वाइडबडी कहाँ छ? पोखरा–लुम्बिनी रेल कता हरायो?

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दिउँसै सपना देख्ने नेकपा नेतृत्वको सरकारलाई डाक्टरको खाँचो रहेको बताएका छन्। 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै नेता खाँण यस्तो बताएका हुन्। 

‘सरकारले सपना सुतेका बेला देख्दैन, उठेका बेला देख्छ, हिँडिरहेका बेला देख्छ। दिउँसो सपना देख्छ, दिउँसो सपना देख्यो भने के हुन्छ ?’, उनले भने, ‘आज सपना देखियो, भोली सपना देखियो, दिनदिनै सपना देखियो भने डाक्टर खोज्नुपर्छ, यो सरकारलाई डाक्टरकहाँ लानुपर्ने भएको छ। दिउँसो सपना नदेख्नु। राति देख्नु। सरकाले राति सपना देखोस र जनतालाई पनि राति नै सपना देखाओस।’ 

नेता खाँण संविधानमै स्पष्ट नेपाल सरकार लेखिएको अवस्थामा ‘मेरो सरकार’ भनिनु  आपत्तिजनक रहेको बताए। ‘नेपालको संघीय कार्यकारिणीको काम नेपाल सरकारले गर्नेछ गरिनेछ भनेर लेखिएको छ’, उनले भने, ‘कुनै कविले महाकाव्य खण्डकाव्य लेख्यो भने मिल्छ। तर संविधानमा उभिएको राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु घोर आपत्तिजनक हो।’ 

पोखरा–लुम्बिनी रेल गायब

प्रमुख सचेतक खाँणले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा रसुवागढी–पोखरा–लुम्बिनी रेल रहेको उल्लेख गर्दै अहिले पोखरा–लुम्बिनी रेल गायब भएको बताए। 

‘अहिलेको नीति तथा कार्यक्रममा पोखरा–लुम्बिनी रेल हरायो। गौतम बुद्ध एयरपोर्ट अघिल्लो साल नै एक वर्ष भित्र बन्ने भनिएको थियो, अहिले पनि एक वर्ष भित्र भनिँदैछ, कहिलेको एक वर्ष हो?’

नेता खाँण केपी ओली नेतृत्वको सरकारको सुशासनमा बालुवाटार र खुलामञ्च दुवै हराएको दाबी गरे। उनले वाम नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताए। 

‘ओली सरकारको सुशासनमा बालुवटार अर्कोले लगिसक्यो, खुलामञ्च छैन, एनसेल भागिसक्यो,’ खाँणले भने, ‘वाइडबडी कहाँ छ कहाँ छ ? प्रधानमन्त्रीले वाइड बडी, एनसेल र बालुवाटारमा मुछिएकालाई निदोर्ष छ भने। उनलाई यो अधिकार कसले दियो  ?’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.