'नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती छ'

|

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष एकआपसमा निषेधात्मक अवस्थामा गएर आफ्नो भूमिका निभाउनुपर्ने अवस्था आइनसकेको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले सत्य निरुपण र बेपत्ता खोजबिनका काम बाँकी रहेको र विकासका काम मिलेर अगाडि बढाउनुपर्ने भएकाले एकअर्कालाई निषेध गरेर जाने अवस्था नभएको बताए। नीति तथा कार्यक्रममाथिको बहसमा सत्तापक्ष र प्रतिपक्ष तयारीका साथ आएकाले राम्रो बसह भएको धारणा राखेका थिए।

मिलेरै अझै अगाडि जानुपर्ने धारणा राख्दै प्रचण्डले भने, 'हिजो पञ्चायतमा जस्तो र राजतन्त्रमा जस्तो सोचेर बहस गर्नुहुन्न। सोच शैलीलाई आजको व्यवस्थाअनुसार परिवर्तन गरेर जानुपर्दछ भन्ने लाग्दछ', उनले थपे, 'यो परिवर्तन समझदारी, सहकार्यको बलमा नै युगलाई नै परिवर्तन गर्ने गरी ल्यायौँ। युद्धका मूलभूत कामहरूलाई शान्तीका काममा रुपान्तरण गरिसकेका छौँ। सत्य निरुपण र बेपत्ता खोजबिनबारेका कामलाई निरुपण गरेर स्थायी गर्ने काम बाँकी छ। हामी सत्ता र प्रतिपक्ष दुवै मिलेर यो ऐतिहासिक काम पूरा गर्नुपर्छ।'

प्रतिपक्ष कांग्रेसलाई आह्वान गर्दै प्रचण्डले भने, 'परम्परागत अवस्थाको संसदीय अवस्थामा गएर बहस गर्ने भन्ने छुट हामीलाई छैन। संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्ने अवस्था कायमै छ।' उनको आग्रह थियो, 'एकअर्कालाई निषेधात्मक रूपले आलोचना गर्ने अवस्था छैन। सहमती, सहकार्य र एकताको भावनालाई अगाडि बढाउनुपर्छ। संसारमा प्राय असम्भव देखिएका काम गरेका शक्ति हामी यहाँ छौँ।'

राष्ट्रपतिबाट संसदमा प्रस्ततु भएको सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्दै प्रचण्डले विकास र समृद्धी तथा सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि एकता र सहकार्यको आवश्यक रहेको बताए।

ओली नेतृत्वको सरकारलाई समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षाका लागि पहिलो वर्ष गरेको प्रयासका लागि प्रचण्डले धन्यवाद दिएका थिए। सरकारले गत असोज ३ भित्र संविधानअनुसार ऐन नबनाएको भए संवैधानिक अन्यौलता आउने अवस्था रहेको त्यो सफलतापूर्वक सम्पन्न गरिएको धारणा राखे। उनले पहिलो वर्षलाई सरकारले आधार वर्ष घोषणा गरेको र सो काम काम सफल भएका उनले बताए।

'नयाँ सरकार बनेपछि भारत-चीन र अन्तर्राष्ट्रिय समुदायसँगका सम्बन्ध सन्तुलित बनाउने र विकासमा साझेदार बनाउन जुन प्रयास भएका छन् यसलाई जनताले राम्रोसँग बुझेका छन्', सरकारका एक वर्षका कामलाई लिएर प्रचण्डले भने, 'यसले ऐतिहासिक आधार तयार भएको छ। भारतसँगको सीमाना, हवाइ, रेलमार्गसँग सम्बन्धित जे जति काम यो सरकार गठन भएपछि अगाडि आएका छन् ती दूरगामी महत्वका छन्। तिनले विकासको आधार तयार पारेका छन्।'

प्रचण्डले अगाडि भने, 'चीनसँग भएका सम्झौता तथा राष्ट्रपतिको भ्रमणमा भएका हस्ताक्षरले नेपालको विकास प्रयास र राष्ट्रिय हितमा सकरात्मक र महत्वपूर्ण काम भएका छन्। पहिलो वर्ष सरकारले आधार वर्ष बनाउने कुरामा सफल भएको छ। यी कामले आउने पिँढीका लागि पनि प्रभाव रहिराख्छ। समृद्धिको दिशातिर लगिराख्छ।'

कृषिमा र भूमिमा आधुनिकीकरण गर्न सकिएन र उत्पादनको मूख्य आधार कृषि र भूमिलाई बनाउन सकिएन भने समृद्ध नेपाल बनाउन सम्भव नभएको भन्दै प्रचण्डले कृषिमा आधारित उद्योग स्थापनामा जोड दिइएको छ नीति तथा कार्यक्रम नेपालको माटो सुहाउँदो भएको बताए। उनले सकुम्बासी समस्या जमिन बाँडेर मात्रै समाधान नहुने भएकाले उद्योग स्थापनाको परिकल्पनालाई ठीक ढंगले कार्यान्वयन गर्दा बेरोजगारी सँगै सुकुम्बासी समस्या समाधान हुने बताए।

प्रचण्डले नीति तथा कार्यक्रममा ल्याएका योजनाको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। नेपालको विगत विकास निर्माणका दृष्टिकोणले उत्साहजनक नभएको बताए। त्यसैले नयाँ नीति तथा कार्यक्रम ल्याउँदा स्वैरकल्पना जस्तो लाग्नु स्वभाविक भएको बताए। उनले काठमाडौंलाई रेलमार्फत उत्तर र दक्षिणबाट जोड्न सकिएला त भन्दा काल्पनिक जस्तो लाग्नु स्वभाविक भएको धारणा राखे। त्यस्तै, विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थलका कुरा गर्दा यस्तो होला त भन्ने लाग्नु स्वभाविक भएको धारणा राखे।

प्रचण्डको आग्रह थियो, 'जनता र जनप्रतिनिधिले यस्ता सपना देख्नुपर्छ र पूरा गर्न लाग्नुपर्छ। तथाकथित सम्भव कुरा मात्रै गर्ने सन्दर्भमा लाग्यौँ भने समृद्ध नेपालको सपना पूरा हुन सक्दैन।' यी योजना पूरा गर्नका लागि अभियान नै संचालन गरेर जनतालाई जोड्नुपर्ने प्रचण्डको धारणा थियो।

प्रचण्डले राजनीतिक परिवर्तन अनुसार राज्यका सबै संरचनाहरूलाई परिवर्तनअनुकूल बनाउन सक्यो कि सकेन भन्ने कुरा हेर्दा उत्साहजनक नदेखिएको धारणा राखे। प्राप्त राजनीतिक परिवर्तन उपलब्धिलाई संस्थागत गर्ने र जनतामाझ लैजाने तथा राज्यका संयन्त्रलाई त्यसअनुसार प्रेरित गर्न नेपाली नेतृत्व ७० वर्षदेखि चुकेको अनुभव नेपालसँग रहेको उनको धारणा थियो। अहिले यो अवस्थामा परिवर्तन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न खडा भएको पनि प्रचण्डको धारणा थियो।

प्रचण्डले वर्तमान अवस्थामा राजनीति डाइल्यूट गर्ने प्रयास भइरहेको बारे पनि सचेत गराएका छन। उनले भने, 'कहिँ न कहिँ पूरातन तथा पुरानै सोच र शैली हावी हुने त होइन? यो प्रश्न हल भइसक्यो भनेर ढुक्क हुने अवस्था छैन। १ वर्षको अवधिमा जति पनि सरकारले अप्ठेरा बेहोरेको मैले नजिकबाट हेरेँ, सहज ढंगले सबैचिज गएको देखेको छैन।' उनले संघीयता कार्यान्वयन, नयाँ संरचना बनाउने र कर्मचारी समायोजननमा समस्या आइरहेका बताए। उनले यी समस्याहरू दिनदिनै बढ्दै गएको धारणा राखे।

ठूलो आकांक्षासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको प्रचण्डको भनाइ थियो। आलोचना गर्ने प्रतिपक्षको धर्म भएको बताउँदै प्रचण्डले प्रतिपक्षको आलोचनालाई साथमा लिएर जानुपर्छ भन्ने आफ्नो धारणा राखेका थिए। उनले भने, 'राम्रा कुरा स्वीकार गर्ने र नराम्रा कुरा अस्वीकार गर्ने हो। हामी एकअर्कासँग निषेधात्मक रूपमा लडे हुन्छ भन्ने अवस्था आइसकेको छैन।'

प्रचण्डले अन्तिममा भने, 'परिवर्तनको रक्षा गर्न सकेनौँ, सुदृढ गर्न सकेनौँ र अब त्यस्तो अवस्था आउन दिने छैनौँ भनेर विस्वास दिलाउन सकेनौँ तथा हिजोको जस्तै त्याग, तपस्या र संकल्प नेतृत्वले गर्ने होइन भने खतराको घण्टी बज्न सक्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.