|

चितवन : सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने अडान दोहोर्‍याएका छन। चितवनको सौराहामा मंगलबार नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका हुन। 

पत्रकारितालाई थप व्यवस्थित बनाउन विधेयक ल्याइएकाले आवश्यक परे संशाेधन गर्न तयार रहेको तर फिर्ता नहुने बताए। उनले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम सरकारले नगर्ने जिकिर गर्दै पत्रकारको खोल ओढेर आतंक फैलाउनेमाथि कानुनी कारवाही हुने पनि चेतावनी दिएका छन। पत्रकारको न्यूनतम पारिश्रमिक, समानुपातिक विज्ञापनप्रणाली लगायत आर्थिक स्वतन्त्रताको कुरा विधेयकमा उल्लेख गरिएकाले प्रमाणसहित समाचार लेख्दैमा पत्रकारलाई अफ्ठ्यारो नपर्ने मन्त्री बाँस्कोटाको दावी छ।

नेपालसहित अन्तर्राष्ट्रिय अनुभव, प्रणाली र व्यवस्थालाई पनि मध्यनजर गरी सरकारले सवै क्षेत्रलाई समयसापेक्ष व्यवस्थित बताउने अभियानअन्तर्गत विधेयक आएको उनको भनाई थियो। समाजलाई, राज्यलाई, मुलुकको शान्तिलाई चुनौती दिने गरी, खलल पुर्‍याउने किसिमका सामग्री पनि कहिँकतै आउने गरेको भन्दै उनले भने ‘कलम छ। बन्दुक छ भन्दैमा जहाँ पायो त्यही हान्न भएन नी। प्रेसमाथि नियन्त्रण हुँदैन। बरु नियमन हुन्छ।’

मन्त्री बाँस्कोटाले सरकारले समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेकाले परिणामका लागि केही समय धैर्य गर्नुपर्ने बताए। दृढ संकल्प, इच्छाशक्तिका साथ के गर्ने, कहिले गर्ने, कसरी गर्ने, कहाँ गर्ने लगायत विषयमा स्पष्ट रहेकाले एक दिन नयाँ नेपालको वास्तविक चित्र संसारलाई देखाउने विश्वास व्यक्त गरे। उनले मुलुकका सवै नागरिकलाई चाँडै सूचना, सञ्चार प्रविधिको पहुँचमा ल्याइने बताए।

टेलिकमले विभिन्न स्थानमा सेवा विस्तार, सुधार गरी नेपाललाई विश्वमा जोड्न हरतरहले काम गरिरहेको उल्लेख गरे। मन्त्री बाँस्कोटाले उक्त सेवाको रत्ननग नगरपालिकाका प्रमुख नारायण वनलाई फोन सम्पर्क गरी शुभारम्भ गरेका थिए।

मंगलबारबाट शुभारम्भ भएको १ हजार लाइन एफटिटिएचमार्फत सौराहाका होटल व्यवसायी तथा पर्यटक लगायत सवैलाई सेवा पुर्‍याउने नेपाल टेलिकमका प्रवन्ध निर्देशक दिल्लीराम अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.