|
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावको तयारीका लागि यस सम्बन्धी कानुनहरु पारित गर्ने प्रक्रिया सुरु गर्न एकमत भएका छन्। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच स्थानीय तहको निर्वाचन गराउने गरी छलफल सुरु भएको हो।

संविधान संशोधन प्रस्तावको पक्ष र विपक्षमा उभिएका दलहरु निर्वाचन गराउने सर्तसहित प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान पुन छलफलमा जुटेका हुन्। निर्वाचनमा केन्द्रित रहेर संविधान संशोधन, संसद अवरोध खुलाउने, लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव लगायतका विषयमा सकारात्मक छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए। उनले मुलुकलाई निकास दिन निरन्तर छलफलमा बस्ने निर्णय लिइएको पनि स्पष्ट पारे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जाने विषयमा सहमति भएको र संविधान संशोधन लगायतका विषयमा बुधबार फेरि छलफलमा बस्ने बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा जान अब ढिलाई गर्न नहुने भन्दै छलफल अघि बढाएका थिए। निर्वाचनमा जाने र जारी राजनीतिक गतिरोध अन्त्यका विषयमा प्रधानमन्त्रीले राखेको प्रस्तावलाई प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले सहमति जनाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीको वेवसाइटका अनुसार बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव, तिनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा सम्वाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको छ।

आइतबार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच निर्वाचनका लागि आवश्यक तयारीका विषयमा छलफल गर्ने सहमति भएको थियो। सोही छलफललाई आधार बनाएर प्रधानमन्त्री प्रचण्डले सामूहिक छलफल गरेका हुन्। प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रहितमा नरहेको भन्दै संविधान संशोधन प्रस्तावको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.