|

मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो। १३४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको प्रदेश २ ले २६.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि रोहन विकले ३६ रन बनाए भने विशाल पटेलले २८ रन जोडे। त्यस्तै निखिल सिंहले २७ रनको योगदान दिए भने शेख इमरानले १४ रन बनाए।

सुदूरपश्चिमका लागि आशिष भट्टले ३ विकेट लिए भने सचिन बदायाक र गोविन्द विष्टको भागमा समान १-१  विकेट रह्यो। त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सुवास ऐरले ४७ रनको योगदान दिए भने सन्दीप विष्ट २८, आशिष भट्ट २१ र गोविन्द विष्टले १४ रन जोडे।

प्रदेश २ का लागि निखिल सिंह र विशाल पटेलले समान ३-३ विकेट लिए भने प्रशान्त सिंह अरबाज अन्सारीको भागमा समान १-१ विकेट रह्यो। उपाधिसँगै प्रदेश २ ले  दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रुपैयाँ पायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए भने उत्कृष्ट बलर प्रदेश ३ का दीपक बोहोरा चुनिए। यस्तै उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई घोषित हुँदा उदयमान खेलाडी प्रदेश ३ का स्पिनर भार्गव चटौत भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.