|

पर्सा : चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाकाबाट साढे तीन अर्ब रुपैयाँको धान आयात भएको छ। साउनदेखि चैतसम्म तीन अर्ब ४२ करोड ६४ लाख ५४ हजार रुपैयाँको धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

यस अवधिमा १२ करोड ३३ लाख १२ हजार ३०१ किलो धान आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको भन्दा एक करोड ५६ लाख ९५ हजार ५१२ किलो बढी रहेको कार्यालयका प्रमुख गोपाल खत्रीले बताए । खुला सीमानाका कारण भन्सारमा दर्ज नभई नेपालमा आयात हुने धानको भने कुनै लेखाजोखा छैन।   

प्रधानमन्त्री कृषि परियोजना नै सञ्चालन गरी कृषिमय मुलुक बनाउन सरकार कस्सिरहेको बेला एउटा भन्सार नाकाबाट मात्र धान आयातमा यति ठूलो रकम बाहिरिइको छ। आर्थिक वर्ष २०७४⁄०७५ मा भने धान आयातमा यही नाकाबाट जम्मा दुई अर्ब ६८ करोड ९४ लाख ३५ हजार रुपैयाँको मात्र धान आयात भएको थियो।
  
वीरगञ्ज भन्सार कार्यालयले नौ महिनामा १७ करोड १६ लाख ६६ हजार संकलन गरेको छ। मुलुकभित्र आयात भएका २० वस्तुमध्ये धान १९ औं स्थान रहेको तथ्यांक छ। यो तथ्यांक मुलुकका लागि सुखद् नभएको वीरगन्जका बुद्धिजीवी डा. विश्वम्भर शर्माले बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.