फिचर

खुसीको घरमा कोपिला हुर्काउँदै पूजा
SHARES

जो बनिन् असहाय बच्चाहरूकी आमा

जेठ १, २०७६

    काठमाडौं : नेपालमा केही वर्षयता चन्दा उठाएर समाजसेवी हुने होडबाजी चलेको छ। समाजसेवी बनेर कोही नाम कमाउने भोकमा छन् त कोही दाम कमाउने भोकमा। कसैलाई समाजसेवी बनेर रातारात सेलिब्रिटी हुने रहर छ।

    कसैका लागि समाजसेवा रहर हो भने कसैका लागि समर्पण र त्याग। समाजसेवीहरूको भिडमा फरक पहिचान बनाएर स्थापित भएकी छन् पूजा पोखरेल। जसले १२५ जना बालबच्चाको आमाको भूमिकामा आफूलाई खरोरुपमा उतारेकी छन्। उनले अनाथ बच्चाहरूलाई सहारा दिन थालेको १३ वर्ष भयो। अनाथ बच्चालाई मातृस्‍नेहको छाहारी दिएर हुर्काइरहेकी उनको खुसी नै यही हो। 

    सांसारिक जीवन अर्थात् भोगविलासका सबै कुरा त्यागेर अनाथ बालबच्चाका सुन्दर भविष्यको रेखा कोर्नु नै उनको उद्देश्य भएको छ। यही त्यागले उनको परिचय पूजा पोखरेलबाट एउटी दयालु मन भएकी समाजसेवीका रूपमा स्थापित भएको छ।

    सामान्य परिवारमा जन्मेकी उनलाई सानैदेखि अनाथ, असहाय बच्चाको सहारा बन्‍ने हुटहुटी थियो। आमा पनि समाजसेवामै भएकाले उनको सपना पूरा हुन गाह्रो भएन। असहाय बच्चाकै सहारा थिइन् पूजाकी आमा पनि। आमाले गरेको सामाजिक काम देखेर पूजा हुर्किइन्। त्यसै बेलादेखि उनले बुझिन् मेरो खाँचो बेसहारा बालबच्चलाई छ।

    ‘मेरी आमा नै प्रेरणा बन्‍नुभयो। आमाबाटै धेरै कुरा सिकेकी थिएँ। आमाले जे गर्नुभयो मैले पनि त्यही गर्दै छु’, उनले मुस्काउँदै भनिन्, 'बालबालिकाप्रति छोरीको माया देखेर आमा पनि खुसी हुनुहुन्छ।' आमाले अहिले पनि आफू हुर्केको आश्रम चलाउँदै आएको उनले सुनाइन्।

    आमाले खोलेको बालआश्रममा हुर्किएपछि आमाले जस्तै बालआश्रम खोलेर राख्‍ने रहर जागेको उनले बताइन्। 'बाल्यकालदेखिको रहर जसरी नि पूरा गर्ने अठोट उनीमा थियो। आमाको सहयोगमै २०६३ सालमा १७ बालबालिकासहितको बालआश्रम सुरु गरेको पूजाले बताइन्।

    उनले सुरुमा बालआश्रम बालाजु बोराटारमा खोलिन् । तर त्यहाँ धेरै रहिनन्। त्यसपछि उनको आश्रम कुपन्डोल हुँदै धापाखेल पुग्यो। धापाखेलमा पनि अनुकूल वातावरण भएन। तर पनि उनले हिम्मत हारिनन्। अहिले उनी गोदावरी गोदामचौरस्थित आफ्नै भवनमा बच्चाहरूको स्याहारमा जुटेकी छन्।

    गोदाम चौरको आश्रममा साना बालबालिकालाई पढाउने व्यवस्था पनि छ। 'नर्सरीदेखि ६ कक्षासम्म हामी यहीँ पढाउँछौँ', उनले भनिन्, '६ देखि माथि छोराछोरी विद्यालयमा जाने गर्छन्।’उनले त्यहाँका छोराछोरीका लागि ८ जना शिक्षक राखेकी छन्। हुर्केकालाई कक्षाकोठा अभावले बाहिर पठाउनुपरेको उनको दुखेसो छ।

    १३ वर्ष बच्चाहरूसँग बिताएका दिनलाई उनी सुखद भन्छिन्। 'आजका बच्चा भोलीका कर्णधार हुन्, कोही पनि अनाथ बच्चाहरू पढाईबाट बञ्चित हुन नपरोस्', उनी भन्छिन्,'आजका बच्चालाई पढाउनसके भोली त्यत्तिकै राम्रो हुन्छ।’ उनको संरक्षणमा अहिले कक्षा १२ सम्म पढ्ने बालबालिका छन्। अहिलेसम्ममा १४ जना बालबालिकाले एसएलसी उत्तीर्ण गरिसकेका छन्। यस वर्ष त्यहीँ हुर्केका ६ जनाले एसइई दिएका छन्।

    आफूसँग बसेका सबै बच्चालाई उनको व्यवहार समान हुन्छ। बच्चाहरूलाई शिक्षासँगै कराँते, फुटबल, भलिबलमा पनि पोख्त बनाएकी छन्। 'मेरा लागि यिनै बच्चाहरू सबथोक हुन्। सबै मेरा छोराछोरीसरह छन्', उनले सुनाइन्,'यिनीहरूको खुसी नै मेरो खुसी हो। बच्चाको सेवा गर्दा आनन्द आउँछ।' बच्चाहरूको खुसीमा रमाएकी उनले संस्थाको नाम नै ‘खुसीको घर ’राखेकी छन्।

    उनको आश्रममा ५ वर्षमूनिका बच्चा धेरै छन्, जसको स्याहार चुनौतीपूर्ण हुन्छ। 'एउटा बच्चा त सालनालसँगै डस्बिनबाट उठाएर प्रहरीमार्फत् यहाँ ल्याएका थिए', उनले सम्झिँदै भनिन्, ‘मलाई बच्चालाई बचाउन सकिँदैन, तर ईश्वरको कृपाले बच्चा १८ महिनाको भयो। म आफैँले हेर्छु, सँगै सुताउने गर्छु।’ उनले बच्चालाई आमाको कोखको अभाव हुन दिएकी छैनन्। उसको नाम राखिदिएकी छिन् ‘चाम्रु’। चाम्रुले 'मा' भन्दै बोलाउँदा निकै आनन्द लाग्ने उनले सुनाइन्।

    ‘खुसीको घर’मा बसेकी १३ वर्षीया एक बालिकाले सबैले माया गरेको बताइन्। 'मैले पूजा म्यामलाई आमा मानेकी छु। उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ', उनले भनिन्। अहिले उनी कक्षा ३ मा पढिरहेकी छन्।

    पूजाको खुसीको घर आफ्नै बलबुताले चलेको छ। जहाँ कयौँ कोपिला फुल्ने क्रममा छन् । 'अहिलेसम्म बच्चाहरूलाई भोकै राख्‍नुपरेको छैन। मलाई सबैभन्दा खुसी यसैमा छ', उनले सुनाइन्, 'मैले यो संस्था चलाउन कसैको सहयोग मागेकी छैन। कुनै एनजीओको भर परेकी छैन।'

    अप्ठ्यारो पर्दा समाजसेवीहरूले सघाउने गरेको पूजाले बताइन्। 'इको हिमालले अहिलेको भवन निर्माणमा सहयोग गरेको थियो', उनले भनिन्, 'अझैपनि बच्चा पढ्ने कक्षा र बेडसहितका कुरा जोड्न सकेका छैनौँ।'

    उनीसँग अहिले २५ जिल्लाका बच्चा छन्। ‘दुर्गम र पिछाडिएका जिल्लाबाट धेरै बच्चा आएका छन्,’ उनी भन्छिन् ‘काठमाडौंका तीनजना छन्।’ उनले उमेरअनुसार बच्चालाई सुत्ने ठाउँ छुट्टाएकी छन्। सानालाई आफूसँगै सुताउँछिन्। सबै बच्चालाई समान व्यवहार र माया बाँडेकी छन्। बालककालको इच्छा पुरा गर्न पाउँदा खुसीको घरकी पूजा प्रफुल्ल छिन्।


    ‘खुसीको घर’ संस्थामा बसेकी १३ वर्ष बालिकाले सबैले आफूलाई राम्रै व्यवहार गरेको बताइन्। उनले भनिन, ‘मैले पूजा म्यामलाई नै आफ्नो आमा मानेकी छु। उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ।’ उनले अहिले आफू कक्षा ३ मा अध्ययनरत रहेको बताइन्।

    भगवानको कृपा र माताको आर्शिवादले अहिलेसम्म बच्चाहरूलाई भोकै राख्न नपरेको बताउँछिन् उनी। मिठो, नमिठो जस्तो भएपनि छोराछोरी भोकै सुताउन पर्ने अवस्था नआएकोमा खुसी व्यक्त गरिन उनले। तर उक्त संस्था र बालबालिकाको लागि कुनै संस्थाले सहयोग नगरेको बताइन्। उनले अप्ठ्यारो परेको बेला समाजसेवी व्यक्तित्वसँग नै सहयोग माग्ने तर संस्थाबाट कुनै सहयोग नभएको बताइन्। उनले भनिन्, ‘इकु हिमालले अहिले बसेको सभवन निर्माणमा सहयोग गरेको थियो, तर अझैपनि बच्चालाई पढ्ने कक्षाकोठादेखि लिएर सुत्ने वेडसम्म आवश्यक सबै व्यवस्थापन गर्न सकेका छैनौं।’

    उनी सँग अहिले कम्तिमा पनि २५ जिल्लाका बच्चाहरू छन्। ‘दुर्गम जिल्ला तथा पिछाडिएका जिल्लाबाट बच्चाहरू धेरै आएका छन्,’ उनी भन्छिन् ‘काठमाडौंका त ३ जना मात्र बच्चाहरू छन्।’ उमेरअनुसार बच्चालाई सुत्ने ठाउँ छुट्टाएकी छन्। साना बच्चाहरूलाई भने आफूसँगै सुताउने गर्छिन्। उनले सबै बच्चालाई समान व्यवहार र उत्तिकै माया गर्छिन्। सानैदेखिको इच्छा अहिले पूरा गर्न पाउँदा निकै खुसी लागेको बताउँछिन् उनी।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]