समितिका अध्यक्ष माधव तिमल्सिनाले स्थानीयको भावनाअनुरुप भौतिक संरचना बन्‍ने बताए

‘स्थानीयको भावना अनुरुप खेल क्षेत्रको विकास हुने गरी भौतिक संरचनाको विकास हुन लागेको हो। अहिले मैदानलाई व्यवस्थित गर्ने कुरा बुझेका छौं। हामीसँग दुवै पक्षले समन्वय गरेका छैनन्। मान्छे छिर्न नसक्ने होइन। सजिलै छिर्न निस्कन सक्ने गरी भौतिक संरचना बनाइने हामीले बुझेका छौं’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.