युवा जमात हराए

|
File Photo

पोखरा : गण्डकी प्रदेशको ११ जिल्लामा १८ लाख ६८ हजार श्रमशक्ति रहेकोमा ६ लाख जना मात्र रोजगारीको पहुँचमा रहेका पाइएको छ। ६० हजार जनसंख्या भने कुनै पनि रोजगारमा संलग्न भएको तथ्यांक विभागले तेस्रो चरणमा २०७४ असारदेखि २०७५ जेठसम्म गरेको नेपाल श्रमशक्ति सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो।

यो बेरोजगारको तथ्यांक १५ वर्ष उमेर पुगेको र दिनमा एक घण्टा तलब आउने काम नगरेको तथा कुनै नाफा घाटा बेहोर्ने गरी व्यवसाय नगरेको व्यक्तिहरूको हो। गण्डकी प्रदेशमा १५ वर्षदेखि माथीको उमेर समुहको जनसंख्या १८ लाख ६८ हजार छ। तीमध्ये ६ लाख ६ हजार मात्रै विभिन्न रोजगारीमा संलग्न छन्।

यसमा बैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक भने नसमेटिएको तथ्यांक विभागले जनाएको छ। नेपालभर भने १५ वर्ष उमेर माथिको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको छ। यसमा काम गर्न सक्ने जनसंख्या जम्मा ७० लाख ८६ हजार रहेको छ।

नेपालमै रोजगारीमा रहेको ६९ प्रतिशत जनसंख्या शहरमा छ भने ३१ प्रतिशत जनसंख्या ग्रामीण भेगमा रहेको विभागको सर्वेक्षणले देखाएको छ। गण्डकी प्रदेशमा पनि शहरको जनसंख्या धेरै रोगजार छ। गण्डकीमा ६४ प्रतिशत केन्द्रित र ३६ प्रतिशत गाउँ केन्द्रित रोजगारमा छन्।

नेपालमा तत्कालको बेरोजगारीको दर ११.४ प्रतिशत रहेको छ। गण्डकी प्रदेशको भने ९ प्रतिशत रहेको विभागका निर्देशक अम्बिका बस्यालले जानकारी दिए। गण्डकी प्रदेशमा रहेको १५ वर्ष उमेर माथीको जनसंख्याको ३५ दशमलब ७ प्रतिशत मात्रै श्रमशक्तिमा सहभागी छ।

रोजगारमा रहेको जनसंख्यालाई प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै प्रदेश ३ मा ४३ दशमलब ८ प्रतिशत र सबै भन्दा कम २४ दशमलब १ सुदुर पश्चिम प्रदेशमा रहेको विभागले जनाएको छ। बेरोजगारको दरमा सबै भन्दा धेरै प्रदेश २ मा २० दशमलब १ प्रतिशत र सबैभन्दा कम प्रदेश ३ मा जम्मा ७ प्रतिशत मा देखिएको छ।

नेपालका सात प्रदेश मध्ये श्रमशक्तिमा सहभागिताको दर प्रदेश तीनमा रहेको छ। नेपालकै राजधानी काठमाडौंलगायत मुख्य ठूला शहरहरू समाबेश भएको प्रदेश ३ मा श्रमशक्तिमा सहभागिताको दर ४७ दशमलब १ प्रतिशत छ। सबैभन्दा कम भने सुदूरपश्चिम प्रदेशको २७ दशमलब ३ रहेको छ। हप्तामा ४४ घण्टा काम गर्नेहरूलाई यस तथ्यांकमा समावेश गरिएको छ। गण्डकी प्रदेशमा भने हप्तामा ४५ घण्टा काममा रहनेहरू रोजगारको सूचीमा परेका छन्।

मासिक आम्दानी १८ हजार

गण्डकी प्रदेशमा रोजगारमा रहेकाहरूको मासिक आम्दानी १९ हजार रुपैयाँ देखिएको छ। नेपालभर भने औसतमा रोजगारमा रहेकाहरूको तलब, ज्याला प्राप्त गर्नेहरूको औसत आम्दानी १७ हजार ८ सय नौ रुपैयाँ रहेको तथ्यांक विभागले जनाएको छ। यसमा औसतमा पुरुषको मासिक आम्दानी १९ हजार चारसय ६४ र महिलाको १३ हजार ६ सय ३० रुपैयाँ रहेको छ। नेपाली महिलाहरुले पुरुषको तुलनामा औसत मासिक आम्दानीमा ५ हजार ८ सय ३४ रुपैयाँ कम देखिन्छ।

पाँच वटा क्षेत्रबाट कमाउँछन्

नेपालमा विभिन्न पाँच वटा क्षेत्रबाट धेरै रोजगारी सृजना भएको देखिएको छ। कृषि वन, माछापालन, मोटरगाडी तथा मोटरसाइकल मर्मतसम्भार, उद्योग,नर्माण र शिक्षाको क्षेत्रबाट मानिसहरुले धेरै आम्दानी गरिरहेको देखिएको छ।

युवा जमात हराए

गण्डकी प्रदेशका नीति योजना आयोगका प्रमुख डा. गिरीधरी शर्माका अनुसार कक्षा ११, १२ पढ्ने उमेर समुहको युवाहरुको ठुलो जनसंख्या कहाँ पलायन भइरहेको छ भन्ने तथ्यांक कतै नभएको बताउँछन्।

‘११, १२ पढ्नेहरूको केहि संख्या शिक्षामा पनि छैन,’ उनले भने, ‘कोही भर्ति हुन ट्रेनिङमा गएको देखिन्छ कोहि विदेश पलायन भएको देखिन्छ। उनीहरू किन श्रमशक्तिको रुपमा परिचालन हुन सकेनन भन्ने ठूलो समस्या हो’ सामाजिक सुरक्षाको प्रत्याभूती नभएकै कारणले पनि बेरोजगारीको सेजना भएको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.