|

भक्तपुर : सूर्यविनायक नगरपालिका-४ बालकोट र मध्यपुरथिमि नगरपालिका-४ शंखधरचोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुलमाथि मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठको निर्देशनमा डोजर चलाएर भत्काइएपछि पुल निर्माण कार्य अलपत्र परेको छ। 

जिल्ला विकास समितिको मातहतमा रहेर  प्रदेश ३ काे भौतिक पूर्वाधार कार्यालय धुलिखेलअन्तर्गत स्थानीय सडक पुल सहयोग इकाई ललितपुरको प्राविधिक सहयोगमा कुल दुई करोड रुपैयाँको लागतमा २०७२ बैशाखदेखि भण्डारी थोटुङ-श्यामबाबु जेभी कम्पनीले निर्माण सुरु गरेको उक्त पुल निर्माणको अन्तिम चरणमा रहँदा भत्काएको थियो।

ढलान गर्न तयारी अवस्थामा राखेको डण्डी र बेसहरू डोजर लगाएर खोलामा खसालिएको छ। नगर प्रमुखले निर्माण कम्पनी, जिल्ला समन्वय समिति वा भौतिक पूर्वाधार कार्यालय कोहीसँग पनि समन्वय वा त्यसबारे जानकारी नगराई आफैँले डोजर लगेर भत्काइदिँदा पुल निर्माण कार्य नै अलपत्र परेको भण्डारी थोटुङ-श्यामबाबु जेबी कम्पनीका सञ्चालक गणेश कार्कीले बताए। कार्कीले भने, 'ढलनको तयारीमा थियो। पुल निर्माणको सबै काम सम्पन्न गरेर आगामी तीन सातामा यातायात सञ्चालन गर्न सकिन्थ्यो। तर मध्यपुरका प्रमुखले जंगली पारामा आफैँ आएर डोजर लगाएर सबै भत्काएर गए।'

निर्माण कम्पनीले केही गल्ती गरेको भए निर्माण रोक्न आदेश दिएको भए पनि काम रोकेर सहज तरिकाले काम गर्न दुवै पक्ष बसेर छलफल गर्न सकिनेमा छलफल, सहमति र सच्याउने बाटो नै बन्द गराएर डोजरले सोइलिङलगायत सबै भत्काएर खोलामा हालिदिएर गएको उनको गुनासो छ। यसबाट करिब १५ लाख रुपैयाँको क्षतिपूर्ति प्रमुखले नतिरेसम्म पुल निर्माणको बाँकी काम अगाडि नबढाउने निर्माण कम्पनीका सञ्चालक रामकुमार कार्कीले बताए।

'दुईपटक खोलामा बाढी आएर पुल ढलान गर्न बाँधेर राखेको फर्मा दुई पटक बगायो,' कार्कीले भने, 'नोक्सान व्यहोरेर पनि काम गरौं भनेर लाग्दा अहिले प्रमुख आफैँले निर्माण सामग्री समेत खोलामा हाले अब यो ठाउँमा कसरी काम गर्नु।' मध्यपुरथिमि क्षेत्रमा खोलाको मापदण्ड मिचेर करिडोरलाई समेत असर गरेर बनाइएका टहरावालाको प्रमुखले कुरा सुनेर पुल भत्काइएको निर्माण कम्पनीका सञ्चालकहरुको आरोप छ। 

यता नगरपालिकाका प्रमुख सुन्दर श्रेष्ठले निर्माण कम्पनीले मापदण्ड र नियमविपरीत पुल बनाएको र स्लोप ढलान गर्न सकिनेमा त्यसो नगरी स्थानीयको विरोधको बाबजुद पनि बस्तीलाई नै जोखिम हुनेगरी मापदण्ड मिचेर काम गरेपछि बेस इन्जिनियरसहितको टोलीले अनुगमन गर्दा गलत देखिएकाले भत्काइएको दबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.