संसदीय मामिला पत्रकार समाजले जनायो खेद

|
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सभापति श्रेष्ठ। फाइल फोटो

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले समिति बैठकमा पत्रकारहरूलाई समाचार संकलनमा रोक लगाएकी छन्। 'संघीय निजामती सेवाको गठन/संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'को दफाबार छलफलका क्रममा सभापति श्रेष्ठले पत्रकारहरूलाई समाचार संकलनमा रोक लगाएकी हुन्।

बिहीबार बसेको समिति बैठकमा उक्त विधेयकमाथि दफाबार छलफलको क्रम जारी थियो। छलफलमा सहभागी हुन् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव तथा अन्य अधिकारीको उपस्थिति थियो।

११ बजे बोलाइएको बैठक झन्डै आधा घण्टा ढिलो भएको थियो। समाचार संकलनका लागि बैठक कक्षमा प्रवेश गरेका पत्रकारहरूलाई सभापति श्रेष्ठले 'गोप्य बैठक' भन्दै बाहिर निकाल्न लगाएकी हुन्। सभापतिको आदेशपछि पत्रकारहरूलाई बाहिर निकालिएको थियो।

गोप्य राख्नुपर्ने एजेन्डा कुर्दाकुर्दै बैठक सकियो

समिति बैठकबाट पत्रकारहरूलाई गोप्य बैठक भनेर बाहिर निकाले पनि समितिमा भने कुनै गोप्य विषयले प्रवेश नपाएको एक सांसदले बताए। नाम उल्लेख नगर्ने सर्तमा ती समिति सदस्यले भने, 'सभापतिज्यूलाई बेलाबेला के हुन्छ? उहाँ नै जान्नुहोला। कहिले राख्ने भन्नुहुन्छ, कहिले निकाल्ने। मनोमानी चलेको छ। गोप्य राख्नुपर्ने विषयमा कुनै छलफल भएन।'

समितिको बैठक भने कोरम पूरा नगरी सुरु भएको थियो। जसको समाचार बाहिर नआओस् भनेर पनि पत्रकारहरूलाई बाहिर निकालेको हुनसक्ने समितिका अर्का सदस्यले बताए।

समिति सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले भने समितिमा कुनै विशेष गोप्य बैठक नभएको प्रतिक्रिया दिए। पत्रकारहरूलाई बाहिर निकालेको विषयमा उनको प्रतिक्रिया थियो, 'मैले पनि कुरा राखेको थिए। अबदेखि बैठकबाट पत्रकारहरूलाई बाहिर नपठाउने भन्ने कुरा भएको छ।'

बाहिर प्रकाशनमा ल्याउँदा गम्भीर असर पर्ने विषय भए पत्रकारहरूले पनि बुझ्ने र प्रकाशन नगर्न अनुरोध गरिएको अवस्थामा बाहिर नआउने गरेको शर्माको भनाइ थियो।  

संसदीय मामिला पत्रकार समाजले जनायो खेद

यो समितिमा पत्रकारहरूलाई समाचार संकलनबाट सभापति श्रेष्ठले रोक लगाएको पहिलो घटना भने होइन। सभापतिले पटकपटक पत्रकारहरूलाई समाचार संकलनमा निषेध गर्ने गरेकी छन्। यसअघि कम्तीमा चारपटक यस्ता घटना दोहोरिएका छन्।

यसैबीच, संसदीय गतिविधिका समाचार संकलन गर्ने पत्रकारहरूको संस्था संसदीय मामिला पत्रकार समाजले सभापति श्रेष्ठले समाचार संकलनमा लगाएको रोकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका महासचिव अशोक दाहालले एक विज्ञप्ति जारी गर्दै समितिको बारम्बार दोहोरिएको उक्त कदमप्रति खेद प्रकट गर्दै संसद् सचिवालयको ध्यानाकर्षण गराएको छ।

 

पढ्नुस् मामिलाले जारी गरेको विज्ञप्तिको पूर्णपाठः

संसदीय मामिला पत्रकार समाजको प्रेस विज्ञप्ति

मिति : २०७६/०२/०२ प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको २०७६/०२/०२ गतेको बैठकमा संघीय निजामती सेवाको गठन/सञ्चालन र सेवाको सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलका क्रममा समाचार संकलनमा लगाइएको रोकप्रति संसदीय मामिला पत्रकार समाजको गम्भीर ध्यानाकर्षण भएको छ।

खुला अवधारणामा आधारित मिनी संसद्को सार्वजनिक चासोको विषयमा आमसञ्चार माध्यमलाई सूचना संकलनमा निषेध गरिनु संविधानप्रदत्त आम सञ्चारको हकलाई संकुचित गर्ने नियत समितिमा देखिएको समाजको ठहर छ। संविधानले तोकेका आम सञ्चारको सीमाप्रति सञ्चार जगत सदैव सचेत छ। तर, प्रचलित कानुन र नियमावलीले निषेध नगरेको आम सरोकारका विषयमा पटक-पटक सूचना संकलनमा रोक लगाउने समितिको कदमप्रति समाज खेद व्यक्त गर्दछ।

प्रचलित कानुनले प्रकाशन प्रसारणमा निषेध नगरेको सार्वजनिक सरोकारका कुनै पनि विषयमा अनावश्यक रूपमा सूचना संकलनमा बाधा नपुर्‍याउन समाज समिति र संघीय संसद सचिवालयको ध्यानाकर्षण गराउँदछ।

अशोक दाहाल

महासचिव

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.