|

डोल्पा : हिमाली जिल्ला डोल्पाका विद्यालयमा नियमित कक्षा नलिएरै परीक्षामा सामेल हुने परीक्षार्थीको संख्या बढ्दै गएको पाइएको छ। डोल्पामा पछिल्लो समय कक्षामा उपस्थित नहुने तर एकैचोटी परीक्षामा मात्र सामेल हुने परीक्षार्थीकाे संख्या बढन थालेको पाइएको हो।

फितलो परीक्षा प्रणालीका कारण फारम भर्ने तर नियमित कक्षामा उपस्थित नभएरै एकै पटक परीक्षा दिन आउने प्रवृतिले जिल्लाको शैक्षिक गुणस्तर कमजोर भएको हो। बैशाख २९ गतेदेखि सुरु भएको कक्षा ११ को परीक्षामा सामेल हुने अधिकांश पर्यटक परीक्षार्थी रहेको परीक्षा केन्द्रहरूले जानकारी दिएका छन्।

सजिलै पास गर्न सकिने भएपछि जिल्लामै फारम भर्ने तर नियमित कक्षा लिने समयम नेपालगञ्ज काठमाडाैं लगायतका शहरहरूमा प्राविधिक शिक्षा अध्ययन गर्न जाने गर्नाले नपढेरै परीक्षा दिने परीक्षार्थीको संख्या बढदै गएको हो। 

आफू नेपालगञ्जमा प्राविधिक शिक्षा पढिरहेको र डोल्पामा सहजै परीक्षा पास गर्न सकिने भएकाले परीक्षा दिन मात्रै आएको जुफाल केन्द्रमा परीक्षा दिइरहेकी एक छात्राले बताइन्। त्यसमध्ये कतिपय परीक्षार्थी घुमफिरकालागि तराइका जिल्लाहरूमा जाने र परीक्षाको समयमा मात्र आउने गरेका छन्।

परीक्षाको समय तालिका सार्वजानिक भएपछि पर्यटकजस्तै परीक्षा केन्द्रमा पुग्ने र चिटको भरमा परीक्षा दिने डोल्पाली विद्यार्थीको नियति बनेपछि सरोकारवाला निकायद्बारा दुख ब्यक्त गरिएको छ।  जिल्लाका दुनै र जुफाल परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा माध्यामिक तह सञ्चालन भएका पाँचवटा विद्यालयबाट परीक्षार्थी परीक्षा दिन आएकाछन्। जनप्रभा माध्यामिक विद्यालय लिकुमा कक्षा ११ मा ९० जनाले र कक्षा १२ मा ८० जनाले फारम भरेको जनप्रभा माध्यामिक विद्यालय लिकुका शिक्षक गणेश शर्माले बताए।

फारम धेरैले भरे पनि नियमित कक्षा लिन आउने १० देखि २० जनासम्म मात्रै रहेको उनले बताए। त्यस्तै आदर्श मावि जुफालमा कक्षा ११ मा १०८ जना र १२ मा १०६ जनाले फारम भरेका छन्। तर नियमित अध्ययन गर्न आउने १० देखि १५ जनामात्रै रहेको शिक्षक हस्तबहादुर बुढाले बताए। उनका अनुसार परीक्षार्थीमा नियमित कक्षामै उपस्थित नभएरै परीक्षा पासगर्न सकिन्छ भन्ने सोचाइ भएकाले सिधै परीक्षा दिन आउने गरेको बताए।

डोल्पामा पर्यटक परीक्षार्थी धेरै भएकाले उनीहरूमा जसरी हुन्छ प्रमाणपत्र हत्याउ प्रवृति बढदै गएको पाइएको उनको भनाइ छ। विद्यार्थी एकैचोटी सहयोगी सामग्रीसहित परीक्षा दिन आउने गरेपछि शिक्षकले विद्यार्थी र विद्यार्थीले शिक्षकको पहिचाहन गर्न समेत कठिन हुने माध्यामिक तहमा पढाउने शिक्षकले बताए।

जिल्लाको कमजोर परीक्षा प्रणाली र नियमनकारी निकायले परीक्षा केन्द्रमा गर्ने औपचारिक जाँचका कारण डोल्पाको शैक्षिक गुणस्तर कमजोर भएको शिक्षासम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाको बुझाइ छ। डोल्पाली विद्यार्थी कक्षा ११ र १२ को परीक्षा मात्रै नभइ एसइई र क्याम्पस तहको परीक्षामा समेत सहयोगी सामग्री कै भर पर्नु परेको छ।

शिक्षक पढाउनकालागि नियमित उपस्थित हुने भएता पनि विद्यार्थी नआउने भएकाले शिक्षक- विद्यार्थीको भेटघाट परीक्षामै हुने गर्दछ। जबसम्म चिट चोरेरै पास गर्न सकिन्छ भन्ने मानसिकता विद्यार्थीले त्याग गर्दैनन् तबसम्म डोल्पाको परीक्षा प्रणालीमा सुधार हुन नसक्ने सरोकारवालाको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.