पोखरा : गण्डकी प्रदेशले आफुलाई चाहिने पेट्रोलियम पदार्थको भण्डारणको लागि काम अघि बढाएको छ।
उद्योग पर्यटन वन वातावरण मन्त्रालय मार्फत गण्डकी सरकारले जग्गा छनोट गरी संघ सरकारलाई सिफारिस गरेको हो। ९० हजार लिटर तेल भण्डारण गर्न जग्गा छनोटका गरि गण्डकी सरकारले तनहुँको आँबुखैरेनी–२ मा उपयुक्त हुने ठहर गर्दै संघ सरकारलाई सिफारिस गरेको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए। ‘कम्तिमा ३ महिनाका लागि आवश्यक डिजेल पेट्रोल भण्डारण गर्न सक्ने ठाउँ हेरिएको छ’ सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बस्नेतले भने, ‘कुन कुन स्थानमा हुन सक्छन भन्ने बारे जग्गाको सिफारिस भएर आएको थियो। ति मध्ये उपयुक्त ठाउँ आँबुखैरेनी हुने समितिले ठहर गरेपछि सिफारिस भएको हो।’
पेट्रोलियम पदार्थको भण्डारणका लागि विभिन्न ६ स्थानका जग्गा सिफारिस भएका थिए। तनहुँकै शुक्लागण्डकी नगरपालिका –३ को गाछेपानीमा रहेको २ सय रोपनी जग्गा, त्यस्तै शुक्लागण्डकी ८ मा रहेको तिब्बेतियन क्याम्पसँग जोडिएको जग्गा, तनहुँमै रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास प्रतिष्ठान नजिकको जग्गा, आँबुखैरेनीको मस्र्याङदी जलविद्युत आयोजनाको ड्याम नजिक मार्किचोकमा रहेको जग्गा, गोरखकाली रवर उद्योग र पालुङटार नगरपालिका क्षेत्रको जग्गा सिफारिस भएका थिए। यि मध्ये आँबुखैरेनीको जग्गा उपयुक्त हुने ठहर गर्दै संघ सरकारलाई सिफारिस गरिएको बस्नेतले जानकारी दिए।
प्रवत्ता बस्नेतका अनुसार प्रदेश सरकारले जग्गा उपलब्ध गराए नेपाल आयल निगमले नै भण्डारण केन्द्र निर्माण गर्ने तयारी गरेको छ। प्रदेशको पेट्रोलियम पदार्थको माग बढ्दै गएकोले त्यसको माग पुर्तिका लागि सरकारले तीन महिना सम्मका लागि भण्डारण गर्न मिल्ने केन्द्र तयार गर्न लागेको हाे।
पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माणको लागि मन्त्रिपरिषदको बैठकमा उद्योग वन वातावरण पर्यटन मन्त्रालयको तर्फबाट प्रस्ताव आएको थियो। सरकारले उर्मिला काफ्लेको अध्यक्षतामा जग्गा छनोट समिति गठन गरेर अध्ययन अघि बढाएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।