|

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै कार्यकालमा प्रदेशले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दावी गरेका छन्। 

चालु आर्थिक वर्षमा प्रदेश ५ ले अन्य प्रदेशहरूले भन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले तीन वर्षपछि प्रदेश ५ को आर्थिक बृद्धिदर दश प्रतिशत भन्दा धेरै हुने दावी गरे। चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ७.३७ प्रतिशत रहेको छ। 

प्रदेश समन्वय परिषदको दोस्रो वैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सेवा र कृषि क्षेत्रमा तीनवटै तहका सरकारले काम गरेकाकारण आर्थिक वृद्धिदर बढ्दै गएको बताए। केन्द्रीय तथ्यांक विभागको एक तथ्यांकले चालु आर्थिक वर्षमा प्रदेश ५ ले आर्थिक वृद्धिदर ६ प्रतिशतबाट ७.३७ प्रतिशत पुर्‍याई अन्य प्रदेशभन्दा अगाडि रहेको तथ्यांक सार्वजनिक गरेको थियो। 

‘कर्मचारी समायोजन,कानुन निर्माण,आवधिक योजना निर्माण भइसकेको छ। हाम्रो यही कार्यकालमा दुई अंकको आर्थिक बृद्धि दर हासिल गर्न सम्भव छ भनेर हामीले देखाउनेछौं’ मुख्यमन्त्री पोखरलले भने।

संविधान कार्यान्वयनमा जटिलता पैदा भएकाले साझा र एकल अधिकारका कतिपय विषय टुंगिन अझै बाँकी रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले भने,‘वातावरणीय कर, नदीजन्य पदार्थ, विज्ञापन र मनोरन्जन कर जस्ता विषयमा अन्योलता र विवाद देखिएका छन्।’

नदीजन्य पदार्थको उत्खनन् र करका सम्बन्धमा प्रदेशले कानुन बनाउने तर संघले निर्देशन दिँदा समस्या उत्पनन भएको उनले खुलाए। वैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेशले तैयार पारेको आवधिक योजनाअनुसार वजेट ल्याउने तयारी भइरहेको बताए।

‘योजनामा आधारित बजेट ल्याउने तयारी गरेका छौं’ उनले भने,‘प्रदेशलाई आगामी ४ वर्षमा १२ खर्ब रुपैयाँको लगानी चाहिएको छ।’ बैठकमा प्रदेशका सभामुख, प्रदेश सरकारका मन्त्री, प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख, सबै जिल्लाका जिल्ला समन्वय समिति संयोजक, मन्त्रालयका सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.