|

ताप्लेजुङ : तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्। बुधबार सम्पन्न खेलमा साबिक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफ क्लबलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन्।

पहिलो सेमीफाइनलमा पाँचजना राष्ट्रिय खेलाडीलाई मैदान उतारेको पुलिसले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो। ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबजारस्थित नारायणी माविको मैदानमा भएको पहिलो सेमीफाइनलमा २५–१८,२६–२४,२५–१७ अंकको सोझो सेटमा पुलिससँग गण्डकी स्तब्ध बनेको थियो। पुलिसलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका विशाल विक म्यान अफ द म्याच घोषित भए।

यस्तै, त्रिभुवन आर्मी एपिएफलाई ३–१ को सेटमा हराउँदै उपाधिनजिक पुगेको हो। निकै प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा आर्मीले एपिएफमाथि २५–२१,२५–२०,२०–२५,२६–२४ अंकको जित निकाल्यो।

आर्मी सात जना राष्ट्रिय टिमका खेलाडीसहित मैदानमा उत्रिएको थियो। आर्मीका धनबहादुर भट्ट म्यान आफ द म्याच घोषित भए। गुराँसको राजधानी मानिने टिएमजे क्षेत्रमा रहेको साँघुमा ‘पर्यटन प्रवर्द्धनका लागि भलिबल’ भन्ने नारासहित प्रतियोगिताको आयोजना गरिएको हो। वैशाख २२ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए। फाइनल खेल बिहीबार हुनेछ।  

प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्नेछ। यस्तै, उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०/५० हजार पाउने आयोजकले जनाएको छ।  त्यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउनेछन्। व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७/७ हजार पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.