उत्खनन जारी, संग्रहलाय बनाउन माग

|

अछाम : क्याम्पस भवनको जग खन्ने क्रममा जमीनमुनिबाट फेरि सुनचाँदी फेला परेको छ । साँफेबगर नगरपालिका-२ श्रीकोटमा थप सुनचाँदी भेटिएको हो । 

यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेको थियो। आज शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।

भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो।उनीहरुको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको हो।

क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा खोजी गरेको थियो। माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले बताए । जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले बताए।

सुन भेटिएको स्थान अवलोकन

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुन भेटिएको श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणस्थलको स्थलगत अवलोकन गरेका छन् । सुन भेटिएको स्थानको निरीक्षणपछि नेता रावलले पुरातात्विक गहनाको संरक्षणका लागि श्रीकोटमा सङ्ग्रहालयको स्थापना गर्नुपर्ने बताए।।

त्यसका लागि आफूले पहल गर्नेसमेत उनले बताए । रावललले श्रीकोटमा पुरातत्व विभागको नियमअनुसार जिल्लामा नै उक्त सुनचाँदी राख्न पहल गर्नेसमेत बताए । 

विसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभाव मेटाउन र सिञ्जाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला उक्त ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयवासी बताउँछन् । 

पछि गएर स्थानीयवासीले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्वकालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.