फिचर

बुद्ध सर्किटमा पर्ला गौतम बुद्धले नुहाएको बुद्धमंगल ताल ?
SHARES

बैशाख १९, २०७६

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१२ ऐतिहासिक बुद्धमंगल ताललाई आध्यात्मिक र धार्मिक क्षेत्रका रूपमा विकास गरिने भएको छ।

    भगवान् गौतम बुद्धसँग जोडिएको यो ताल अहिले जलुकुम्भी र भू-क्षयकाो चपेटामा पर्दै गएको छ। ताललाई आध्यमात्मिक र धार्मिक बनाउन प्रदेश-५ का सांसदसमेत रहेका दीपेन्द्रकुमार अधिकारीले नेतृत्व गरेका छन्। सांसद अधिकारीले प्रदेश-५ सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेपछि बुद्धमंगल ताललाई पनि त्यसैमा समेट्ने प्रयत्न भइरहेको बताए।  

    तालको प्रचारप्रसार र संरचना अभावले यसको महत्वलाई देश तथा विदेशमा पुर्‍याउन नसकिएको जहदाका स्थानीयको भनाइ छ। भगवान् गौतम बुद्धसँग सम्बन्धित विभिन्‍न ठाउँमा उत्खनन तथा विकास भइरहँदा बुद्धमंगल तालमा राज्य र सरोकारवालाको ध्यान पुगेको छैन। भगवान गौतम बुद्ध ओहोरदोहोर गर्ने क्रममा त्यसक्षेत्रमा बास बसी तालमा स्नान गरेर हिँड्ने गरेको जानकारहरू बताउँछन् । 

    नवलपरासीमा बुद्धसँग जोडिएका अन्य क्षेत्र रामग्राम स्तूप, पण्डितपुर, तरगौली पोखरीलगायत स्थानको चर्चा हुने गरे पनि बुद्धमंगल तालबारे जिल्लावासीलाई राम्रो जानकारी छैन। भगवान गौतम बुद्धको एक मात्र अस्तु धातु रहेको रामग्राम विश्वमाझ चिरपरिचित भइसकेको छ । त्यस क्षेत्रमा लुम्बिनी विकास कोषमार्फत् निर्माण हुने गरेको छ। 

    पण्डितपुरमा पनि केही वर्ष अघि उत्खनन भएपछि बुद्धको मामली प्रमाणित गर्ने धेरै आधार फेलापरेको उत्खननमा सहभागी पुरात्वविदहरूको भनाइ छ। बुद्धसँगै जाडिएको बुद्ध मंगल तालबारे नत लुम्बिनी विकास कोषको ध्यान पुगेको छ नत पुरातत्वविदहरूबाट खोजीको प्रयास भएको छ।

    स्थानीय तह गठन हुनुअघि ओझेलमा रहेको तालमा स्थानीय र प्रदेश सरकारले विकास निर्माण सुरु भएसँगै चर्चा चुलिन थालेको छ। ताल क्षेत्रलाई धार्मिक पर्यटकीय बनाउँदै स्वच्छ सुन्दर पर्यटकीय केन्द्र निर्माण गर्न बर्दघाट नगरपालिकाले करिब १० लाख खर्चिएको मेयर धिरज शर्मा बस्यालले बताए। यसै क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद दीपेन्द्रकुमार अधिकारीको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरेको छ। 

    ताल क्षेत्रमा ध्यान केन्द्र र अन्य पूर्वाधार विकास गर्दै सरसफाइ पनि गरिने भएको छ। सुन्दर ताल निर्माण गरेर शान्त र मनोरम वातावरणमा ध्यान गरी अध्यात्ममा रम्म चाहने आन्तरिक र बाह्‍य पर्यटकसमेत आकर्षण गर्न सकिने प्रचुर सम्भावना छ।  हिजोआज देशका विभिन्‍न ठाउँबाट र भारतीय नागरिकसमेत घुम्न आउने गरेका छन्। 

    प्रदेश सरकारले बुद्धसँग जोडिएका स्थानलाई जोडेर बुद्ध सर्किटको परिकल्पना गरेको छ । यस ताललाई पनि सर्किटमा जोड्नुपर्ने बुद्धमंगल ताल  सौन्दर्य समितिका अध्यक्ष दीपप्रकाश लोहनीको धारणा छ। ताल रहेको क्षेत्रमा दुईवटा रिङरोड निर्माण भएको छ।

    तालमा फुल्ने इन्द्रेणी र रातो रङको कमलको फूलले जो कोहीको मन लोभ्याउँछ। तालक्षेत्रमा जलदेवीको मन्दिर, शिव मन्दिर, राधाकृष्ण मन्दिर, अखण्ड ध्वनि, हनुमान मन्दिर र बुद्ध विहार रहेका छन्। धार्मिक हिसाबले यो क्षेत्र उत्तिकै चर्चामा छ। ताल जंगलसहित करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको छ । पानी रहेको क्षेत्र करिब २ बिघा ८ कठ्ठा छ ।

    बुद्धसँग जोडिएको इतिहास 

    बुद्धकालिन समयमा बुद्ध मंगल तालक्षेत्र आसपास धार्मिक व्‍यक्तिको बसोबास हुने गरेको भनाइ छ। तत्कालीन समयमा त्यस क्षेत्रमा दविला र मंगला दुई भाइ अत्यन्त धार्मिक स्वभावका रहेको खुलेको छ । गौतम बुद्ध धर्म प्रचारको समयमा उनीहरूकोमा आएको बताइन्छ। 

    मंगलासँग गौतम बुद्धको मितेरी साइनोसमेत रहेको बुढापाका बताउँछन् । गौतम बुद्ध धर्म प्रचारको समयमा किरात कालका सातौँ राजा जितेदास्तीलाई  भेट्न काठमाडौं जाने क्रममा यहाँ बसेको बताइन्छ। यति मात्रै होइन बुद्धत्व प्राप्त गर्न बस्त्र परित्याग र मुण्डन गर्न अनुमा घाट जानेक्रममा मंगलाको घरमा रात बिताइ तालमा स्नान गरेको भनाइ छ। 

    ताल क्षेत्रमा स्थानीयले २०३४ सालमा खाल्डो खन्दा बुद्धकालिन समयका सिक्का भेट्टिएको बताउँछन्। प्रदेश सांसद अधिकारीले बाल्यकालमा स्कुल पढ्न त्यसै क्षेत्रबाट पैदल यात्रा गर्ने गरेको स्मरण गर्दै तत्कालीन समयमा रामले धनुष  उचालेको तस्बिररसहितका सिक्का भेट्टाएको सुनाए ।

    त्यस क्षेत्रमा पुराना इँटाका टुक्रा र माटोका भाडाका टुक्रासमेत भेटिएका थिए । ती बुद्धकालीन हुनसक्ने बुद्ध मंगल ताल क्षेत्रको लामो समयदेखि खोज तथा अध्ययन गदै आएका दीपप्रकाश लोहनीको भनाइ छ।

    ताल क्षेत्र आसपासमा उत्खनन गर्न सके धेरै आधार भेटिने स्थानीय बताउँछन् । लुम्बिनी विकास कोषको पहलमा पुरातत्वविदबाट उत्खखनन गराउन सके तालको विकासमा थप सहयोग पुग्ने सांसद अधिकारीको भनाइ छ। 

    धार्मिक किम्बदन्ती 

    यस पोखरीबारे अनौठो कथा छ। गाउँबासी र वरपरका गाउँलेको घरमा विवाह, भोजभतेर गर्नुपरेमा भाँडाकुँडा लिन पोखरीमा गई धूप, दीप तथा अक्षता लिई पोखरीको डिलमा बसी एकैछिन आँखा चिम्लिएर आराधना गरेपछि पोखरीबाट मागे अनुसारको भाँडा एउटा डुंगामा भरिएर आइपुग्ने र काम सकिएपछि फर्काउने चलन रहेको किम्बदन्ती छ। 

    एकदिन एकजना गाउँलेले छोरीको बिहेका लागि पोखरीमा भाँडा लिन आएछन्। आरधना गरी मागेअनुरूपका भाँडा पनि पाएछन्। विवाह सकिएपछि राम्राराम्रा भाँडा घरमा राखी नराम्रा भाँडा पोखरीको छेउमा राखिदिएछन्। त्यस दिन राति देवीले सपनामा आफूले सहन नसक्ने बताएपछि गाउँलेहरूले ती व्‍यक्तिलाई भाँडा फिर्ता गर्न लगाउँदा बेचिसकेको भन्दै अटेर गरेछन् । 

    केही समयपछि उनी रगत बान्ता गरेर मरेको किम्बदन्ती छ । त्यसपछि पोखरीबाट कसैले भाँडाकुँडा नपाएको कथा छ। त्यसपछि देवी रिसाएर दक्षिण पश्चिम भूभागबाट पोखरी फुटाएर बाहिरिएको धार्मिक कथा पनि छ। अहिले पनि त्यही ठाउँबाट पानी बाहिर जाने गरेको देख्न सकिन्छ।

विष्णु खनाल

खनाल थाहा खबरका नवलपरासी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]