दलहरूमा विवाद, फरक मत राख्ने सांसदलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी

|
संसदमा राजधानीका लागि चार सहरका नाम प्रस्ताव पेश भएकोबारे जानकारी दिँदै प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली।

विराटनगर : प्रदेश १ को प्रदेशसभामा राजधानी र नामको विषय प्रस्ताव गर्ने समयावधि आइतबार सकिएको छ। यो अवधिमा चार वटा प्रस्ताव संसद सचिवालयमा दर्ता भएको प्रदेश १ को संसद सचिवालयले जनाएको छ। नामको विषयमा भने कुनै पनि दलले प्रस्ताव नै नहालेको सचिवालयले जनाएको छ।

साँझ पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दिएको जानकारीअनुसार दर्ता भएका प्रस्तावमध्ये २ वटामा धनकुटा प्रस्ताव गरिएको छ भने नेकपा संसदीय दलको तर्फबाट भने विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरिएको छ।

यस्तै नेपाली कांग्रेसले पनि विराटनगर नै राजधानी हुनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएको छ। प्रदेशसभामा दुई तिहाइ मत रहेको नेकपाले विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावको कैफियतमा कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचना बृहत विराट क्षेत्र अन्तरर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ भन्ने उल्लेख छ। उक्त प्रस्तावको प्रस्तावक बुद्धिकुमार राजभण्डारी र समर्थकमा लिलम बस्नेत, विजयकुमार विश्वास, राजकुमार ओझा, यशोदा अधिकारी र सावित्रीकुमारी रेग्मी रहेका छन्।

यस्तै धनकुटा राजधानीको प्रस्तावक लिला सुब्बा रहेको प्रस्तावमा प्रताप प्रकाश हाङ्गाम र रामचन्द्र लिम्बू समर्थक रहेका छन। यस्तै निरन राई प्रस्तावक रहेको धनकुटालाई राजधानी बनाउने प्रस्तावको समर्थक इन्द्रमणी पराजुली, कुशुमकुमारी श्रेष्ठ, बिनादेवी राई रहेका छन्। यस्तै विराटनगर महानगरपालिका भित्रै राजधानी हुनुपर्छ भन्ने प्रस्तवाका प्रस्तावक केदार कार्की रहेका छन् भने  समर्थकमा शिवनारायण गनगाई र जयराम यादव रहेका सचिव पराजुलीले जानकारी दिए।

धनकुटा राजधानी बनाउनु पर्छ भन्दै प्रस्ताव पेश गर्ने निरन राई नेकपाका सांसद हुन् भने धनकुटालाई नै राजधानी माग गर्दै अर्को प्रस्ताव पेश गर्ने लिला सुब्बा नेपाली कांग्रेसकी सांसद हुन्। विराटनगर राजधानी बनाउने र प्रशासनिक संरचना इटहरी, सुन्दरहरैंचा आसपास राख्ने प्रस्ताव नेकपा संसदीय दलको आधिकारिक प्रस्ताव हो भने विराटनगर माहानगरपालिकामा नै राजधानी तोकिनुपर्छ भन्ने प्रस्ताव नेपाली कांग्रेसको रहेको छ।

दलहरूमा विवाद

प्रदेश १ को राजधानी विराटनगर प्रस्ताव गरेसँगै नेकपामा विवाद देखिएको छ। नेकपाका कतिपय सांसदले राधजानी धनकुटा प्रस्ताव गर्दै संसदमा प्रस्ताव पेश गरेपछि नेकपाभित्रै विवाद देखिएको हो। यता, नेपाली कांग्रेसमा पनि विराटनगर राजधानी बनाउनु पर्छ भन्ने प्रस्तावमा विवाद देखिएको छ।

नेकपा संसदीय दलको आधिकारिक प्रस्तावको रूपमा विराटनगरलाई राजधानी बनाउने र कैफियतमा उल्लेख गरेर विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा कार्यपालिका व्यष्वस्थापिका लगायतका अन्य संरचना रहने प्रस्ताव दर्ता भएको छ। सो प्रस्ताव दर्ता हुँदै गर्दा नेकपाकै सांसद निरन राईको प्रस्ताव र इन्द्रमणि पराजुली तथा कुशुमकुमारी श्रेष्ठ समर्थक रहँदै धनकुटा माग गरेको अर्को प्रस्ताव पनि संसदमा दर्ता भएको छ।

यता नेपाली कांग्रेसले दलको तर्फबाट विराटनगर राजधानी बनाउनु पर्ने प्रस्ताव दर्ता गराउँदै गर्दा कांग्रेसकै सांसद प्रकाशप्रताप हाङ्माङले धनकुटा राजधानी बनाउनु पर्ने प्रस्तावमा समर्थन जनाएका छन्। संघीय समाजवादी फोरम नेपाल दलका नेता जयराम यादवले विराटनगर राजधानी बनाउनु पर्ने कांग्रेसको प्रस्तावमा समर्थन गर्दै गर्दा सोही पार्टीका लिला सुब्बाले धनकुटा राजधानी बनाउनु पर्ने प्रस्ताव गरेका छन।

सदनमा एउटै प्रस्ताव जान्छ : मुख्यमन्त्री राई

दलहरूबीचमा सहमतिका दौडधूप गरिरहेका मुख्यमन्त्री शेरधन राई सहमतिमा ल्याउन अन्तत असफल भएका छन्। संसद सचिवालयमा प्रस्ताव दर्ता भइसकेपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले सबै दलको आग्रहमा बृहत विराट क्षेत्रलाई नराखी सिधै राजधानी विराटनगरलाई राजधानी तोकिएको भएपनि कांग्रेसले असहयोग गर्न नपाउने जिकिर गरे।

मुख्यमन्त्रीले नेकपाका सांसदले गरेको अन्य प्रस्ताव संसदमा नजाने बताउँदै आफूहरूले बनाएको प्रस्ताव नेकपाका लागि र सबै प्रदेशका लागि सहमतिको सुन्दर प्रस्ताव भएको दाबी पनि गरे। उनले फरक–फरक प्रस्ताव दर्ज भएपनि प्रदेशसभाको बैठकमा एउटै प्रस्तावमा सहमति जनाउने विश्वास व्यक्त गरेका छन्। संसदमा नेकपाका सांसदहरूले छुट्टै प्रस्ताव दर्ता गरेको विषयमा अनुशासन उल्लंघन हुने भन्दै मुख्यमन्त्रीले कारबाही गर्ने चेतावनी दिए। नेकपामा अराजक हुने सुविधा नभएको बताउँदै राईले आफ्नो पार्टीका सांसदहरूले प्रस्तावको रुपमा कुनै प्रस्ताव संसदमा नलाने दाबी पनि गरे।

नामको विषयमा छलफल भइरहेको बताउँदै राईले एउटै फारममा प्रस्ताव लिएर जान नसकेको भएपनि सभामुखसँगको परामर्शमा अर्को अधिवेशनमा छलफल हुने जानकारी पनि दिए।

यता नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले क्रान्तिको भूमि र जननायक विपी कोइराला लगायतको स्थानलाई नै राजधानी तोक्नु पर्ने आफूहरूको माग सम्बोधन नभएको कारण छुट्टै प्रस्ताव दर्ता गरिएको बताए। धनकुटा राजधानी बनाउनुपर्छ भन्ने विषयमा आफ्ना सांसदले समर्थन गरेको प्रस्तावको विषयमा आफूलाई जानकारी नभएको उनले बताए।

धरानद्वारा राजधानी माग्दै प्रदर्शन

यता धरानलाई राजधानीको माग गर्दै धरान उपमहानगरपालिकाकी कार्यवहाक प्रमुख मञ्जु भण्डारी लगायतको टोलीले संसद सचिवालय अगाडि नाराबाजी र धर्ना दिएको छ। मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, विपक्षी दलका नेता राजिव कोइरालालाई धरान राजधानी बनाउनु पर्ने माग सहित ज्ञापन पत्र दिएको उक्त टोलीले केही समय सिठ्ठी जुलुस पनि गरेको थियो। भण्डारीले धरान सुन्दर र सफा भएको, भौतिक संरचना पर्याप्त भएको र सबै पहाडी जिल्लाको केन्द्रबिन्दु पनि भएकोले राजधानी बनाउनु पर्ने तर्क गरिन्।

प्रदेशभा प्रस्ताव दर्ता भएसँगै राजधानीको विषय मंगलबारसम्म टुंगिने भएको छ। राजधानी तोक्न संसदमा दुई तिहाइ मत आवश्यक हुने संविधानमा उल्लेख छ। दुई तिहाई मत रहेको नेकपाले गरेको प्रस्ताव नै संसदबाट पारित हुने देखिएसँगै प्रदेश १ को स्थायी राजधानी विराटनगर नै तय हुने पक्का पक्की भएको छ। प्रदेशसभामा नेकपाका ६७, नेपाली कांग्रेस २१, संघीय समाजवादी ३, राप्रपा र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १-१ जना गरी प्रदेशसभामा ९३ जना सांसद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.