|

हेटौंडा : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रजातान्त्रिक व्यवस्थामा मात्र मजदुर वर्गको हित सम्भव रहेको दाबी गरेका छन्। साम्यवादी मुलुकमा ट्रेड युनियनलाई अधिकार नै नदिने गरेको उदाहरण दिँदै डा. महतले प्रजातान्त्रिक मुलुकमा मात्र सबैले आफ्नो अधिकारको उपभोग गर्न पाउने बताए।

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै डा. महतले भने, ‘कम्युनिस्‍टका नेता मार्क्स लेनिनले पनि मजदुरको हितभन्दा सत्ता स्वार्थलाई महत्व दिएको पाइन्छ, कुनै पनि साम्यवादी मुलुकमा ट्रेड युनियनलाई महत्व दिएको पाइँदैन। प्रजातान्त्रिक व्यवस्थामा मजदुरले आफ्ना अधिकारको निर्विवाद प्रयोग गर्न सक्छन्।’

गिरिजाप्रसाद कोइराला लगायतको नेतृत्वमा नेपालमा ट्रेड युनियन आन्दोलन सुरु भएको स्मरण गर्दै डा. महतले कोइराला नै प्रधानमन्त्री भएको बेला नेपालमा मजदुरको हक हित उल्लेख गरिएको कानुन ल्याइएको बताए। ट्रेड युनियन कानुन बनेपछि नै नेपालमा उद्योगधन्दाको विकास भएको बताउँदै उनले जसले देशको समग्र विकासमा सहयोग पुगेको दाबीसमेत गरे। कांग्रेसले ल्याएको नीतिकै कारण मजदुरको अधिकार स्थापित हुन सफल भएको भन्दै पछिल्लो समय नेपाली कांग्रेसकै सरकार हुँदा सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उनले स्मरण गरे।

उनले भने, ‘कांग्रेसको सरकारको पालामा पारित सामाजिक सुरक्षासम्बन्धी  कानुनको कार्यान्वयन गर्ने बेला केपी शर्मा ओलीले नयाँ युगको सुरुवात गरेको भन्दै जस लिए, कांग्रेसले जनताको हितमा गरेको कामप्रति हामी गौरव गर्छौं।’ वर्तमान कम्युनिस्‍ट सरकारले जनतालाई सपना र आश्वासन मात्र बाँडेको भन्दै डा. महतले कडा आलोचना गरे।

‘कम्युनिस्‍ट सरकारले तमाशा मात्र देखाइरहेको छ, यसले जनताको पक्षमा केही काम गर्दैन।’ उनले भने, ‘जनताको आधारभूत आवश्यकताको पूर्ति गर्न छाडेर रेल र पानीजहाजको सपना बाँडिरहेको छ।’ गरिबको नाममा नेताको सुख र सुविधा बढाउनेतर्फ मात्र सरकार र त्यसको नेतृत्व लागिरहेको उनको आरोप छ। मुलुकमा भ्रष्टाचार अनियमितता बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे।

संविधान निर्माणपछि नयाँ युगको सुरुवात भएको भनिए पनि संविधान कार्यान्वयनको अवस्था फितलो रहेको उनको भनाइ थियो। केन्द्र सरकारको कामप्रति प्रदेश मुख्यमन्त्रीहरू नै असन्तुष्ट रहेको उल्लेख गर्दै उनले कम्युनिस्‍ट सरकारले जनताको हितमा काम गर्न नसक्ने दाबी गरे। विदेशबाट सीप सिकेर स्वदेशमै उद्यम गर्न चाहने र गरिरहेका यवालाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा पार्टी मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, पार्टी निवर्तमान सभापति रघुरमण न्यौपाने, ट्रेड युनियन कांग्रेस नेतृ कल्पना अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए। आमसभाअघि ट्रेड युनियन कांग्रेसले हेटौंडाको फरेस्टी गेटअघिबाट र्‍यालीसहित बजार परिक्रममा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.