'मेरो सरकार' जानेरै राखिएको स्पष्टिकरण

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन् । एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी योजनासहित ल्याइएको प्रधानमन्त्रीले बताए । 

‘आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो,' वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नहरुको प्रतिनिधिसभामा आज जवाफ दिंदै प्रधानमन्त्रीले भने, 'अग्रगामी सोचसहित ल्याइएको हो ।’

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख गरे । 'कतिपय साथीहरुलाई सपना रातिमात्रै देखिने भन्ने पनि लागेको छ, यहाँ सपनाको कुरा गरेको राति देखिने होइन, यहाँ देश बनाउने सपना हो,' उनले भने, 'सहिदको सपना पूरा गर्ने भनेको निदाएर घुरेर देखिने सपनामात्र होइन ।'

प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे । बहुमत आफैँमा स्थिरता र स्थायित्व नहुने बताउँदै उनले योजना र नीतिले त्यसलाई स्थायित्व दिलाउने उल्लेख गरे । नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ । 

'आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्धजस्तो छ भने एक मित्रले, यसमा धेरै केही भन्‍नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ,' उनले भने, 'असावधानीसाथ शब्द प्रयोग गर्नुभएजस्तो लाग्छ, योजनाबद्ध छैन, खोक्रो छ भनेर । लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?'

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझी राखेको स्पष्ट पारे । 'राष्टपतिज्यूले मेरो सरकार भने, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन । यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,' उनले भने, 'कांग्रेस लोकतान्त्रिक अभ्यास भएको पार्टी हो ।  कांग्रेसले साह्रै आलोकाचोपन देखाउनुहुँदैन । प्रतिपक्षी दलका नेताले बेलायतकी महारानीजस्तो भने, त्यस्तो नकारात्मक टिप्पणी गर्नु हुँदैन, बेलायत मित्रराष्ट्र हो ।' 

  •     नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको छ ।
  •     नीति कार्यक्रम लामो हुन सक्छ, स-विस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?
  •     ‘मेरो सरकार’ जानीबुझीकन राखेको हो ।
  •     संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो ।
  •     ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । त्यो सुन कहाँ गयो । पहिलेको सरकारले थाहा पाउला । अहिलेको सरकार       आएपछि रोकियो ।
  •     वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणको जानकारी ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति केही पनि हैन भन्‍ने होइन, राज्य व्यवस्थाको सर्वोच्च सम्मानित र अभिभावकीय संस्था भएको स्मरण गराए । प्रधानमन्त्रीले प्रतिपक्षीलाई मेरो सरकार भन्‍ने अप्ठेरो भएको उल्लेख गर्दै भने, 'अब हेर्नुस् न प्रतिपक्षलाई पनि कति फाइदा हुने बजेट आउँछ ।'

प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबझाउन आग्रह गरे । 'सुशील कोइराला प्रधानमन्त्री भएका बेला यति संशोधन भए पुग्छ भनिएको थियो,' संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने बताउँदै भने, 'हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा गीत गाउने विषय होइन । यो त 'पब्लिक कन्जम्सन'का लागि जस्तो भयो । त्यसो नगरौं ।'

'बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ? अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र ? बरु अहिलेको सरकारले ल्याएको हो । अहिले त छानबिन हुँदैछ, खोजी हुँदैछ', प्रधानमन्त्रीले सरकारले हडपिएका सार्वजनिक जमिन सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, 'अहिले हो वाइडबडी घोटाला भएको, पहिले भएकाहरुको छानबिन हुँदैछ ।'

प्रधानमन्त्रीले वर्तमान सरकारले नै सुन तस्करीको अन्त्य गरेको बताए । 'कतिपय माननीयहरुले सुन तस्करी के भयो भने । बन्द भयो । उनीहरु जेलमा छन् । प्वाँल बन्द गरियो', उनले भने,'३८ क्विन्टल सुन तस्करी भएको रहेछ । त्यो सुन कहाँ गयो । पहिलेको सरकारले थाहा पाउला । अहिलेको सरकार आएपछि रोकियो।' 

प्रधानमन्त्रीले ०४८ मा शिक्षक र कर्मचारीलाई यसरी पूर्वाग्रहपूर्णरुपमा लखेटिएको स्मरण गर्दै भने, ‘त्यसको विरोध गर्‍यौं, अब यस्ता अभ्यासहरु हुँदैनन् ।'

गत वर्षबाट नीति कार्यक्रम सर्वसम्मत पारित गर्ने परम्परा बसेको बताउँदै यस झन् परिमार्जित आएकोले सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीले अपिल गरे ।

भ्रमणको जानकारी

प्रधानमन्त्री ओलीले वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणमा जान लागेको जानकारी दिंदै त्यसबाट पर्यटन र विविध पक्षमा फाइदा हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.